बागमती


घुमुवाले बिरामीका आफन्तसँग झगडा गर्दा प्रहरी कार्यालयभित्रै बितिन् ५३ वर्षीया चिरमाया

घुमुवाले बिरामीका आफन्तसँग झगडा गर्दा प्रहरी कार्यालयभित्रै बितिन् ५३ वर्षीया चिरमाया

चिरमायालाई बोकेर गएको एम्बुलेन्स प्रहरी परिसरमा। तस्बिर : सुनिता विष्ट


सुनिता विष्ट
असोज १५, २०८० सोमबार १७:५४, हेटौंडा

प्रहरीको लापरवाहीका कारण जिल्ला प्रहरी कार्यालयभित्रै एकजना बिरामीको ज्यान गएको छ। मकवानपुरको बकैया गाउँपालिका वडा नं. १ घोबिढ डाँडाकी ५६ वर्षीया चिरमाया लोको प्रहरी कार्यालयमै ज्यान गएको हो।

चिरमाया मुटुको रोगबाट ग्रसित थिइन्। आफन्तले केही दिनअघि उनलाई काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि लगेका थिए।

उपचार गरेर बचाउन नसक्ने भएपछि डाक्टरले उनलाई घर लान सल्लाह दिए। डाक्टरको सल्लाहअनुसार चिरमायालाई लिएर आफन्तहरू बकैया जाँदै थिए। 

बिरामीको अवस्था जटिल रहेकाले अक्सिजन लगाउनु पर्ने भएपछि उनलाई एम्बुलेन्समा राखेर आफन्तहरू सुमोमा फर्किँदै थिए।

हेटौंडासम्मका लागि रिर्जभ गरेर ल्याएको सुमो गाउँ नजाने भएपछि उनीहरूले जान गाउँकै सुमो बोलाएका थिए।

गएराति करिब साढे ११ बजेतिरको समयमा हेटौंडा–४ रानीमल अगाडी पूर्वपश्चिम राजमार्गमा उत्रिएका उनीहरू काठमाडौंबाट आएको सुमोबाट ओर्लिएर गाउँ जाने टाटासुमो चढ्दै थिए।

त्यहीबेला घुमुवा प्रहरी सहायक हवल्दार दिल्लीराम शिवाकोटी सुमोमा खानतलासी गर्न पुगे। उनले खानतलासी मात्रै गरेनन्, दादागिरी पनि देखाए। 

मादक पदार्थ पिएका शिवाकोटीले एम्बुलेन्ससहित तीनवटै सवारीको चाबी थुतेर ‘म हेटौंडाको डन हुँ’ भन्दै चालकलाई हातपात गरेको चिरिमायाका छोरा लालबहादुर वाइबाले बताए।

‘आउनेबित्तिकै गाडीमा ड्याङडुङ गर्न थाल्नु भयो, अनि मैले दाइ तपाईंले के गर्न खोज्नु भएको भन्दा म यहाँको दादा हो, केटाहरू बोलाइदिऊँ, गोली ठोकदिऊँ रे’, वाइबाले सुनाए। 

लालबहादुरले भने, ‘घुमुवा प्रहरी भनेपछि थाहा भयो। उहाँले मेरो झोलामा समात्नु भयो। त्यसपछि मैले उहाँको हात फ्यालिदिए। हाम्रो गल्ती भए पुलिस बोलाउनु भन्दा, उनले पछाडिबाट पेस्तोल निकालेपछि मैले धकेलिदिएँ।’

त्यही घटनाबाट झगडा सुरु भयो। त्यसपछि प्रहरी जवान शिवाकोटी र बिरामीका आफन्तबीच हात हालाहालको स्थिति भएको थियो।

झगडा भएको स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली पुगेर बिरामी चिरमायालाई बोकेको एम्बुलेन्स र २ वटा टाटासुमोलाई मध्यराति १२ बजे निणन्त्रणमा लिएको थियो।

करिब २ घण्टासम्म बिरामीका छोरा र ज्वाईंसहित ५ जनालाई हिरासतमा राख्यो। त्यही समयमा आफ्नो बिरामीको मृत्यु भएको वाइबाले बताए।

‘हाम्रो बिरामीको मुठ्ठी श्वास मात्रै थियो, त्यो एक मुठ्ठी श्वास हुँदै घरमै पुर्‍याउने भनेर लिएर आएको, हामीलाई हाकिम छैन भनेर प्रहरी कार्यालयभित्रै राख्यो,’ वाइबाले भने, ‘अक्सिजन सक्किन्छ भनेर एम्बुलेन्सलाई बाहिर पठायो, अक्सिजन भरेर ल्याएपछि एम्बुलेन्सभित्र छिराउन दिएन, आमाको बाहिर मृत्यु भयो।’

त्यसपछि प्रहरीले एक कागजमा हस्ताक्षर गर्न लगाएर नियन्त्रणमा लिएका एक ज्वाइँ र चार छोरालाई छाडिएको छ। तर आफन्तले शव लिएर गएका छैनन्। जिल्ला प्रहरी कार्यालय मकवापनुरनजिकै पार्किङ्ग स्थलमा राखिएको छ।

घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले छानबिन भइरहेको बताए। गृहमन्त्री हेटौंडा आएको र सुरक्षा व्यवस्थामा खटिनु परेकाले यसबारे छानबिन हुन बाँकी रहेको भण्डारीले बताए। 

झडपका क्रममा घुमुवा प्रहरी शिवाकोटी घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .