ad ad

कर्णाली


चंखेली गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चंखेली गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
फागुन १०, २०८० बिहिबार १५:५८, सुर्खेत

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अधिकृत विष्णुबहादुर शाहीसहित इन्जिनियर, वडाध्यक्ष समेतविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
 

चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो।

अनुसन्धान हुँदै जाँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक कार्यभन्दा बढी मूल्याङ्‍कन गरि भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढा र चंखेली गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष सालिग्राम ऐडीसमेत यो घटनामा मुछिएका छन्।

उनीहरूले उक्त फिल्ड निर्माणको बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेर लाखौं भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। उनीहरूले ११ लाख ९४ हजार ४२६ रुपैयाँ अनियमितता गरेको अनुसन्धानका क्रममा खुलेको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले ऐन बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .