ad ad

कोशी


प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण

प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण

नेपालखबर
माघ ३, २०७९ मंगलबार १४:१६, विराटनगर

प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ।

मंगलवार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाबिरुद्धको ग्लोबल फण्डका क्षेत्रिय प्रवन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानस्थित कार्यालयकी निर्देशक हिदरक्याम्प बेलले संयुक्त रुपमा प्रयोगशालाको हस्तान्तरण गरेका हुन्। 

ग्लोबल फण्डले नेपालको लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशालाको स्थापना भएको हो। साढे १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालामा आगामी दिनमा अतिरिक्त फर्निचर, लिफ्ट, प्रयोगशालाका लागि आवश्यक पर्ने अन्य उपकरण पनि थप्ने योजना रहेको बताइएको छ।

नेपालस्थित दी ग्लोबल फण्ड कार्यक्रमले नेपालमा क्षयरोग, एचआईभी तथा मलेरिया रोगबिरुद्धको प्रतिकार्यमा सहायता गर्दै आएको छ। नेपालस्थित सेभ दी चिल्ड्रेन इन्टरनेशनलले प्रमुख साझेदारको रुपमा नेपाल सरकार, जोखिम वाह्य विकास साझेदार र नागरिक समाज संस्थाहरुसँगको सहकार्यमा ग्लोवल फण्ड कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ। सन् २००८ देखि सेभ दी चिल्ड्रेनले ग्लोबल फाण्डको अनुदान व्यवस्थापन गर्दै आएको छ।

सन् २०१५ यता भने सेभ दी चिल्ड्रेनले ३ रोग (एचआईभी, क्षयरोग र मलेरिया) को लागि पूर्ण व्यवस्थापन गर्दै आएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा स्वास्थ्य मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाइ मन्त्रालयको सेवाहरु उत्कृष्ट बनाइने प्रतिवद्धता जनाए। 

स्वास्थ्य मन्त्रालयलाई सामाजिक मन्त्रालय मातहतमा राख्ने चर्चा चलिरहका बेला मुख्यमन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो। उनले मन्त्रालयलाई अध्ययनको क्षेत्रमा जोडेर जनशक्ति र आर्थिक श्रोत जुटाइ मन्त्रालयबाट दिने सेवाहरु चुस्त बनाइने बताए।

स्वास्थ्यसँग जोडिने सरकारी संरचनाको विकासमा लगानी बढाएर स्वास्थ्यमा जनताको पहुँच सुनिश्चित गर्न लाग्ने बताए।

उनले भने, ‘हामी प्रदेशमा हिजोजस्तै स्वास्थ्य मन्त्रालयलाई सामाजिक मन्त्रालय मातहतमा राख्ने कि भन्ने छलफल चलिरहेको थियो। म यो कार्यक्रममार्फत स्वास्थ्य मन्त्रालयलाई अलग्गै राख्ने उद्घोष पनि गर्न चाहन्छु। स्वास्थ्य मन्त्रालय अलग्गै मन्त्रालयको रुपमा रहनेछ। हामी रिसर्चको क्षेत्रमा हाम्रो कामहरु जोड्छौँ। जनशक्ति कम छ। आर्थिक स्रोत कम छ। अनुभव कम छ। सहयोग सहकार्यको लागि आह्वान गर्न चाहन्छौँ। न्यूनतम जनशक्ति र आर्थिक सहयोग प्रदेश सरकारले गर्नेछ। जनताको स्वास्थ्यसँग जोडिने सरकारी संरचनाहरु जहाँ सरकारको लगानी छ, त्यहाँको रिजल्ट किन कमजोर हुन्छ? यो प्रश्न आफू लगायत सबै साथीहरुलाई गर्न चाहन्छु? कमसेकम जनस्वास्थ्यको क्षेत्रमा हाम्रा प्रयोगशालाहरु जहाँ हामीले जनशक्ति पठाएका हुन्छौँ, जहाँ हामीले आर्थिक सहयोग गरेका हुन्छौँ। ति ठाउँहरुको रिजल्ट किन कमजोर छ? ति ठाउँहरु अरुभन्दा आकर्षक ठाउँ हुनुपर्ने। हाम्रा ल्याबहरुमा जनताहरु आउन आतुर हुनुपर्यो। लाइनमा बस्नुपर्यो कि यहाँमात्र राम्रो डाइग्नोसिस हुन्छ। यहाँ सरसफाई छ। यहाँको म्यानेजमेण्ट स्किल पनि असाध्यै राम्रो छ। यसले दिएको रिजेल्ट शतप्रतिशत सही छ भन्ने कुरा अनुभुति दिनेगरी हाम्रो ल्याबहरु लानुपर्ने होला। म त्यो कुराको अपेक्षा गर्न चाहन्छु। जनस्वास्थ्यसँग जोडिएको यो मन्त्रालयले दिने हाम्रा सबै सेवाहरु उत्कृष्ट हुनुपर्यो। कसैले प्रश्न नउठ्नेगरी हुनुपर्यो।’

मुख्यमन्त्री कार्कीले सरकारी स्वास्थ्य सेवाको नतिजा कमजोर भइरहेकाले सरकारी स्वास्थ्य केन्द्रहरुको सेवा चुस्त बनाइ सरकारी क्षेत्रहरु आकर्षक बनाउनेतिर आफू लाग्ने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .