माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री भइरहेको छ। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अस्ट्रेलियायालगायतका देशमा समेत उत्तिकै माग छ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो।
टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन गरिरहेका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताउँछन्। चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ।
टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।
टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्रान्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठक बताउँछन्। ‘टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ’, उनले भने।
टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्छ। काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए। ‘टोखा चाकुको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु’, उनले भने।
टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण भइरहेको छ। नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ।
चाकु चिसो लागेका बेला पनि खाने चलन छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ। रासस
Shares
प्रतिक्रिया