बागमती


आर्थिक मन्दीले थलियो देशकै ठूलो हेटौँडा औद्योगिक क्षेत्र, बन्द भए २३ उद्योग

आर्थिक मन्दीले थलियो देशकै ठूलो हेटौँडा औद्योगिक क्षेत्र, बन्द भए २३ उद्योग

सुनिता विष्ट
बैशाख २१, २०८० बिहिबार १४:१, काठमाडौँ

पछिल्लो समय आर्थिक मन्दीको चपेटाबाट मुलुक गुज्रिरहेको छ। आर्थिक मन्दीका कारण व्यक्ति मात्रै होइन, ठूला औद्योगिक प्रतिष्ठानहरूमा समेत प्रभाव परेको छ।

आर्थिक मन्दीले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रसमेत थलिएको छ। हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ३६ वटा उद्योगहरु रहेकोमा २३ वटा उद्योग पूर्ण रुपमा बन्द छन्। बाँकी ११३ उद्योग ४० देखि ४५ प्रतिशतको क्षमतामा मात्रै जेनतेन चलिरहेको उद्योग संघ मकवानपुरले जनाएको छ।

कोरोनाले थलिएको समाजमा आर्थिक मन्दी छाउनु र उपभोग्य वस्तुको मूल्य बढ्नुले उद्योगहरु धरासायी हुने क्रम बढ्दै गएको उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए।

बन्द हुने उद्योगहरुमा लक्ष्मी पेन्टस् उद्योग, नेपाल वनस्पति घ्यु उद्योग, हिमालयन पोलिमर्स, बाबा म्यानुफ्याक्चरिङ प्रालि, सन्नी डिस्टिलरी, नेमोपार्केट कम्पनी, ग्यासिका टेक्सटाइल, क्वालिटी ह्याचरी एन्ड फिड इण्डष्ट्रिज, कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू रहेका छन्।

त्यस्तै, थ्रि स्टार ग्रुप, समवेयज कन्टेनर, बानियाँ मल्टिप्रपोज इन्डष्ट्रिज, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसियन लेदर आर्ट्स एन्ड टानिङ, फिचर वक्र्स विल्डिङ सोलुशन प्रा.लि र जोशी अटो वक्स नामका उद्योगहरु पूर्ण रुपमा बन्द रहेको अध्यक्ष प्याकुरेलले जानकारी दिए। यी उद्योगहरुमध्ये कुनै निर्माणाधिन अवस्थामा छन् भने कुनै केही वर्ष अघिदेखि रुग्ण अवस्थामा छन्।

त्यसोत, उद्योगी व्यवसायीसँग सरकारले सहकार्य नै नगरी विभिन्न नियम तथा कानुनहरु ल्याउँदा त्यसको मार औद्योगिक क्षेत्रलाई पर्दै गएको उद्योगीहरु बताउँछन्। संघका अध्यक्ष प्याकुरेलका अनुसार राष्ट्रिय नीतिमा भएका कमजोरीका कारण पनि थुप्रै उद्योगहरुमा ताला लाग्न पुगेको छ।

औधोगिक क्षेत्रमा रहेको इन्टरनेशनल उड सिजिनिङ नामको उद्योग सरकारले बिजुलीको तार तान्न काठका पोल निषेध गर्ने नीतिका कारण धरासायी भएको प्याकुरेलले उदाहरण दिए।

‘यो उद्योगले काठका पोलहरु बनाउँथ्यो। बिजुली लाइन प्रशारणको लागि प्रयोग गरिने पोल उत्पादन गर्ने यो उद्योग सरकारकै कारणले बन्द भयो’ प्याकुरेल भने, ‘सरकारले काठको पोलमुक्त मुलुक बनाउने भनेर नीति ल्यायो। नेपालमै बनेका काठका पोलहरु बिक्री हुन छाड्यो। बिस्तारै यो इन्टरनेशनल उड सिजिनिङ उद्योग पूर्णरुपमा बन्द हुन पुग्यो।’

उनले थपे, ‘सरकारले उक्त उद्योगलाई न कुनै अनुदान नै दियो, न त घाटाको जिम्मा लियो। यसरी उद्योगी व्यवसायीले मार पर्ने समस्याबाट छुट्कारा पाउन सकेका छैनन्।’

चालु अवस्थामा रहेका ११३ उद्योगहरुले पनि पूर्ण क्षमतामा उत्पादन हुन नसक्नुमा आर्थिक मन्दीसँगै अत्याधिक बढेको कच्चा पदार्थको मूल्यले समेत उद्योगहरु धरासायी बन्न पुगेको बताइएको छ।

प्याकुरेल भन्छन्, ‘औद्योगिक क्षेत्रका सबै उद्योगको उत्पादन क्षमता अहिले ४० प्रतिशतदेखि धेरैमा ५० प्रतिशतसम्म छ। कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।’

त्यसो त, कम क्षमतामा उत्पादन भएका सामग्रीहरूको समेत बजारमा माग कम गरेको पाइएको छ। कुनै समय पूर्णरुपमा उत्पादन हुँदा पनि माग धान्न नसक्ने कम्पनीहरु अहिले राम्रोसँग चल्न नसकेको उद्योगीहरुको गुनासो छ। मन्दीकै कारण केही उद्योगहरू बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ।

हेटौंडा औद्योगिक क्षेत्रको निर्यात व्यापार पनि अत्याधिक कम भइरहेको उद्योग संघका अध्यक्ष प्याकुरेल बताउँछन्। थोरै निर्यात हुँदै आएकोमा निर्यात पनि प्रभावित भएको उनले बताए।

हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झन्डै ८५ प्रतिशतले गिरावट आएको छ। दशकअघिको व्यापारको तुलनामा बितेको वर्षको व्यापारमा झन्डै ८५ प्रतिशतले गिरावट आएको उद्योग संघको तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .