नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनबाट सभापतिपछिको शक्तिशाली पद महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए। २०६२–६३ को जनआन्दोलनबाट चौथो पुस्ताको नेतृत्वमा रहेका थापा र शर्माको जितले युवा पुस्तालाई हौस्याएको छ। उनका समर्थकहरुले खुलेर खुसियाली मनाए। मतगणना स्थलमा खुसी हुँदै उनीहरुलाई कार्यकर्ताहरुले काँधमा उचालेका प्रशस्त तस्बिर देखिए। सामाजिक सञ्जालभरि छरपस्ट खुसी पोखिए। मतगणना नसकिँदै सुरू भइसकेको हर्षोल्लास सेलाएको धेरै भएको छैन।
शर्मा मन्त्री, सांसद भएका छैनन्, राज्यको लाभको पदमा बसेका छैनन्। संस्थापन पक्षबाट टिकट नपाएपछि प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका उनले बलियो जित हासिल गरे। संस्थापन पक्षले साथ दिएन। तर, प्रतिनिधिले उनलाई विश्वास गरे। महामन्त्रीमा प्रतिस्पर्धीहरुमध्ये थापा पनि अत्यधिक मत प्राप्त गरी विजयी भए।
कांग्रेस महाधिवेशन प्रतिनिधिले शर्मा र थापालाई चिन्नु, बुझ्नु, उनीहरूको क्षमताको प्रशंसा गर्नु, जिताउनु, जितको उत्सव मनाउनुका पछाडि पनि कारण छन्। यो जितभन्दा बलिया कारण। प्रतिनिधिले उनीहरुलाई जुन उचाइमा पुर्याएका छन्, त्यसलाई उनीहरुले कसरी कायम राख्नेछन्, तिनका अपेक्षा कति पुरा गर्नेछन्, त्यो चाहिँ महत्वपूर्ण हो। अन्यथा जितले मात्रै समर्थकको खुसी लामो समय टिक्दैन।
मैले भने थापा र शर्माको जितमा उत्सव मनाइनँ। न त कुनै उत्साह नै छायो। यद्यपि यो जितमा नमनाएको खुसियाली म ब्याजसहित मनाउनेछु, जुन बेला मनाउनुपर्छ भन्ने महसुस हुनेछ।
अलिकति विगततिर फर्किने हो भने करिब एक दशकअघि माओवादी अध्यक्ष प्रचण्डसँग आम मान्छेको अपेक्षा कम थिएन। प्रचण्डको कुरा म किन गरिरहेकी छु भने म सल्यानमा जन्मिएँ। माओवादीले आफ्नो आधार क्षेत्र बनाएको रुकुमको खारा नजिकै हुर्किएँ। त्यो क्षेत्र तत्कालीन माओवादी र सरकारबीचको रणभूमि थियो। जसमा धेरैले ज्यान गुमाए। त्यसरी ज्यान गुमाउनेमध्ये एक मेरा मामा पनि थिए।
प्रचण्ड विचारको समर्थन गरेर सहिद बनेका हाम्रा मामा भित्तामा टाँसिएको २५ वर्ष भयो। हजुरआमा अझै दिनहुँ पिरोलिनुहुन्छ। प्रत्येक वर्ष भाइटीकाको दिन आमा रुनुहुन्छ। मामा बित्दा चार वर्षकी मात्रै भए पनि त्यो बेलाको केही पल मलाई पनि याद छ। मेरो मस्तिष्कमा त्यसबेला पसेको डर अझै हटिसकेको छैन।
युद्धमा त्यत्रो क्षति भयो। तर, धेरैको दैनिकी उस्तै कष्टकर छ। फाइदा नेतालाई भएको होला, हामीलाई छैन। जनयुद्ध कसैलाई महान् भयो होला, तर कालरात्रीको महसुस गर्ने हामी छौँ। माओवादीले उठाएका जनजीविकाका मुद्दाहरु कति पुरा भए? वास्तविक जनताले अनुभूत गर्नेगरी काम गर्ने जिम्मेवारी माओवादीको काँधमा थियो, प्रचण्डको काँधमा थियो। माओवादीसँग जनताका धेरै आशा र अपेक्षा थिए। तर, माओवादीप्रति मेरी हजुरआमाको अपेक्षा पुरा भएन। हजुरआमाका केही गुनासा छन्, प्रचण्डसँग। राजनीतिसँग। मेरो परिवारमा राजनीतिप्रति घृणा छ।
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा सत्य उजागर गरिदिए कि गाउँका जनता नेताहरुलाई ‘चोर’ भन्छन्। त्यत्रो भिडले ताली पिट्यो। नेताहरुले लिङ्देनको भनाइ काट्न खोजे पनि त्यो प्रयास सफल देखिएन।
लिङ्देनले सही भनेका हुन्। नेता नेताजस्ता देखिँदैनन्, संसद् संसदजस्तो देखिँदैन, सरकार सरकारजस्तो देखिँदैन, न त न्यायालय नै न्यायालयजस्तो छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने औकात कुन नेताको देखिन्छ? हरेक नेता खटिरहेका देखिन्छन्, तर जनताको लागि होइन, केवल आफ्नै पदका लागि। कुर्सीका लागि।
साँच्चै भन्ने हो भने नेपाली राजनीतिमा सकारात्मकता भन्ने चिज भेट्टाउन नै मुस्किल छ। हामीलाई लाग्छ, जुन जोगी आए पनि कानै चिरेको अर्थात् जुनसुकै व्यवस्था र व्यक्तिले शासन गरे पनि परिणाम उही र उस्तै। जनताले राजनीतिलाई फोहोरी खेल ठान्छन्, अनि राजनीतिकर्मी भनेको पदका लागि जे पनि गर्न तयार हुने व्यक्ति।
यस्तो बेलामा शर्मा र थापाजस्ता आशा गरिएका नेता पार्टीको उच्च पदमा पुगेका छन्। त्यसकारण पनि धेरै मानिस खुसी भएका छन्। र, यो पनि हाम्रा लागि निकै ठूलो उपलब्धिजस्तो बन्न पुगेको छ।
सपना भएका, योजना भएका नेताका रुपमा चिनिएका थापा र शर्माको कांग्रेसजनको विश्वास र अपेक्षा पनि जोडिएको छ। त्यसैले उनीहरुले आशा मात्रै देखाएर पुग्दैन। यदि उनीहरुले अपेक्षाअनुसार काम गर्न सकेनन् भने आज वाह भन्नेहरुले भोलिका दिनमा गाली गर्न थाल्नेछन्। समयको चक्रमा आफ्नो उचाइलाई जोगाउन सक्नेहरू नै इतिहासमा जीवन्त रहन्छन्। यसमा धेरै नेताहरु असफल हुन्छन्। थापा र शर्मा असफल नहोऊन्।
कांग्रेस महामन्त्रीद्वयबाट जनताले परिवर्तनको ठूलो अपेक्षा राखेका छन्। खासगरी राजनीतिक संस्कार बदल्नुपर्ने जिम्मेवारी उनीहरुमा छ। ताकि भविष्यको पुस्ताले राजनीतिको नाम सुन्दा नाक नखुम्च्याओस्। ‘नेता चोर हो त?’ भन्दा ‘हो’ नभनोस्। र, मैले उनीहरुको जितमा नभेट्टाएको खुसी आउँदो पुस्ताले भेट्टाओस्।
Shares
प्रतिक्रिया