यो वर्ष नेपालले भित्र्याउने रेमिट्यान्स ११ अर्ब डलर पुग्न सक्ने देखिएको एक प्रतिवेदनले देखाएको छ।
विश्व बैंकअन्तर्गतको आप्रवासी र विकासबारे जानकारी गराउने द ग्लोबल नलेज पार्टनरशिप अन माइग्रेसन एन्ड डेभलपमेन्ट (नोम्याड)को रिपोर्टले सन् २०२३ को अन्त्यसम्म नेपालले ११ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने प्रक्षेपण गरेको हो।
यो भनेको सोही अवधिको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २६.६ प्रतिशत रहेको नोम्याडले उल्लेख गरेको छ। नोम्याडले उल्लेख गरेअनुसार रेमिट्यान्सको एक वर्षे यो आप्रवाह विगत आठ वर्षयताकै उच्च हुनेछ।
रिपोर्टअनुसार नेपालले भित्र्याउने यो परिमाणको रेमिट्यान्स सार्क राष्ट्रकै चौथो ठूलो हुनेछ भने विश्वमा रेमिट्यान्समा निर्भर रहने देशमा पाँचौँ स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको भारतले सोही अवधिमा १ खर्ब २५ अर्ब डलर, दोस्रो स्थानमा रहेको पाकिस्तानले २४ अर्ब डलर, तेस्रो स्थानमा रहेको बंगलादेशले २३ अर्ब डलर र चौथो स्थानमा रहेको नेपालले ११ अर्ब डलर भित्र्याउने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै श्रीलंकाले सोही अवधिमा ५.४ अर्ब डलर भित्र्याउँदा अफगानिस्तानले ०.३ अर्ब डलर र भुटानले ०.१ अर्ब डलर भित्र्याउनसक्ने प्रक्षेपण गरिएको छ। माल्दिभ्सले भने कुनै पनि परिमाणको रेमिट्यान्स नभित्र्याउने नोम्याडले रिपोर्टमा उल्लेख गरेको छ। सबैभन्दा धेरै भारतले रेमिट्यान्स भित्र्याउने देखिए पनि रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने नेपाल (२६.६ प्रतिशत) नै अगाडि छ।
दक्षिण एसियाका अधिकांश देशहरुको वैदेशिक विनिमयको स्रोत र महत्त्वपूर्ण निजी वित्तीय आप्रवाहमा रेमिट्यान्स नै मुख्य रहेको रिपोर्टले उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया