ad ad

विचार


जब साथीले भन्यो– तिमीले ‘लद्दू’ लेख्यौ, देउवा त ‘महालद्दू’ रहेछन्

जब साथीले भन्यो– तिमीले ‘लद्दू’ लेख्यौ, देउवा त ‘महालद्दू’ रहेछन्

सन्जय घिमिरे
पुस १२, २०७९ मंगलबार १६:४५, टेक्सास, अमेरिका

आजभन्दा ठिक पाँच वर्षअघि। अर्थात् सन् २०१७, डिसेम्बर। समय यियो– संसदीय निर्वाचनको।

त्यतिबेलाको निर्वाचनको परिणामलगत्तै नेपालखबरको यही स्तम्भमा मेरो एउटा लेख प्रकाशित भएको थियो, जसमा केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नेपाली राजनीतिका ‘चलाख’ र शेरबहादुर देउवालाई ‘लद्दू’ पात्रको रुपमा व्याख्या गरिएको थियो। 

लेखको शीर्षकमै शेरबहादुर देउवालाई ‘लद्दू’ भनिएकोमा कति मसँग रिसाए पनि। 

शब्द अलि कडा भयो कि भन्ने कुराले मलाई पनि धेरै पछिसम्म सोचमग्न बनाइरह्यो। भित्र लेखे पनि, शीर्षकमै चारचोटि प्रधानमन्त्री भैसकेका मान्छेलाई ‘लद्दू’ लेख्नु पत्रकारिताको हिसाबले अलि अमर्यादित भयो कि भन्ने पनि मनमा आयो। खासमा ‘लद्दू’ शब्द व्यक्ति देउवालाई हेपेर लेखिएको थिएन, उनको शैली, तरिका, चेत र बुझाइको गहनताका आधारमा सोची विचारी लेखिएको थियो। 

मैले त्यो लेख बिर्सिसकेको थिएँ। 

अहिले ओलीको समर्थनमा नाटकीय रुपमा दाहाल प्रधानमन्त्री भएपछि अमेरिकामै रहेका मेरा एकजना मित्रले हिजो फोन गरेर सम्झाए– ‘तपाईंले पाँच वर्षअघि देउवालाई लद्दू भनेर लेख्नुभएको थियो, ती त महालद्दू रहेछन्।’

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि मेरा मित्रले भनेको सही हो कि क्या हो भनेझैँ लागेको छ। 

‘लद्दू’ बाट देउवा कसरी यो बीचमा ‘महालद्दू’ मा बढुवा भए? यसबारे केही भन्नुअघि पाठसमक्ष यही नेपालखबरमा पाँच वर्ष अघि प्रकाशित मेरो लेख फेरि शेयर गर्न चाहान्छु जस्ताको त्यस्तै– 

तपोभूमि नेपालका बारेमा लेख्दै गर्दा नेपाली कांग्रेसको लज्जास्पद हार र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुहार, भावभंगी र उनका भागमा परेको असफलताले मलाई घरीघरी बिथोलिरह्यो। यसैकारण तपोभूमि नेपालमाथि लेख्ने कुरालाई यसपटक थाँती राखेर म नेपालकै निर्वाचन, त्यसको परिणाम र नेपालका चलाख र लद्दू पात्रहरुमाथि केही भन्न खोज्दैछु। 

पहिला चलाख पात्रहरुकै कुरा गरौँ।

केपी ओली नेपाली राजनीतिका यस्ता चलाख पात्र हुन्, जसले तरिका मिलाईमिलाई आफू र आफनो पार्टीलाई आज यो उचाइमा ल्याइपुर्याए। म यसकारण केपी ओलीलाई चलाख पात्र भनिरहेको छु कि उनले नेपाली जनताको मनोविज्ञानलाई राम्ररी बुझेका छन्। र, त्यो मनोविज्ञानलाई प्रभावित गर्ने तरिकाहरु उनलाई राम्ररी थाहा छ। 

अब अलिकति नेपाली मनोविज्ञानका बारेमा कुरा गरौँ। नेपाली मनोविज्ञान भनेको, सोझो हिसाबमा भन्दा आशामा बाँच्ने, हिजो राति देखेको सपनाको भरमा आजको दिनको हिसाबकिताब गर्ने र खरो कुरा मनपराउने मनोविज्ञान हो। खरो कुरा पनि कस्ता भने आफ्नो जीवन र चाहनासँग जोडिएका मात्र। 

हो, ओलीले ठयाक्कै यही लय पक्रिए। उनी नेपाली जनजीवनका भाषा सबैले बुझ्नेगरी ठेट रुपमा बोल्छन्। खरो रुपमा बोल्छन् र सपनाको कुरा गर्छन्, आशाको कुरा गर्छन्, प्रगतिका कुरा गर्छन्– खरै रुपमा। बस, एउटा निराश समाजलाई चाहिने तत्त्व यिनै हुन्। निराश समाजलाई गति दिने पनि यस्तै कुराले हो। 

भनेजस्तै होस् वा नहोस, यो अलग कुरा हो, तर गति दिइरहनु मात्रै पनि ठूलो कुरा हो। जस्तो कि व्यापारमा नाफा नभए पनि पैसाको कारोबारको मात्राले ठूलो अर्थ राख्छ। पैसाको कारोबारको मात्राले व्यापारलाई गति दिन्छ। ओलीले सदैव, कारोबारको मात्रालाई बढाउने काम गरे। नाफाघाटाको हिसाबकिताब त पछि हुँदै गर्छ। 

चलाख व्यापारीले आफना ग्राहकहरुलाई अनेक तरिकाले ‘इन्गेज’ गराइरहन्छ। र, चलाख राजनीतिक नेताले पनि ठयाक्कै त्यसैगरी आफ्ना समर्थकहरुलाई ‘इन्गेज’ गराइरहन्छ अनेक तरिकाले। ‘इन्गेज’ गराउनु पनि ठूलै कला हो। ‘इन्गेज’ गराउने मामिलामा ओली अब्बल ठहरिए। मैले माथि नै भनिसकेँ, नाफाघाटाको हिसाबकिताब त समयक्रममा हुँदै गर्छ। ओलीको कारोबारको पनि समयक्रममा हिसाबकिताब त होला नै। व्यापारमा सधैँ घाटा नै हुन्छ भन्ने पनि छैन। ओली सफल पनि हुन सक्नेछन। सफल यस मानेमा कि देशको विकास र सम्बृद्धिका मामिलामा। 

खैर, सफलता–असफलता भविष्यको गर्भमा छ, तर गर्भाधान गराउने मामिलामा फेरि पनि ओली अब्बल ठहरिएकै हुन्। त्यो गर्भाधानमा राष्ट्रियता, रेल–सपना र स्थायित्वजस्ता तत्वहरु मिसिएका छन्। अब हेर्न बाँकी– जन्मिन्छ कस्तो भन्ने मात्रै हो। 

अब अर्का चलाख पात्रको कुरा गरौँ। पुष्पकमल दाहाल प्रचण्ड। 

उनी नेपाली राजनीतिका सबैभन्दा ‘टयाक्टिकल’ पात्र हुन्। 

नेपालमा राजतन्त्र खत्तम गरेर गणतन्त्र ल्याउनु उनको एजेन्डा थियो, ल्याए। त्यसपछि करिबकरिब उनी एजेन्डाविहीन जस्तै थिए। वैद्य, विप्लव र बाबुराम भट्टराई समेत छिन्नभिन्न भएपछि त प्रचण्ड करिबकरिब सिद्धिने अवस्थामा थिए। आफनो एजेन्डा पनि छैन, आफना मान्छे पनि छैनन्। यस्तो अवस्थाका प्रचण्डलाई कहाँ न कहाँबाट, एउटा लगन जुर्यो– एमालेसँग लगनगाँठो जोड्ने। प्रचण्ड, यसकारण नेपाली राजनीतिका चलाख पात्र हुन् कि उनलाई कतिबेला कोसँग लगनगाँठो जोड्न पर्छ भन्ने थाहा छ। आफूलाई बचाउनलाई मान्छे त्यान्द्रोको सहारा त छोड्दैन, प्रचण्डले त लठ्ठै भेटे। त्यान्द्रोभन्दा लठ्ठो बलियो हुन्छ भनेर छुट्याउने खुबी निश्चय नै प्रचण्डमा छ। त्यही खुबी प्रयोग गरेर भिरबाट खसिसकेका प्रचण्ड फेरि माथि उत्रिएका छन्। 

गणतन्त्रको लक्ष्य पुरा भइसकेपछि विकास र सम्मृद्धिको लक्ष्यका लागि भनेर जुन बलियो लठ्ठो समाते पनि जनताले नाइँनास्ती गर्ने ठाउँ थिएन। नाइँनास्ती गरेनन्। परिणामतः वाम गठबन्धन नेपाली राजनीतिमा जबर्जस्त हाबी भयो। भिरबाट खसिसकेका प्रचण्डले घुमाइफिराइ आफूलाई बचाए। बचाएनन् मात्र, बलियो पनि बनाए। 

दुई चलाख पात्रको कुरापछि अब एक ‘लद्दू’ पात्रको कुरा गरौँ। 

ठाडै भनौँ, ती ‘लद्दू’ पात्र हुन्– शेरबहादुर देउवा। 

यिनले न ओलीले जस्तो नेपाली मनोविज्ञान बुझेका छन्, न प्रचण्डले जस्तो कुन बेला कोसँग लगनगाँठो बाँध्नु पर्छ भन्ने यिनलाई थाहा छ। न यी विचारमा प्रष्ट छन्, न कामका तरिकामा। ‘चान्स’मा बढी र ‘च्वाइस’मा कम, यिनको समय बितेको छ। यी नेपाली कांग्रेसको सभापति हुने खालका मान्छे नै होइनन्। यिनको चरित्र नै होइन– नेपाली कांग्रेसको सभापति हुने। 

न यी एजेन्डा बनाउन जान्दछन्, न यिनीसँग सपना र आशा जगाउने कुरा छन्। न यिनलाई ‘टयाक्टिस’ नै थाहा छ। यी प्रगतिवादी कम र परम्परावादी बढी छन्। यिनले कोइरालाहरुबाट राजनीति सिके, कालान्तरमा उनै कोइरालाहरुसँग निहुँ खोजेर आफूलाई स्थापित गर्न खोजे। यी गणेशमान र कृष्णप्रसाद भट्टराईका ‘फलोअर’ त हुन्, तर यिनीसँग गणेशमान र कृष्णप्रसादलाई पछ्याउने खालका एकाध गुण पनि छैनन्। न गणेशमानको जस्तो ‘बोल्डनेस’ छ, न कृष्णप्रसादको जस्तो आदर्श र दर्शन। न गिरिजाप्रसादको जस्तो व्यक्तित्व र राजनीतिक सुझबुझ। 

कतैबाट केही गुण लिएर नआएका यी विचराले नेपाली कांग्रेसलाई पार लगाउलान् भन्ने त मैले कहिल्यै सोचेको थिइनँ। यी ‘सेकेन्ड–म्यान’का लागि ठिक हुन्, ‘फर्स्ट–म्यान’का लागि कहिल्यै ठिक भएनन्। यी जबजब ‘फस्र्ट–म्यान’ भए, तबतब दुर्घटना मात्रै भएका छन् धेरैजसो। यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको दुर्घटना पनि यिनैको कारण भएको हो। जसले ज्योतिषीका भरमा मात्र सात पटक देशको प्रधानमन्त्री हुने सपना देख्छ, ऊ सीधा रुपमा एक ‘लद्दू’ पात्र मात्र हो। बाँकी के भनौँ। देश अब अघिल्ला दुई चलाख पात्रहरु ओली र प्रचण्डको हातमा जाँदैछ, आगामी दिनहरुमा पनि देशको हितमा उनीहरुका चलाखी देखिउन्, टाढाबाट अहिले नै बधाइ तथा शुभकामना!

पाँच वर्षअघि नै यति भनिसकेपछि, अब म फेरि ती पात्रहरुका बारेमा धेरै केलाउन चाहन्नँ। यति चाहिँ भन्छु– देउवाले यसपटक गगन थापा वा अरु कोहीलाई अघि सारेको भए र पुष्पकमल दाहाल वा केपी ओलीलाई ‘इन्गेज’ गर्न अलि बुद्धि पुर्याएको भए मेरा मित्रले देउवालाई ‘महालद्दू’भन्न सक्ने थिएनन्। सायद पाँच वर्षअघि म आफैँले देउवामाथि प्रयोग गरेको शब्द मेरो लेखनको पश्चाताप बन्ने थियो।

दुर्भाग्य, मलाई यो अवसर मिलेन। आज म मेरा मित्रले देउवामाथि प्रयोग गरेको ‘महालद्दू’ शब्द स्विकार्ने स्थितिमा छु। एउटा वाक्य भनौँ– संसारमा बाँकी सबै वस्तुको उचाइ अरुले घटाउँछन् तर मान्छेको उचाइ स्वयं मान्छे आफैँले नै घटाउँदोरहेछ। 

देउवाले यसपटक आफनो उचाइ घटाए। 

एकछिन है त, ठूलो पार्टी हुनुका नाताले प्रधानमन्त्री र राष्ट्रपति छोड्दिनँ भनेर ठूलो गल्ती चाहिँ गरेका होइनन् है देउवाले। प्रजातान्त्रिक मूल्य र अभ्यासका लागि यसको अर्थ छ। खासमा देउवाले शक्तिको खेल हारेका मात्र हुन् आफैँ स्ट्राइकर हुन खोजेर। 

देउवाले सत्ता हासिल गर्न सकेनन्, यसकारण उनले आफनो उचाइ घटाए, म यो भनिरहेको छैन। सत्ता त एउटा भ्रम हो। समयको भ्रम। म यति मात्र भनिरहेको छु– देउवालाई यसपटक त्यो भ्रमबाट मुक्त हुने अवसर थियो। त्यो अवसर गुमाए र उचाइ घटाए। 

अब भन्नुहोला– बाँकी सबैले उचाइ बढाए त? 

कहाँबाट बढाउनु? एक साताअघि ओलीले प्रधानमन्त्री दिए पनि कुनै हालतमा गठबन्धन तोड्दिनँ भन्ने दाहाल, दाहाललाई नेपाली राजनीतिका सबैभन्दा खराब पात्रको रुपमा चित्रण गर्ने ओलीगण, तीनको नाकको डाँडी भाँच्न कुर्लने रवि र अरुका अनुहारहरु हेर्नुस् त। कति डरलाग्दा र घीनलाग्दा प्रवृत्तिहरु छन्!

जतिबेला, जे भनिदिएपनि हुन्छ र त्यसलाई नैतिकताको कसीमा जाँच्ने कोही छैन भनी ठान्ने नेता। र, यसलाई मानिदिने कार्यकर्ता र जनता। 

सोच्नुस् त– तेस्रो हैसियतमा रहेको पार्टीको नेतृत्वको सरकार, भर्खर उम्रेको बीस सिटे पार्टीका नेता उपप्रधान तथा गृहमन्त्री, उही पुरानै विवादित व्यक्ति अर्थमन्त्री। 

हामी प्रजातन्त्र र जनताको कुरा गरिरहेका छौँ। 

के नेपाल सही दिशामा जाँदैछ? 

तत्कालका लागि ‘पावर सेयरिङ’ ठूलो कुरा होला। तर यो खेल खेलाउने रेफ्री अर्कै छन्। अक्सर खेलाडीहरुले मैले खेलेर जितेको हो भन्ठान्छन् तर रेफ्री र कोचहरुले कसलाई, कसरी, किन, खेलाईरहेका छन्, कतिपय अवस्थामा खेलाडीहरुले पत्तै पाउँदैनन्।

नियत सही नभएका रेफ्री र कोच, क्षणिक जित र हारमा गर्व गर्ने खेलाडीहरु भएको नेपालको राजनीतिक खेलमा अन्ततः हार्ने देशले हो। 

समयक्रममा को चलाख र को लद्दू भयो, तर्क गर्न सकिन्छ। तर पल्टाउन खोजिएको डुंगामा जो बसे पनि के र? सत्ता एउटा डुंगा हो, चलाएको छ कसले? किन र कसरी? अर्थ त यहाँनेर छ। आज डुंगामा कोही छ। यसको के अर्थ र? 

फेरि पनि डुंगा पल्टिएको टाढाबाट सुन्नु नपरोस्। 

(सन्जय घिमिरे अमेरिकाको टेक्सासस्थित पत्रकार हुन्) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .