यही अक्टोबर ७ मा प्यालेस्टेनी लडाकु समूहले अचानक आक्रमण गरेपछि प्रत्याक्रमणमा उत्रिएको इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) बमबारी गर्ने क्रम जारी राखेको छ। दुई साताभन्दा बढी समयदेखि जारी यो द्वन्द्वमा हालसम्म १४ सय इजरायली र गाजामा बसोबास गर्ने ५ हजारभन्दा बढी प्यालेस्टेनी मारिएका छन्।
बीबीसीका अनुसार प्यालेस्टिनी अधिकारीहरूले अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको बताएका छन्। जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध छन्। प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन्।
इजरायलको सेनाले सोमबार बिहानै लेबनानमा हिजबुल्लाहका दुईवटा अखडामा हवाई हमला गरिएको जनाएको छ। यीमध्ये एउटा स्थान इजरायली सीमासँग जोडिएको सहर मटाट नजिक थियो भने अर्को शेबा फार्मको विवादित क्षेत्र थियो।
गाजाका धेरै अस्पताल नजिकै विस्फोट भएको रोयटर्सले जनाएको छ।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले अक्टोबर ७ मा इजरायली क्षेत्रमा आक्रमण गर्ने हमास लडाकुसँग रासायनिक हतियार बनाउने कागजपत्र फेला परेको बताएका छन्।
सोमबार मानवीय सहायताको तेस्रो खेप इजिप्ट हुँदै गाजा पुग्यो। पहिलो खेप अक्टोबर २१ र दोस्रो खेप २२ तारिखमा पुगेको थियो।
Shares
प्रतिक्रिया