सोमबारको तुलनामा मंगलबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम धेरै घटबढ भएको छैन।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ को रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस देखिएको हो।
सोमबार यही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो भने पछि पुनः बिहान ८:४५ बजे मापन गर्दा ४.५ डिग्री सेल्सियस थियो। आज पनि अहिले फेरि बिहान ८:४५ बजे न्यूनतम तापक्रम मापन गरिनेछ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ।
मौसमविद् अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ। सोमबार उपत्यकाको अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने सम्भावना देखिएको मौसमविद् अधिकारीले बताए। आंशिक बदली भनेको आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्ने अवस्था हो।
Shares
प्रतिक्रिया