ad ad

कारोबार


पुस १२ देखि ४ दिने घरजग्गा एक्स्पो : ६० स्टल, ६५ हजार दर्शक आउने

पुस १२ देखि  ४ दिने घरजग्गा एक्स्पो : ६० स्टल, ६५ हजार दर्शक आउने

नेपालखबर
पुस ११, २०८० बुधबार १२:५०, काठमाडौँ

यही पुस १२ देखि १५ गते (२८-३१ डिसेम्बर, २०२३) सम्म काठमाडौंमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ।

घरजग्गा व्यवसायीहरुको आयोजनामा प्रदर्शनी हल, भृकुटीमण्डप, काठमाडौंमा एक्स्पो आयोजना हुने भएको हो।

विगतका वर्षहरुमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिसहित मेला आयोजना गरिँदै आएको थियो।

यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई यस व्यवसायलाई समयसापेक्ष विकास एवं विस्तार गर्न थप योगदान पुऱ्याउने अपेक्षा गरिएको उनीहरुले बताएका छन्।

व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुऱ्याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने कुरामा विश्वस्त रहेको व्यवसायीहरुले बताएका छन्।

आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ-आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन्। मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन्।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ-आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने जनाइएको छ।

साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत व्यवस्था गरिनेछ भने मेलाबाट योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

त्यस्तै अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने भएको छ। यो व्यवसायमा आवद्ध व्यवसायी तथा उपभोक्ताहरु दुवैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिइएको छ।

यस पटकको मेलामा कम्तीमा ६५ हजारभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने र ६० भन्दा बढी स्टलहरु रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .