ललितपुरस्थित नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन जनालाई अढाई लाख घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार ललितपुर नापी सर्वेक्षक रामवीर यादवसहित ३ जनालाई घुसबापत लिएको २ लाख ५० हजार रुपैयाँसहित मंगलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालस्थित आयोगबाट गएको टोलीले सर्वेक्षक रामवीर, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई रंगेहात पक्राउ गरिएको उनले बताए।
‘उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, प्रवक्ता घिमिरेले भने।
३८ वर्षीय नापी सर्वेक्षक यादवको घर महोत्तरीको औरही नगरपालिका–४ हो भने हाल उनी ललितपुर–१५ हात्तीवन बस्थे। यस्तै ३३ वर्षीय अधिकारीको घर सर्लाहीको हरिपूर्वा नगरपालिका– ७, बजारटोल हो भने हाल उनी ललितपुरकै महालक्ष्मी नगरपालिका–१, मा बस्थे। यसैगरी २७ वर्षीय बन्जराको घर ललितपुरको महांकाल गाउँपालिका हो भने हाल उनी ललितपुरकै गोदावरी नगरपालिका–११, चाँपागाउ बस्थे।
Shares
प्रतिक्रिया