कम्बोडियामा लोकतन्त्र जिउँदो छ भन्ने भ्रम यदि कसैलाई थियो भने गत महिनाको चुनावले त्यसलाई हटाइदिनु पर्ने हो। जहाँको लोकतन्त्र लामो समयदेखि आक्रमणको सिकार भइरहेको थियो।
चुनावी अभियान र मतदान सरकारको कठोर नियन्त्रणमा मञ्चन गरिएको प्रक्रिया थियो। यो चुनावमा मुलुकका ९७ लाख मतदातालाई राजनीतिक विकल्पबाट बञ्चित गरियो। फगत नाटक थियो यो। जसको नतिजा पहिले नै सुनिश्चित थियो।
हुन सेन र उनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले चुनावमा पूर्वनिर्धारित भारी विजय हासिल गरे। उनीहरुले बलियो विपक्षीको सामना समेत गर्नुपरेन। यो चुनाव हुन सेनको हातबाट उनका छोरा हुन मानेतको हातमा सत्ता सुम्पिने माध्यम पनि हो। त्यस्तै, ३८ वर्षदेखि शासन चलाएको तानाशाहीलाई थप बलियो पार्ने उपाय पनि हो।
जुलाई २३ मा मतदान केन्द्रहरु बन्द हुनुअघि नै हुन सेनको सीपीपीले ‘विजय’ हासिल गर्ने निष्कर्ष थियो। भयो पनि त्यस्तै। कम्बोडियाको नेसनल एसेम्ब्लीका १२५ मध्ये १२० सिटमा सीपीपीले जित हात पा¥यो।
दमन व्यापक थियो। विरोधस्वरुप मतपत्र च्यात्ने वा क्षति गर्न हिम्मत गर्ने मतदातालाई जेल हाल्ने वा ठूलो जरिवाना तिराउने चेतावनी दिइएको थियो। हुन सेनको विरुद्धमा बोल्ने स्वतन्त्र सञ्चारमाध्यमको मुख बन्द गरिएको थियो।
कम्बोडियामा लोकतन्त्रको परिभाषा झनझन् सोभियत शैलीको हुँदैछ। त्यही प्रक्रियामा पनि सहभागी हुन खोज्दा म र अन्य दर्जनौँ राजनीतिक विपक्षीहरु निर्वासित हुन बाध्य छौँ।
मेरो पूर्वपार्टी कम्बोडिया नेसलन रेस्क्यु पार्टीले २०१३, २०१५ र २०१७ को चुनावमा ४३ प्रतिशतभन्दा ज्यादा मत प्राप्त गरेको थियो। हुन सेन र उनको सरकारको खुला भ्रष्टाचार र हस्तक्षेपका बाबजुद। अरु जुनसुकै मुलुकमा हाम्रो उपस्थिति र सरकारमा रहेको पार्टीसँगको प्रतिस्पर्धालाई स्वस्थ मानिने थियो। तर, हुन सेनका लागि भने हामी ठूलो खतरा भयौँ। र, हाम्रो देशको कालो इतिहासका अन्य पार्टीहरुजस्तै हाम्रो पार्टीलाई पनि सरकारविरुद्ध ‘विदेशी कू’ को षड्यन्त्र रचेको भन्दै भंग गरियो।
यसपटक क्यान्डललाइट नामक नयाँ विपक्षी पार्टीको नियति पनि त्यस्तै भयो। हुन सेनको सीपीपीलाई हराउने दिशामा देखिएको सो पार्टीलाई मे २०२३ मा अचानक चुनावमा भाग लिनका लागि अयोग्य घोषित गरियो। सो पार्टीलाई उम्मेदवार उठाउनै प्रतिबन्ध लगाइयो। किनभने पार्टीले आफ्नो एक निवेदनमा ‘सक्कली प्रतिको सट्टा फोटोकपी बुझाएको’ थियो। त्यसपछि क्यान्डललाइट पार्टीका सदस्य तथा कार्यकर्ताहरुलाई निसाना साँधियो र जेलमा थुनियो।
यति हुँदाहुँदै पनि शान्तिपूर्ण विरोध प्रकट भएरै छाड्यो। मतगणनामा के देखियो भने ५ लाखभन्दा बढी कम्बोडियाली मतदाताले जरिवाना र गिरफ्तारीको धम्कीका बाबजुद मतपत्र बिगारेका छन्। यो भनेको खसेको प्रत्येक १८ मध्ये एक मत हो। यसका साथै निरन्तर विपक्षी शक्तिहरु जन्मिरहेका छन्। यसले के सुझाउँछ भने सीपीपीको लोकतान्त्रिक विकल्प खोज्ने जनइच्छा दमित हुने छैन, सरकारले जतिसुकै दमन किन नगरोस्।
यसले के पनि देखाउँछ भने अन्तर्राष्ट्रिय समुदायले, खासगरी पश्चिमका लोकतान्त्रिक नेताहरुले हुन सेन प्रशासनले गरेको मनपरीविरुद्ध बोल्नु यतिखेर सबैभन्दा ज्यादा महत्वपूर्ण छ। साथै, हुन सेन र उनका छोरा हुन मानेतविरुद्ध दण्डात्मक कारबाही गर्नु अत्यावश्यक छ।
यसको व्यग्र प्रतीक्षामा छौँ हामी। किनभने सत्ता हस्तान्तरणको एक हिस्साका रुपमा अहिले हामी कम्बोडियाका सम्भ्रान्तहरुले महत्वपूर्ण र प्रभावशाली पदमा कब्जा जमाउँदै गरेको देखिरहेका छौँ। केही समयपछि प्रधानमन्त्रित्व त हुन मानेतलाई हस्तान्तरण हुने नै छ। त्यसबाहेक सो पार्टीका वफादारहरुका अनुभवहीन सन्तानलाई थुप्रै मन्त्रालयहरुको जिम्मा लगाइँदैछ। जसले आफ्ना अभिभावकको विरासतलाई निरन्तरता दिनेछन्।
यो दुखद वास्तविकता देखा पर्न सुरु भइसकेको छ। सिनेटका अध्यक्षका छोरा से साम अल वातावरणमन्त्री नियुक्त भइसकेका छन्। जसले सुरुमा युवा वातावरणवादीहरुसँग मिलेर काम गर्ने इच्छा देखाएका थिए। तर, उनले तुरुन्तै प्रकृति संरक्षणको कुरा उठाउनेहरुलाई समातेर जेलमा थुन्ने सत्तारुढ पार्टीको परम्परालाई निरन्तरता दिए।
त्यस्तै वर्तमान रक्षामन्त्री ती बानका छोरा ती सेइहा नयाँ रक्षामन्त्री र गृहमन्त्रीका छोरा सा सोखाको गृहमन्त्रीमा नियुक्ति पनि अनुचित छ। खासगरी हुन मानेत र ती सेइहासँग मन्त्री पदका लागि चाहिने अनुभव छैन। यसले यसले चिनियाँ माफियाहरुको बढ्दो शक्ति र मानव तस्करीमा तिनको भूमिकालाई रोक्न उनीहरु सक्षम हुने छैनन् चिन्ता बढाएको छ।
यस्ता षड्यन्त्रका खेल त्यही समय चलिरहेको छ, जुन समय धेरै युवाहरु अवसरको खोजीमा विदेशिइरहेका छन् वा समाजका सबैभन्दा कमजोरहरुलाई जोगाउन खोज्दा जेल पर्ने जोखिम मोलिरहेका छन्।
कम्बोडियाको मामिलामा अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक र बाध्यकारी जिम्मेवारी छ। जुन १९९३ मा पहिलो पटक निष्पक्ष र स्वतन्त्र निर्वाचन हुँदा गरिएको प्रतिबद्धतामा अन्तर्राष्ट्रिय समुदायका थुप्रै सदस्यहरुले हस्ताक्षर गरेका छन्। सो चुनावले कम्बोडियामा लोकतन्त्रलाई सुदृढ पार्न खोजेको थियो। कम्बोडियामा पेरिस पिस एकड्र्सअन्तर्गत मानव अधिकारको रक्षा गर्नु र सीपीपीको निरन्तरको मानवअधिकार हननको विरोध गर्नु ती मुलुकहरुको जिम्मेवारी हो।
हुन मानेत र उनीसँगै सत्ता हातमा लिनेहरुलाई ती मुलुकहरुले स्पष्ट पार्नुपर्छ– अन्तर्राष्ट्रिय समुदाय कम्बोडियामा सकारात्मक लोकतान्त्रिक परिवर्तनमा जोड दिन्छ। जसको सुरुवात सबै राजनीतिक कैदीहरुको रिहाइ र आफ्नो देश फर्किन चाहने सबै निर्वासितहरुलाई आममाफी दिएर गर्नुपर्छ।
नयाँ नेतृत्वले तिनका बाबुआमाले जसरी मुलुकलाई कदापि विभाजित गर्न खोज्नु हुँदैन। वा विपक्षीको मुख थुन्ने कोसिस गर्नु हुँदैन। र, हुन मानेतको हकमा उनी वैध शासक हुनुपर्छ भनेर माग गर्न जरुरी छ।
कम्बोडियाली जनता लोकतन्त्रको भोका छन्। गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको भोका छन्। स्वतन्त्रता र दिनमा तीन छाक खान पाउने सुनिश्चितता उनीहरु चाहन्छन्। तिनको मागलाई सुन्नु, परिवर्तनको माग गर्नु र आवश्यक परे देशको लोकतान्त्रिक भविष्य ध्वस्त पार्न खोज्ने सीपीपीका नेताहरुको भिसा तथा सम्पत्तिमा प्रतिबन्ध लगाउनु अन्तर्राष्ट्रिय समुदायको दायित्व हो।
(अल जजिराबाट। मु सोचुआ पूर्वसांसद तथा कम्बोडिय नेसनल रेस्क्यु पार्टीकी पूर्वउपाध्यक्ष हुन्)
Shares
प्रतिक्रिया