ad ad

सुदूरपश्चिम


देउवाका विश्वासपात्र, ओली क्याबिनेटका गृहमन्त्री

सुदूरपश्चिमबाट गृहमन्त्री बन्ने तेस्रो नेता
देउवाका विश्वासपात्र, ओली क्याबिनेटका गृहमन्त्री

गोकुल जोशी
असार ३१, २०८१ सोमबार १७:२८, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका सांसद रमेश लेखक गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका लेखकले सोमबार पदभार सम्हालेका छन्। बहुदलपछि सुदूरपश्चिम प्रदेशबाट गृह मन्त्रालयको नेतृत्वमा पुग्ने लेखक तेस्रो नेता हुन्।

२०४८ सालमा हालका कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री बनेका थिए। त्यसपछि विसं २०६६ सालमा नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले त्यो जिम्मेवारी पाएका थिए।

यसपटकको संसदीय चुनावमा एमालेलाई हराएर संसद प्रवेश गरेका लेखक एमाले नेतृत्वकै सरकारमा मन्त्री बनेका छन्। 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ लेखकले ३० हजार ५२३ मतका साथ बाजी मारेका थिए। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत ल्याएकी थिइन्। 

एमालेलाई हराएर लेखक चौथोपटक संसदमा पुगे। २०५६, २०६४ (समानुपातिक) र २०७० मा पनि लेखक सांसद थिए। 

०५६ सालदेखि निरन्तर संसद छिर्ने अवसर पाएका लेखकको यात्रामा ०७४ मा ब्रेक लाग्यो। उनी तत्कालीन वाम गठबन्धनका डा. दीपकप्रकाश भट्टसँग २५८ मतले पराजित भएका थिए।

यसपटक गृह मन्त्रालयको जिम्मेवारी पाएसँगै लेखक आफ्नो राजनीतिक यात्रामा चौथोपटक मन्त्री बनेका छन्। 

उनी २०६३ मा श्रम राज्यमन्त्री बने। त्यसपछि ०६४ मा श्रम मन्त्रीकै जिम्मेवारी पाएका लेखकले ०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हाँक्ने मौका पाए।

वेदकोट नगरपालिका–८ का स्थानीय बासिन्दा हुन्, लेखक। उनको जन्म २०२० मंसिर २५ गते बैतडीमा भएको थियो। 

लेखक २०३७ मा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला उपसभापति हुँदै राजनीतिमा आबद्ध भएका थिए। 

उनले कांग्रेस कञ्चनपुरमा २०४८ र २०५६ मा गरी दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हाले। 

०७२ देखि उनी लगातार कांग्रेसको केन्द्रीय सदस्य रहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्, लेखक।

देउवाले यसपटक लेखकलाई कांग्रेस संसदीय दलको प्रमुख सचेतक बनाए। एमालेसँग सत्ता सहकार्य गर्न सहमतिको मस्यौदा तयार पार्नमा उनै लेखक खटिएका बताइन्छ।

उनी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित शान्ति वार्ता टोलीको सदस्य पनि रहे। यस्तै, संविधान मस्यौदा समितिको सदस्य जिम्मेवारी पनि उनले सम्हाल्ने मौका पाए। 

राजनीतिमा आउनुअघि उनी महेन्द्रनगरमा प्राध्यापन, वकालत र पत्रकारिता पेसामा सक्रिय थिए। उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि समेत पाएका छन्। 

विवाद र चासोको केन्द्रमा
अघिल्लो सरकारको कार्यकालमा गृह मन्त्रालय सबैभन्दा बढी विवाद र चासोको केन्द्रमा थियो।

सहकारी ठगीको आरोपमा लपेटिएर पनि झण्डै ४ महिना गृह मन्त्रालय हाँकेर सिंहदरबार छोड्दा रवि लामिछानेले भनेका थिए, ‘निर्मला पन्त घटनाको अनुसन्धानमा अत्यन्तै नजिक पुगेका छौँ।’ 

कञ्चनपुर, भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको विसं २०७५ सालमा बलात्कारपछि हत्या गरिएको थियो। त्यस घटनामा संलग्न अपराधी पहिचान हुन सकेको छैन। 

लेखककै निर्वाचन क्षेत्रमा पर्ने यस घटनामा संलग्न अपराधी कानुनी कठघरामा ल्याउनुपर्ने चुनौती उनीमाथि छ।

यसबाहेक सहकारी ठगी प्रकरण, जीबी राई पक्राउ, नक्कली भुटानी शरणार्थी प्रकरणको विश्वसनीय अनुसन्धान, टीकापुर र जनकपुरको सार्वजनिक जग्गा घोटालालगायत देशभरका थुप्रै सरकारी जग्गा हिनामिना र यसअघि अनुसन्धानमा रहेका फाइल निरन्तरताको प्रश्न लेखकले छिचोल्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .