भारतको गुजरातमा हालै पतिको मृत्युपछि पत्नीलाई 'सती' बनाउन सासू-ससुराले शारीरिक र मानसिक यातना दिएपछि एक महिलाले आत्महत्या गरेको घटना बाहिरिएको छ।
राजस्थानकी संगीता गुजरातमा पतिसँग बस्दै आएकी थिइन्। केही समयअघि उनको श्रीमान्को मृत्यु भयो। मृत्युपछि उनका सासू-ससुराले शारीरिक र मानसिक यातना दिन थाले।
पतिको मृत्युसँगै किन 'सती' नबनेको भन्दै महिलाका सासू-ससुराले दबाब दिन थाले। त्यो यातनाबाट भाग्दै उनले बाँच्नका लागि लामो संघर्ष गरिन्। अन्तत: उनले आत्महत्याको बाटो रोजेको प्रहरीले बताएको छ। संगीताले साबरमती नदीमा हाम फालेर आत्महत्या गरिन्।
प्रहरी अधिकारीका अनुसार श्रीमान्को मृत्युपछि संगीताले बीमामार्फत् ५४ लाख रूपैयाँ प्राप्त गरेकी थिइन्। पतिको घर पनि उनको नाममा नामसारी भई आएको थियो। उक्त सम्पत्ति हत्याउने दाउमा सासू-ससुरा रहेको खुलेको प्रहरी अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरी अधिकारी एमभी पटेलका अनुसार महिलाको ससुराली घरका पाँच जनाविरुद्ध विभिन्न धारमा मुद्दा लगाइएको छ।
आरोपीहरू पक्राउ परिसकेका छैनन्। उनीहरूको खोजी कार्य जारी रहेको पटेलले बताए।
प्रतिक्रिया