डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक मञ्चन हुने भएको छ।
प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन्।
नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रायस वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने भएको छ।
यसैगरी उक्त नाटकको संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो।
पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस बसोबास गर्ने लिम्बू समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छन्।
Shares
प्रतिक्रिया