ad ad

कर्णाली


एमाले कर्णालीको उपसचिवमा पद्‌मा खड्काले खाइन् शपथ, रमेश शाही ‘आउट’

एमाले कर्णालीको उपसचिवमा पद्‌मा खड्काले खाइन् शपथ, रमेश शाही ‘आउट’

एमाले कर्णालीको उपसचिवमा सपथ खाँदै पद्‌मा खड्का।


नेपालखबर
माघ ९, २०८० मंगलबार १०:१६, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिवमा पद्‌मा खड्काले शपथ खाएकी छन्। 

खड्कालाई सोमबार प्रदेश अध्यक्ष गुलाबजंग शाहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। 

खड्काको शपथसँगै नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको उपसचिव पदमा देखिएको विवाद साम्य भएको छ। 

गत असोज १०-१५ गतेसम्म चलेको पहिलो प्रदेश अधिवेशनबाट उपसचिव पदमा समावेशी उपसचिव निर्वाचित हुनुपर्ने भए पनि दुवै जना पुरुष मात्र निर्वाचित घोषणा गरिएको थियो। 

उपसचिव पदमा समावेशी भुलेर दुई जना पुरुष निर्वाचित गरेर प्रदेश निर्वाचन कमिटीको गम्भीर त्रुटिपछि विवाद चुलिएको थियो। 

खड्काले उपसचिवको शपथ खाएसँगै पार्टीभित्र देखिएको विवाद समाधान भएको हो।  

पाँच जना उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने दुई जना पुरुषलाई निर्वाचन कमिटीले उपसचिवमा नर्वाचित घोषणा गर्दा रवीन्द्रराज शर्मा र रमेश शाही निर्वाचित भएको घोषणा गरेको थियो।

तर, एक जना महिला उपसचिव हुनुपर्ने समावेशी कलस्टर भएको भन्दै महिलामा सबैभन्दा बढी मत ल्याउने पद्‌मा खड्काले पार्टी केन्द्रमा उजुरी दिएकी थिइन्। 

खड्काको उजुरीपछि पार्टीको केन्द्रीय सचिवालयले खड्कालाई उपसचिव र शाहीलाई सदस्य बनाउन अन्तरपार्टी निर्देशन जारी गरेको थियो। तर, पार्टीको केन्द्रीय निर्वाचन आयोगले शाही नै उपसचिव निर्वाचित भएको भन्दै पार्टी सचिवालयको निर्णय खारेज गरेपछि विवाद थप चुलिएको थियो। 

पार्टी महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश कमिटीलाई उपसचिवमा खड्कालाई नै शपथ गराउन र रमेशकुमार शाहीलाई प्रदेश कमिटी सदस्यमा मनोनयन गर्न निर्देशनसहितको पत्र पठाएका थिए। 

महासचिव पोखरेलको पत्रविरुद्ध एमाले कर्णालीबाट पार्टी केन्द्रको विभिन्न पदमा नेतृत्व गर्ने नेताहरूको सल्लाहअनुसार प्रदेश कमिटी सदस्यहरूको हस्ताक्षर अभियानसमेत चलाइएको थियो। 

यस्तै, विवादकै कारण प्रदेश कमिटीको पहिलो बैठक उद्घाटन गर्न सुर्खेत पुगेका अध्यक्ष केपी शर्मा ओली बैठक नै नबसी काठमाडौँ फर्किएका थिए भने प्रदेश कमिटीले बैठक नै स्थगन गरेको थियो। तर, सुर्खेतमा रहँदा ओलीले खड्का नै उपसचिवमा निर्वाचित भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .