ad ad

कला


‍गायक हिमाल सागरसँग स्टेज संवाद : फोटो खिच्न नपाएर फ्यान रिसाउँदा नमज्जा लाग्छ

‍गायक हिमाल सागरसँग स्टेज संवाद : फोटो खिच्न नपाएर फ्यान रिसाउँदा नमज्जा लाग्छ

लक्ष्मी बलायर
चैत ३, २०८० शनिबार १८:५८, काठमाडौँ

दुई दशकअघिको ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीत आज पनि युवापुस्तामाझ उत्तिकै लोकप्रिय छ। हिमाल सागरले यसै गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए।

पहिलो गीत नै सफल भएपछि हिमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। त्यसपछि उनले लगातार ‘तीन ढिके फुली’, ‘ए माया, मेरो मनमा आगो लगाउने’ लगायतका चर्चित गीतहरू दिन सफल भए।

थुप्रै हिट गीत दिइसकेका गायक हिमाल सागर अहिले पनि सक्रिय छन्। २० वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा रहेका उनलाई खास परिचय भने यही गीतले दियो-

न मैले लेखेँ
न उनले लेखिन्
खोइ कसले लेख्यो
आँसुसरि

जिन्दगीको मेरो कथा 

उनका ‘कसलाई थाहा थाहा छैन’, ए होर माया’ लगायत गीत दर्शकश्रोताको रोजाइमा परेका छन्। जसकारण हिमाल सागरको स्टेज प्रोगाममा अत्यधिक माग हुन्छ।

तिनै गायक तथा संगीतकार हिमाल सागरसँग गरिएको स्टेजकेन्द्रित कुराकानी:

अहिले केमा व्यस्त हुनुहुन्छ?
पछिल्लो बेला मेरो 'यही हो नि माया' रिलिज भएको छ। जुन गीतलाई दर्शकश्रोताले मन पराइरहनुभएको छ। गीतको रेकर्डिङसहित देशविदेशका कार्यक्रममा पनि पुगिरहेको छु।

स्टेजमा गइसकेपछि कति घण्टा प्रस्तुति दिनुहुन्छ?
कति समय प्रस्तुति दिने भन्ने कार्यक्रमको ढाँचा हेरेर हुन्छ। कुनै कार्यक्रमक स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइएको हुन्छ। त्यस्तोमा ४० मिनेट पनि हुनसक्छ। नत्र त सामान्तयता १ घण्टा कुनै पनि प्रोगाममा प्रस्तुति दिने गरेको छु। कहिलेकाँही वन्स मोर र आउँदा बढी समय पनि गाउनुपर्ने हुन्छ।

स्टेज चढेपछि एकचोटिमा कतिवटा गीत गाउनुहुन्छ?
आठ/दसवटा त नर्मल नै भइहाल्यो। क्राउड बढी हुँदा उहाँहरुको डिमान्डअनुसार धेरै पनि गाइन्छ।

अनि स्टेजमा गएपछि नछुट्ने गीत कुन हो?
दर्शकश्रोताले मेरो पहिलेका गीतदेखि लिएर अहिलेका गीतहरु पनि रुचाइदिनुहुन्छ। उहाँहरुको डिमान्ड आउने गीतहरुमा न मैले लेखेदेखि ए होर माया लगायतका स्टेज कभर गर्ने गीत गाइरहेको हुन्छु। तर, प्रायजसो नछुट्ने गीत भनेको मेरो पहिलो गीत न मैले लेखे नै हो। यस गीतले नै मलाई चिनारी दिएकाले निकै माया लाग्छ।

स्टेजमा प्रस्तुति दिँदा दर्शकबाट वान्समोर आइरहेको हुन्छ। धेरैपटक वान्समोर आउँदा स्टेजमा एउटै गीत गाएको अनुभव छ?
त्यस्तो त धेरै अनुभव हुन्छ नि! गाउने अन्तरालमा धेरै इभेन्टमा लगभव ७/८ चोटि एउटै गीत गाएको अनुभव छ। एकचोटि पूर्वको एउटा कार्यक्रममा गएको थिएँ। 'मेरो मनमा आगो लगाउने' गीतमा धेरैपटक वन्समो र आयो। जसले मैले सातआठचोटि एउटै गीत गाएको थिएँ। त्यो पल खुब याद आउँछ।

त्यस्तै, गएको वर्ष सार्वजनिक भएको गीत ए होर माया अडियन्सले मन पराउनुभएको छ। यो गीत पनि स्टेजमा धेरैपटक गाउनुपरेको थियो। तीनचारपटक त सामान्य नै भइहाल्यो।

गतवर्ष रिलिज भएको 'ए होर माया' युट्युबदेखि टिकटकमा निकै चल्यो। यस गीतलाई तपाईंको 'कमब्याक' गीत भन्न मिल्छ?
'ए होर माया' लाई म कमब्याक मान्दिनँ। किनकि म निरन्तर रुपमा संगीतक्षेत्रमै सक्रिय छु। कोरोनाअघि पनि मेरा गीतले करौडौँ भ्युज पाएका छन्। कुनै गीत माइलस्टोन हुन्छन् त कुनै भए पनि कहिलेकाँही नोटिसेबल हुँदैनन्, त्यो मात्रै भएको हो।

त्यस्तोमा 'ए होर माया' अडियन्सले निकै रुचाउनुभयो। जुन प्लस पोइन्ट हो। कमब्याकभन्दा पनि यस गीतले व्यस्तता भने पक्कै बढाएको छ। कुनै प्रोजेक्ट राम्रो हुँदा त्यसले फाइदा गर्छ।

एउटै गीत धेरैचोटि गाउँदा झर्को लाग्दैन?
एउटै गीत धेरैचोटि गाउँदा अलिकति गाह्रो हुन्छ। एउटै गीत कति रिपिट गर्नु, नयाँ भनेको भए हुन्थ्यो लाग्छ। तर, श्रोतादर्शकहरुको मन र इच्छा मारेर अगाडl बढ्न सकिँदैन। किनकि उहाँहरुकै कारण हामी त्यहाँ पुगेका हौँ। उहाँहरुको आग्रह गर्दा त्यस्तो झर्को लाग्दैन।

फ्यानसँगको मिठो अनुभव कत्तिको छ?   
आजभन्दा आठदस वर्षअघि प्रोगाम सकिएपछि अटोग्राफ लिने चलन थियो। रुमालदेखि कपी र हातमा अटोग्राफ लिनुहुनथ्यो। तर, अहिले चाहिँ त्यो हराउँदै गएको छ। अहिले सबैको हातहातमा मोबाइल छ। धेरै फ्यानहरु फोटो खिच्न चाहनुहुन्छ।

एकचोटि इटहरीतिरको कन्सर्टमा गएको थिएँ। त्यहाँको एउटा स्थानीय एफएमले लाइभ इन्टरभ्युको लागि बोलाउनु भएको थियो। त्यतिखेर एफएमको राम्रो क्रेज थियो। बिहान ८/९ बजेतिर म लाइभ इन्टरभ्यु दिइरहेको थिएँ। त्यो इन्टरभ्यु एकजना फ्यानले सुनिराख्नु भएको रहेछ। स्कुल गएको बेलामा उहाँ क्लास नै बंक गरेर मलाई भेट्न एफएममै पुग्नुभएको थियो। आठ क्लासमा पढ्ने ती बहिनी मलाई देख्ने बित्तिकै बेस्सरी रुनुभयो। खुसी र नर्भस भएर होला। उहाँलाई हामीले सम्झायौँ। त्यो कुरा निकै याद आउँछ।

अनि फ्यानबाट दु:ख खेप्नुपरेको छ?
कहिलेकाँही दु:ख पनि पाइन्छ। कार्यक्रममा हजारौँ संख्यामा अडियन्स आउनुहुन्छ। हजारौँको भिडमा को कस्तो हुन्छ पनि थाहा हुँदैन। ०६२/६३ तिर इनरुवाको सिनेमाहलमा एउटा कन्सर्ट थियो। त्यहाँ एकदमै भिड थियो, बाहिर निस्किने पनि गाह्रो थियो। कार्यक्रममा जाँदा फ्यानहरुले क्यापदेखि चस्मा माग्दा दिइरहेको हुन्छु। एकजनालाई त घडी पनि दिएको छु। त्यतिखेर मैले एउटा सुनको टप पनि लगाएको थिएँ। तर, भिडमा त्यो टप कतिखेर कसले निकाल्यो थाहानै भएन। घरपुग्दा कानबाट रगत आइरहेको थियो। त्यसले गाह्रो भएको थियो। अब त्यसलाई पनि अडियन्सको माया नै सम्झिनुपर्ला।

कार्यक्रममा हजारौँ मान्छेहरु आउनुहुन्छ। कम्तीमा १० देखि २० जनालाई अटोग्राफ दिन पनि सकिन्छ। सबैलाई त दिन सकिँदैन। किनकि टाइम पनि हुँदैन। त्यो बेलामा कतिपय फ्यान रिसाउनु पनि हुन्छ। त्यतिखेर पनि नमज्जा लाग्छ।

तपाईं नेपाल र विदेशमध्ये कताको कार्यक्रममा बढी रमाइलो मान्नुहुन्छ?
म चाँहि विदेशमा बढी रमाउँछु। नयाँनयाँ ठाउँ घुम्न पाइन्छ। धेरैपछि आफ्नो शुभचिन्तकसँग भेट्न पाइन्छ। अलिकति इन्जोय गरिन्छ। तर, अडियन्सको हिसाबले अलिकति नेपालमै रमाइलो लाग्छ। महोत्सवमा हजारौँ मानिसहरु टिकट काटेर आउनुहुन्छ। त्यो चाहिँ निकै रमाइलो लाग्छ। विदेशमा त्यो मिस हुन्छ।

स्टेजमा पुग्दा कस्तो महसुस गर्नुहुन्छ?   
१९/२० वर्षको अवधिमा धेरै कन्सर्ट गरियो। तर, हरेकचोटि स्टेज चढ्दा छुट्टै खाले रमाइलो अनुभूति हुन्छ। यति आनन्द आउँछ कि दु:ख, पीडा सब हराउँछ। अनि हजारौँ दर्शक देख्दा मैले मेरो मेहनतले पाएको रहेछु भन्ने लाग्छ।

स्टेज कार्यक्रममा जाँदा कलाकारहरुले थुप्रै समस्या भोगिरहेका हुन्छन्, तपाईंले चाहिँ कत्तिको दुर्व्यवहार भोग्नुपर्‍यो?
त्यस्तो दुर्व्यवहार त भोगेको छैन। तर, पहिले एकदुई ठाउँबाट आयोजकले भनेको पारिश्रमिक दिनुभएन। त्योबेला सांगीतिक कार्यक्रमको लागि टिकट नै काट्नुपर्ने हुन्थ्यो। अहिले महोत्सवको जस्तो थिएन। टिकट बिक्री भएन भन्दै केहीले आधा मात्रै पारिश्रमिक दिनुभएको छ। त्यतिखेर दु:ख लागेको छ। अहिले त एकदमै राम्रै कमाइ हुन्छ।

आगामी योजना के छ?
अहिले त गीतको तयारीमा छु। छिट्टै पाँच/छ वटा गीतहरु आउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .