ad ad

सुदूरपश्चिम


प्लानिङ सीटी महेन्द्रनगरको अँध्यारो पाटो :  यसकारण डुब्छ एकैछिनको वर्षाले

प्लानिङ सीटी महेन्द्रनगरको अँध्यारो पाटो :  यसकारण डुब्छ एकैछिनको वर्षाले

गोकुल जोशी
असार २५, २०८१ मंगलबार १९:४६, कञ्चनपुर

महेन्द्रनगर बजार पूरै जलमग्न। टम्म पानी भरिएर बाटो पहिल्याउनै मुस्किल। गल्लीहरूमा पानी बगेर खोलाझैँ देखिन्थे। पसलहरूभित्र पानी पसेर व्यापारी हायकालय थिए। 

सामान्य वर्षा हुँदा पनि डुबानमा पर्ने महेन्द्रनगरमा शुक्रबारदेखिको अविरल वर्षाले यहाँका स्थानीयले झनै सास्ती भोग्नु पर्‍यो। बाढी घर तथा पसलभित्र पसेर सामान र ज्यान जोगाउनै हम्मेहम्मे परेको स्थानीय सुनाउँछन्।

‘महेन्द्रनगरमा यस्तो डुबान अहिलेसम्म देखेको थिइनँ। पहिले एक/दुई घण्टा पानी पर्दा पनि डुबान हुन्थ्यो। एक छिनमा सामान्य भइहाल्थ्यो,’ स्थानीय जयराज अवस्थी भन्छन्, ‘तर यसपटक साह्रै दुःख दियो। यस्तै हुन थाल्यो भने त भविष्यमा धेरै समस्या हुने देखिन्छ।’

बजारलगायत आसपासका क्षेत्रमा ठाउँठाउँमा सडक भासिएको छ। बाढीले माटो खिइएको छ। ढुंगैढुंगाको बञ्जरबीच यात्रा गर्न स्थानीय बाध्य छन्। बाढीले बगाएर ल्याएको सामान, काठ, झारपातलगायत फोहोरले सडक अस्तव्यस्त बनेको छ।

राजा महेन्द्रले गुरुयोजना बनाएर बसालेको व्यवस्थित सहर हो, महेन्द्रनगर। बजार क्षेत्रमा गल्ली छुट्याएर लहरै संरचना छन्।  सडक किनार र घरहरू नजिकै ढल छन्। तर ढल निकासका लागि बनाइएका ती नाला सफा नहुँदा सहर अस्तव्यस्त छ। 

अहिले एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋणमा व्यवस्थित र आधुनिक बजार निर्माणको काम अन्तिम चरणमा छ।

वर्षाको समयको दुरावस्थाको कुरूप दृश्यले प्लानिङ सीटीलाई गिज्याइरहेको छ। उचित ढल निकास नहुनु तथा गुरुयोजनाविपरीत भइरहेको बसोवासले डुबानको समस्या निम्त्याइरहेको छ। 

खोलानालामा भइरहेको अतिक्रमणले पनि डुबान हुने समस्या आइरहेको भीमदत्त नगरपालिका–४ का अध्यक्ष सुशीलकुमार भट्ट बताउँछन्।

‘अव्यवस्थित रूपमा भइरहेको बस्ती विस्तारले खोलानाला साँघुरिँदै गएका छन्। त्यसैले खोलानाला आफ्नो प्राकृतिक बाटो भएर बग्न पाएका छैनन्,’ उनी भन्छन्, ‘खोलानालाको फोहोर सफा हुन सकेको छैन। जसले बाढी र डुबानको समस्या आइरहेको छ।’

अहिलेसम्म यसपटकको जसरी महेन्द्रनगर बजार डुबानमा परेको यसअघि नदेखेको उनी सुनाउँछन्। डुबानको समस्यालाई मुख्य मुद्दा बनाएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनको जोड छ।

‘यसपालि ३/४ दिन अत्यधिक पानी पर्‍यो। यस्तो डुबान कहिल्यै देखिएको थिएन। अविस्मरणीय र सोच्नुपर्ने बनाएको छ,’ भट्ट भन्छन्, ‘एडीबीको कामले पूर्णता पनि पाएको छैन।’

सार्वजनिक जग्गा अतिक्रमण हटाउने काम सकेपछि खोलानालामा भएको अतिक्रमण पनि हटाइने र डुबानको समस्या कमी हुने उनको अपेक्षा छ। संघ सरकारले यसपटक भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगर बजारको उत्तरी भेग भएर आउने खोलानालामा तटबन्धका लागि झण्डै ७/८ करोड बजेट आएको उनी बताउँछन्। 

यसपटक कञ्चनपुरमा ‘रेकर्ड ब्रेकर’ वर्षा हुँदा पनि महेन्द्रनगर डुबेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा पछिल्लोपटक ६२४ मिलिमिटर वर्षाको रेकर्ड छ। 

यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै हो, जसले गर्दा पनि महेन्द्रनगरलगायत कञ्चनपुरका अन्य ठाउँ बाढी र डुबानको चपेटामा परेका हुन्।

लामो समयदेखि विपद्को क्षेत्रमा काम गर्दै आएका प्रभुनिधि पन्त सहर तथा बस्ती विस्तारका क्रममा विपद्‌मैत्री संरचना निर्माणमा जोड दिनुपर्ने बताउँछन्।

‘विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गरेर योजना बनाउँदा विपदमैत्री संरचना निर्माण गरिनुपर्छ। विपद्लाई ध्यान नदिएर संरचना निर्माण तथा विकास हुँदा यस्तो समस्या आइरहेको हो,’ उनी भन्छन्, ‘यसमा स्थानीय तह, प्रदेश र संघ सरकारको ध्यान जानु आवश्यक छ।’ 

व्यवस्थित सहरमै त्रास फैलिने तवरले बाढी र डुबान हुन थालेपछि यसले भविष्यमा जोखिम निम्त्याउने सम्भावना छ। मानवीयसँगै प्राकृतिक कारणले ठूलो विपत्ति आउने जोखिम हुँदा यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले बेलैमा मनन गर्नु पर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .