ad ad

बागमती


बन्द हुने अवस्थामा पुग्यो हेटौँडा सिमेन्ट उद्योग, १ अर्ब बढी घाटा

बन्द हुने अवस्थामा पुग्यो हेटौँडा सिमेन्ट उद्योग, १ अर्ब बढी घाटा

सुनिता विष्ट
मंसिर ९, २०८० शनिबार १९:४३, मकवानपुर (हेटौँडा)

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको घाटा १ अर्ब भन्दा बढी पुगेको बताइएको छ। विगत केहीवर्षदेखि निरन्तर घाटामा रहेको उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगका प्रबन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्।

उनका अनुसार अघिल्लो आर्थिक बर्षको अडिट रिर्पोटमा ९० करोड घाटामा रहेको पाइएकोमा यो बर्ष १ अर्ब भन्दाबढी घाटा भएको अनुमान गरिएको हो। 

उद्योग नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा यो उद्योग २०३३ सालमा स्थापना भएको थियो। २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेकोमा पछिल्ला केही वर्षयता झण्डै १ अर्बको हाराहारीमा घाटा व्यहोर्दै आएको  सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्। 

‘ढाँटेर कुरा लुक्दैन। अहिले झण्डै १ अर्बको हाराहारीमा घाटामा छौं,’ उनले नेपालखबरसँग भने, ‘अहिले पछिल्लो अडिट हुन बाँकी छ। अघिल्लो अडिट रिर्पोट अनुसार ९० करोड भन्दा बढी घाटामा थियौं। मलाई लाग्छ त्यो घाटा १ अर्ब नाघ्यो होला।’

एकातर्फ निजी क्षेत्रको लगानी रहेको उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, अर्कोतर्फ पुरानो उपकरण जस्ता समस्याले उद्योग बन्द हुने अवस्थामा पुगेको उनको तर्क छ। सिमेन्ट उत्पादकका लागि आवश्यक कच्चा पदार्थको निरन्तर मूल्यवृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री वितरण गर्नुपर्ने बाध्यताबीच उद्योग दिन प्रतिदिन टाट पल्टने स्थितिमा पुगेको तथ्यांकले देखाउँछ।

यद्यपी सरकारले तत्कालका लागि सहयोग गरिदिए उद्योग बन्द नहुने प्रवन्ध निर्देशक पाण्डेको दाबी छ।

दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यस उद्योगमा अहिले मुस्किलले आधा मात्रै उत्पादन गरिरहेको छ। उत्पादन लागत प्रतिबोरा ७ सय हुँदा सिमेन्टको बिक्रीबाट ६ सय १० रुपैयाँ मात्र उद्योगले प्राप्त गर्ने गरेको छ भने निरन्तर उद्योग घाटामा गएर टाट पल्टने स्थिति आएपछि उद्योगमा रहेका जीर्ण उपकरणहरूलाई विस्थापन गर्दै नयाँ उपकरण जोड्न भन्दै उद्योगले १ अर्ब ६० करोडको माग गरेको छ।

उद्योग राम्रोसँग सञ्चालनमा ल्याउन नयाँ मेसिनहरूको जडान आवश्यक रहेकाले उक्त रकमको माग गरेको महाप्रबन्धक पाण्डे बताउँछन्। 

संघीय सरकारसँग माग गरिएको साहायता रकम माग उपलब्ध भए उद्योगको घाटा पूर्ति भएर नाफामा जान्छ त? यो प्रश्नमा उनले भने, ‘घाटा पूर्तिको एउटै सोलुसन भनेकै सरकारको उक्त सहयोग हो। अनुमानित यति रकम भए उद्योग चलाउन सकिन्छ भन्ने प्रतिवेदन हामीले धेरै पटक संघीय सरकार समक्ष प्रस्तुत पनि गरिसकेका छौँ।’ 

५ वर्षदेखि निरन्तर घाटा
उत्पादन क्षमता र बिक्रीसमेत घट्दा हेटौँडा सिमेन्ट उद्योग ५ वर्षयता निरन्तर घाटामा गइरहेको हो। उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म ८३ करोड रुपैयाँ नोक्सान बेहोरेको तथ्यांक छ। आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको हेटौँडा सिमेन्ट उद्योग त्यसयता भने निरन्तर घाटामा छ। 

आर्थिक वर्ष (आव) २०७५/०७६ मा उद्योगले १ करोड ५ लाख नोक्सान बेहोरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा २३ करोड ८२ लाख, आव २०७७/०७८ मा १७ करोड ४  लाख घाटा भयो। यस्तै आव २०७८/०७९ मा उद्योगले २३ करोड ५५ लाख घाटामा रहेको तथ्यांक छ। 

यस्तै आव २०७९/०८० मा ९० करोड भन्दा बढी घटा छ भने चालु आवको अडिट रिर्पोट निकाल्न बाँकी रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .