ad ad

ग्लोबल


अर्धस्वचालित पेस्तोल बोक्छिन् अमेरिकी राष्ट्रपतीय उम्मेदवार ह्यारिस, भन्छिन्- सुटिङ रेन्जमा चलाएको पनि छु

अर्धस्वचालित पेस्तोल बोक्छिन् अमेरिकी राष्ट्रपतीय उम्मेदवार ह्यारिस, भन्छिन्- सुटिङ रेन्जमा चलाएको पनि छु

फाइल तस्बिर


(रासस/एएफपी)
असोज २२, २०८१ मंगलबार १२:५, काठमाडौँ

राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित एक अन्तर्वार्तामा उनीसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गरेकी छिन्। ‘निश्चय नै’, उनले यसलाई सुटिङ रेन्जमा चलाएको बताएकी हुन्।  

अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उनले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताएकी थिइन्। 

“मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भनिन्, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ।”

अन्तर्वार्ताकार बिल ह्विटाकरले त्यसपछि उनलाई कहिल्यै ग्लक चलाउनुभएको छ भनेर सोधेका थिए। उनले हाँस्दै जवाफ दिइन्, “निश्चय नै मैले सुटिङ रेन्जमा चलाएको छु।”

अस्ट्रियाली निर्माता ग्लकले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने ह्यान्डगनहरूमध्ये एक बनाउँछ। प्रहरीले व्यापक रूपमा प्रयोग गर्ने ग्लकले आफ्नो उपस्थितिका कारण चलचित्र र हिप–हप संस्कृतिमा लोकप्रियता पाएको छ।

ह्यारिसको डेमोक्रेटिक पार्टीले नियमित रूपमा सशस्त्र अपराध र ठूलो मात्रामा गोलीकाण्डले प्रभावित अमेरिकामा बन्दुकको पहुँच कटौती गर्ने कुरामा जोड दिइरहेका बेला अहिलेसम्म ह्यारिसले आफूसँग बन्दुक रहेको कुरा विरलै उल्लेख गरेकी थिइन्। 

यद्यपि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको कडा निर्वाचनमा ५९ वर्षीया डेमोक्रेट ह्यारिसले आफ्नो बन्दुकधारकको योग्यता देखाउन थालेकी छिन्।

ह्यारिसले अमेरिकी संविधानको दोस्रो संशोधनको उल्लङ्घन गर्दै अमेरिकीहरूको बन्दुक जफत गर्न चाहेको ट्रम्पले बारम्बार दाबी गर्दै आएका छन्। गत महिना भएको उनीहरूबीचको एउटा मात्र टेलिभिजन बहसमा पनि ट्रम्पले यो कुरा दोहोर्‍याएका थिए। 

आफू र आफ्नो उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज दुवै बन्दुकधारक रहेको उल्लेख गर्दै ह्यारिसले उक्त आरोपलाई जोडदार रूपमा अस्वीकार गरिन्।

“म बन्दुक मालिक हूँ”, उनले सेप्टेम्बरमा विन्फ्रेसँग हाँस्दै भनिन्, “यदि कोही मेरो घरमा प्रवेश गर्छ भने उसलाई गोली लाग्नेछ।”

आप्रवासन र अर्थतन्त्र जस्ता संवेदनशील विषयहरूमा सावधानीपूर्वक कठिन प्रश्नहरूको सामना गर्ने ह्यारिसको अन्तर्वार्तामा ग्लक खुलासा सबैभन्दा आकर्षक विषय थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .