ad ad

ग्लोबल


नयाँ सेनापति नियुक्तिले युक्रेनी सेनाभित्र कोलाहल

यी हुन् युक्रेनी सेनाका कमान्डर सिर्स्की
नयाँ सेनापति नियुक्तिले युक्रेनी सेनाभित्र कोलाहल

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:५५,

बिहीबार युक्रेनी सशस्त्र फौजको शीर्ष कमान्डरमा अलेक्सान्द्र सिर्स्की नियुक्त भएका छन्। उनलाई दुई वर्षअघि रुसले आक्रमण सुरु गरेयताका केही महत्वपूर्ण लडाइँको सफलताको जस दिने गरिन्छ।

सँगसँगै युक्रेनी सेनाले गरेको सबैभन्दा ठूलो गल्तीको दोष पनि उनैलाई दिइन्छ। त्यो लडाइँ थियो– बाखमुतको प्रतिरक्षा।

१९६५ मा मस्कोको पूर्वपट्टि भ्लादिमिर नामक स्थानमा जन्मेका उनले मस्कोकै सैन्य स्कुलमा तालिम लिएका थिए। त्यसपछि सोभियत सेनाको तोपचीका रुपमा काम गरेका थिए।

१९८० को दशकमा उनी युक्रेन सरे। युक्रेन स्वतन्त्र भएपछि उनी युक्रेनी सेनामा बढुवा हुँदै गए। २०१५ मा उनले दोनबास क्षेत्रमा रुसी सेनाविरुद्ध लडे। देवाल्तसेवको त्यो लडाइँमा युक्रेनी सेना हार्‍यो र दुई पक्षबीच युद्धविराम भयो। 

लडाइँ हारे पनि उनलाई पदक प्रदान गरियो। २०१९ मा उनलाई युक्रेनको सम्पूर्ण स्थल सेनाको नेतृत्व सुम्पिइयो। 

उनको लडाइँको शैली सोभियत सेनाको तालिमअनुसार रहेको विश्लेषकहरु बताउँछन्। उनले लडाइँमा नयाँ शैली नल्याउने उनीहरुको आकलन छ। 

मार्च २०२२ मा राजधानी किभ वरिपरिबाट रुसको आक्रमण असफल पार्न र सोही वर्षको शरदमा उत्तरपूर्वी क्षेत्रबाट रुसको नियन्त्रणमा रहेका भूमि फिर्ता गराउन उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ।

उनी प्रायः जेलेन्स्कीसँगै देशभित्रका स्थानहरुको भ्रमणमा देखिन्छन्। 

तर, स्थल सेनाप्रमुखका रुपमा उनले १० महिना लामो रक्तपातपूर्ण बाखमुतको लडाइँमा लिएका निर्णयहरु विवादमा परेका छन्। सो लडाइँमा युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको थियो। रुसले कब्जा गर्नुभन्दा महिनौँअघि त्यहाँबाट पछि हट्नुपर्ने सैनिकहरुको माग थियो। 

कतिपय युक्रेनी सैनिक र पश्चिमा अधिकारीहरु उनी सेनापति बन्नु युक्रेनका लागि शुभ संकेत नभएको बताउँछन्। सैनिकहरुले उनले निर्दयतापूर्वक सेनालाई खेर फालेको बताएका छन्। कतिपयले उनलाई ‘कसाही’ भनेका छन्।

बिहीबार उनको नियुक्तिको खबरले युक्रेनी सेनामा कोलाहल मच्चिएको छ। थुप्रै सैनिकले च्याट ग्रुप र सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका छन्।

‘हामी बर्बाद भयौँ,’ एक सैनिकले एक्समा लेखेका छन्।

‘जर्नेल सिर्स्कीको नेतृत्व खत्तम छ। उनको उपस्थिति वा उनका आदेश हतोत्साहित गर्ने खालका हुन्छन्,’ एक युक्रेनी सेनाको जगेडा अधिकृतले भने, ‘लगातार सामरिक लाभ लिने उनको शैलीले हाम्रो मूल्यवान मानव संसाधन रित्याउँछ। जसले सानो गाउँ कब्जा गर्नेजस्ता सफलता त प्राप्त हुन्छन्, तर त्यसको कुनै व्यापक लक्ष्य हुँदैन।’

युक्रेनको नीति विश्लेषणमा संलग्न पश्चिमा अधिकारीहरु पनि यसबाट सन्तुष्ट छैनन्।

तर, युक्रेनी सेनानिकट मानिसहरु भने जेलेन्स्कीले सेनाको नेतृत्व फेर्न खोज्नु उपयुक्त भएको बताउँछन्। यसैसाता उनले युद्धमा गतिरोध आएको बताएका थिए।

उनले सेनाका अधिकारीहरु पनि बदल्ने संकेत गरेका छन्। 

युक्रेनी सेनाका लागि आउँदा दिन कठिन हुने अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल इगोर रोमानेन्कोले हालैको एक अन्तर्वार्तामा बताएका छन्। 

‘केही समयलाई नेतृत्व कमजोर हुने खतरा छ,’ उनले भनेका छन्। फाइनान्सियल टाइम्सबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .