ad ad

विचार


रमेश घिमिरेको अनुभव : ‘भारत माता की जय’ भन्न नमानेपछि आरएसएसले मलाई बोलाउन छोड्यो

‘आरएसएसले नेपाललाई सार्वभौम राष्ट्र नै मान्दैन’
रमेश घिमिरेको अनुभव : ‘भारत माता की जय’ भन्न नमानेपछि आरएसएसले मलाई बोलाउन छोड्यो

आरएसएसको मुखपत्र ‘पाञ्चजन्य’ को नेपाल प्रतिधिधि भएर काम गरेका रमेश घिमिरेले भारतमै गएर आरएसएसको एकमहिने प्रशिक्षण लिएका छन्


जेवी पुन मगर
साउन ३१, २०८० बुधबार ९:१८, काठमाडौँ

भारतीय जनता पार्टीको धार्मिक संस्था राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) र त्यसले नेपालमा फैलाउन खोजिरहेको हिन्दूत्व राजनीतिबारे नेपालखबरमा गत साता दुईवटा आलेख प्रकाशित भए– पत्रकार युवराज घिमिरे र कनकमणि दीक्षितका।

ती आलेखले भाजपाले नेपालमा आरएसएस मार्फत् बढाइरहेको हिन्दूत्व राजनीतिबारे एउटा बहस सिर्जना गर्यो। ७० वर्षअघि नै नेपाल आयो आरएसएस, जसले मधेसी र पहाडे हिन्दूबीच फाटो ल्याइदियो शीर्षकको घिमिरेको आलेखमा एउटा कमेन्ट आयो। रमेश घिमिरेको फेसबुक पेजबाट आएको कमेन्टमा युवराज घिमिरेले दिएको तथ्यमाथि नै प्रश्न उठाइएको थियो।

लेखिएको थियो– ‘आरएसएसको पहिलो नेपाल प्रचारक लक्ष्मणशास्त्री भिडे हुन्। उनले सन् १९६० को दशकमा मातृभूमि सेवक संघ गठन गरेका थिए। अहिले पनि यो संगठन ललितपुरमा सञ्चालित छ। कसरी यसको सट्टामा आरएसएसले हिन्दू स्वयंसेवक संघ नेपाल ल्यायो, त्यसको लामो कथा छ।’

युवराज घिमिरेले ओमप्रकाश गर्गलाई आरएसएसको पहिलो प्रचारकको रुपमा चिनाएपछि रमेश घिमिरेले यस्तो टिप्पणी लेखेका थिए। उनको टिप्पणीले नेपालमा आरएसएसको सक्रियताबारे थप जान्न मलाई प्रेरित गर्यो। उनको बायो चहारेँ। रमेशले आफूलाई सञ्चारकर्मीको रुपमा चिनाएका रहेछन्। म्यासेन्जरमार्फत सम्पर्क गरेँ। उनले उठाएको आरएसएस सम्बन्धी तथ्यमाथि थप कुरा गर्न सकिन्छ कि भनेर सोधेँ। त्यसपछि उनले मलाई नागरिकमा छापिएको ‘आरएसएस र नेपाल–भारत सम्बन्ध’ र कान्तिपुरमा प्रकाशित ‘मल्कानीले नेपाल र नेपालीसँग माफी माग्नुपर्छ’ शीर्षकको लेख पठाइदिए।

त्यसको ३ दिनपछि हाँडीगाउँस्थित रमेश घिमिरेसको घरमा पुगेर मैले नेपालमा आरएसएसको प्रवेश र त्यसले हिन्दूत्व राजनीति फैलाउन गरिरहेको क्रियाकलापमाथि अढाई घण्टा लामो छलफल गरेँ। यो आलेख त्यसैको सम्पादित स्वरुप हो। आरएसएसको मुखपत्र ‘पाञ्चजन्य’ को नेपाल प्रतिधिधि भएर वर्षौँ काम गरेका र भारतमै गएर आरएसएसको ओटीसी (एकमहिने प्रशिक्षण) समेत लिएका रमेशको यो अनुभवले आरएसएसको दार्शनिक पक्ष सहित नेपालमा त्यो संस्थाले कसरी हाँगाबिँगा फैलाइरहेको छ भन्ने बुझाउन सहयोग गर्नेछ।

रमेश घिमिरेको अनुभव :

नेपालखबरमा गतसाता राष्ट्रिय स्वंय सेवक संघ (आरएसएस) र हिन्दूत्व राजनीतिमाथि पत्रकारद्वय कनकमणि दीक्षित र युवराज घिमिरेको विचार पढेँ। कनक दीक्षितको आलेखले नेपालमा भारतीय हस्तक्षेपबारे धेरै कुरा गरेको हुनाले त्यसमा मेरो खास टिप्पणी छैन। तर युवराज घिमिरेको आलेखमा उल्लिखित आरएसएस सम्बन्धी तथ्यमा केही कमी देखिएको हुनाले मैले तत्काल वेबसाइटमै टिप्पणी गरेको हुँ। कुनै पनि विषयमा बोल्दा/लेख्दा त्यसको आधिकारिकताले महत्वपूर्ण अर्थ राख्ने हुनाले त्यसमा मैले सहयोग गर्न खोजेको हुँ। यति भूमिका बाँधिसकेपछि अब म नेपालमा आरएसएसको प्रवेश, त्यसमा मेरो संलग्नता र आरएसएसले गरेको क्रियाकलापमाथि विस्तारमा चर्चा गर्न चाहन्छु। 

मैले अक्षरारम्भदेखि एमएसम्मको शिक्षा बनारसबाट लिएँ। गोरखपुर विश्वविद्यालयबाट स्नातक र काशी विद्यापीठबाट समाजशास्त्रमा स्नातकोत्तर डिग्री लिएको हुँ। म अहिले ६७ वर्ष पुगेँ। अध्ययनकै दौरानमा म आरएसएस (राष्ट्रिय स्वंयसेवक संघ) को सम्पर्कमा आएको हुनाले शैक्षिक डिग्री पनि यहाँ जोड्न जरुरी ठानेँ। त्यतिबेला भारतका निम्ति नेपालका राजदूत वेदानन्द झा (१ अगस्ट १९७७ मा नियुक्त) हुनुहुन्थ्यो। वहाँको बनारस भ्रमण भयो। एमए गरिरहेको यौवनवय म पनि कार्यक्रममा सहभागी थिएँ। राजदूतको साथमा हिन्दुस्तान समाचारका संस्थापक बालेश्वर अग्रवाल पनि सँगसँगै हुनुहुन्थ्यो। अग्रवालसँग मेरो परिचय भयो। वहाँले आरएसएसका स्थानीय प्रचारकसँग मेरो चिनापर्ची गराइदिनुभयो। मेरो आरएसएससँगको सम्पर्क त्यहाँबाट भएको हो। 

त्यतिबेला बनारसमा आरएसएसको कार्यालय गोदौलिया घटाटे राम मन्दिर भन्ने ठाउँमा थियो। आरएसएसको बनारस महानगर प्रचारक श्री स्वांत रंजन हुनुहुन्थ्यो। मलाई आरएसएसमा प्रवेश गराउने वहाँ अहिले आरएसएसको अखिल भारत बौद्धिक प्रमुख हुनुहुन्छ। वहाँसँगको परिचयपछि हाम्रो भेट निरन्तर भइरहयो। म शाखामा पनि गएँ। उहाँ पनि मदेखि प्रभावित हुनुभयो। हिन्दू राष्ट्रका निम्ति संघर्ष, हिन्दू धर्मको संरक्षण र विश्वका हिन्दूहरूलाई एक गराउने आरएसएसको नीतिले त्यतिबेलाको युवा जोसमा मलाई निकै आकर्षित गर्यो। आफ्नो धर्म र संस्कृति जोगाउनुपर्छ भन्नेमा कसले पो असहमति जनाउला र? म पनि आरएसएसमा संलग्न भएँ। 

मलाई एक महिने प्रशिक्षण (ओटीसी) मा पठाउने भनियो। ओटीसीमा जानुअघि प्रशिक्षार्थीलाई एक हप्ते प्रशिक्षण (आईटीसी) मा लगियो। यो ओटीसीमा जानुअघि गरिने तयारी कक्षा जस्तो हुन्छ। ओटीसीमा जानुअगाडि शपथ दिलाइन्छ। आफू हिन्दू भएको हुनाले शपथमा रहेको ‘म हिन्दू राष्ट्रका लागि मर्न तयार छु’ भन्ने शब्दसँग कुनै आपत्ति हुने कुरा भएन। त्यतिबेला नेपाल हिन्दू राष्ट्र नै थियो। मैले शपथ वाचन गर्दै गएँ। अन्तिममा ‘भारत माता कि जय’ भन्ने शब्द आयो। अचानक मेरो मुखबाट निस्कियो– ‘मै सार्वभौमसत्ता सम्पन्न हिन्दू राष्ट्र नेपालका नागरिक होने के नाते भारतमाता की जय नही कह सकता।’

आरएसएसमा गइसकेपछि शपथ नमान्ने कुरा थिएन। मानियो।

तर शपथ कार्यक्रम सकिएपछि मलाई ‘तपाईंले यस्तो भन्न हुन्थेन’ भनियो। आरएसएसमा सवालजवाफ हुँदैन। बोल्ने कुरै भएन। प्रशिक्षणमा बसेँ। आरएसएसको प्रशिक्षण एक खालको सैन्य तालिमजस्तै हो। बिहान ४ बजे उठ्नुपर्छ। त्यहाँ शारिरीक, मानसिक र आध्यात्मिक प्रशिक्षण दिइन्छ। एकाबिहानै लठ्ठी चलाउन सिकाइन्छ। मैले जुडो कराते त्यहीँ सिकेको हुँ। म तालिममा छँदा आरएसएसका प्रमुख बालासाहेब देवरस हुनुहुन्थ्यो। त्यहाँ वहाँको ‘बौद्धिक’ प्रवचन थियो। वहाँसँग प्रश्नोत्तरको कार्यक्रम पनि राखिएको थियो। मैले चिर्कटोमा लेखेर ‘नेपालमा आरएसएस छ कि छैन?’ भनी सोधेँ।

वहाँले नेपालमा शाखा नबनिसकेको तर आरएसएसको सम्पर्क व्यक्तिको रुपमा डा. योगेन्द्र झाले काम गरिरहेको जवाफ दिनुभयो। वहाँ राजा महेन्द्रको पालादेखि नै प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो। राजा महेन्द्र र पछि राजा वीरेन्द्रलाई पनि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट गराउनमा वहाँको महत्वपूर्ण भूमिको थियो भनिन्छ। डा. योगेन्द्र झाका नाति प्रशान्त झा अहिले भारतमै बसेर पत्रकारिता गरिरहेका छन्। 

‘नेपाल माता की जय’
एमए सकिएपछि स्वदेश फर्किएँ। दिमागमा योगेन्द्र झा भन्ने को रहेछन् भन्ने बसिरहेको थियो। खोज्दै वहाँको थापाथली हाइटस्थित घरमा गएँ। त्यहाँदेखि वहाँसँग मेरो नियमित भेटघाट सुरु भयो। वहाँले फेरि मलाई केही नामहरु दिनुभयो। त्यसपछि वहाँहरुको साप्ताहिक भेटघाटमा म पनि सरिक हुन थालेँ। त्यतिबेला निस्कने नेपालको पहिलो हिन्दी दैनिक, जुन अझै पनि प्रकाशित हुन्छ, (अहिले उमाकान्तका भतिज विजयकुमार दासले सञ्चालन गरिरहेका छन्) ‘नेपाली हिन्दी दैनिक’ का सम्पादक उमाकान्त दास हुनुहुन्थ्यो। कहिले वहाँको कार्यालयमा साप्ताहिक भेला चल्थ्यो भने कहिले विभिन्न मारवाडी व्यवसायहीरुको घरमा त्यस्तो जमघट हुन्थ्यो। 

मेरो दाससँग भेट हुँदा वहाँ ७० वर्ष पुगिसक्नुभएको थियो। त्यो भेलामा तुलाराम पन्त पनि आउनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयमा भूगोल प्राध्यापन गर्ने वहाँ भारतबाट आरएसएसको तीनवर्षे प्रशिक्षण लिएको र भारतमा समेत काम गरिसकेको प्रचारक हुनुहुन्थ्यो। सानेपाको समाजसेवी गणेश केसी पनि आउनुहुन्थ्यो। पाटन जमघटमा वहासँग बेसी भेटघाट हुन्थ्यो। त्यहाँ डा. बिहारीलाल श्रेष्ठ भेटिनु भो। वहाँ अर्थोपेडिक सर्जन हुनुहुन्थ्यो। वहाँले बर्माबाट एमबीबीएस गरेर फर्कनु भएको थियो। वहाँको दाइ बिन्दुलाल श्रेष्ठ पिसकोरमा काम गर्नुहुन्थ्यो। बिहारीलालजी पनि बर्मामा आरएसएसको प्रचारकबाट दीक्षित भएको स्वंयसेवक हुनुहुँदोरहेछ। 

बिहारीलालजीको अध्यक्षतामा मातृभूमि सेवक संघ पुनर्गठन भयो। त्यसको संस्थापक सदस्यको रुपमा म पनि रहेँ। एकचोटि भारतबाट बर्मामा गएका प्रचारक रामप्रकाश धीरले मलाई के भनेका थिए भने ‘बिहारीलाललाई बर्मामा एमबीबीएस अध्ययनमा हामीले पनि सहयोग गरेका थियौं।’

बिहारीलालको विचार के थियो भने ‘विश्वका हिन्दूलाई जोड्ने आरएसएसको दर्शन राम्रो छ। तर हामीले यसलाई नेपालकै सन्दर्भमा अभ्यास गर्नुपर्दछ।’

बिहारीलालले त्यही अनुसार पछिसम्म मातृभूमि सेवक संघलाई चलाउनुभयो। वहाँले नै हो हिन्दू विद्यापीठ नेपाल खोल्नुभएको पनि। 

यही अन्तरालमा लक्ष्मणशास्त्री भिडेको पुनः नेपाल आगमन भयो। सन् १९६० को दशकमा नेपाल आई मातृभूमि सेवक संघ गठन गर्ने वहाँलाई नेपालमा आरएसएसको पहिलो प्रचारक मान्न सकिन्छ। पछिल्लोचोटि नेपाल आउँदा वहाँ फ्रेन्ड्स अफ इन्डिया सोसाइटी इन्टरनेसनलको प्रमुख हुनुहुन्थ्यो। त्यतिबेलासम्म मातृभूमि सेवक संघमा भारतमा गाइने आरएसएसकै प्रार्थना गान गाइन्थ्यो– ‘नमस्ते सदा वत्सले मातृभूमे’। जुन प्रार्थनाको बारेमा मैले माथि पनि बताइसकेँ, जहाँ अन्तिममा ‘भारत माता कि जय!’ भन्न लगाइन्छ। मातृभूमि सेवक संघमा यस्तो प्रार्थनागान गरिन्छ भन्ने कुरा राजा महेन्द्रकहाँ पुगेपछि यो संस्थामाथि प्रतिबन्ध पनि लाग्यो। त्यसपछि बैठकमा नेपालको निम्ति देश सुहाँउदो प्रार्थना चाहिन्छ भन्ने कुरा उठ्यो। त्यसपछि भिडेजीले नै नेपालका निम्ति छुट्टै प्रार्थना बनाइदिनु भयो– देवतात्मा नगाधीश ...। यो प्रार्थनामा भारत माता कि जय भन्नु पर्दैन। 

यसैबीच (२०४६ सालपछि) इन्चार्ज भई आरएसएस प्रचारक ओमप्रकाश गर्ग नेपाल आउनु भयो। यतिञ्जेलसम्म भारतभन्दा बाहिर विभिन्न नामले आरएसएसका काम भैरहेका थिए। त्यसमा एकरुपता ल्याउनका लागि ‘हिन्दू स्वंयसेवक संघ’ को अवधारणा ल्याइयो। भारतबाहिर यो संस्थामार्फत मात्र आरएसएस बिस्तार गर्ने भनियो। त्यही नीति लागू गर्न गर्गजी नेपाल आउनुभएको थियो। अब त प्रार्थना पनि छुट्टै बनिसकेको अवस्था थियो। वहाँले मातृभूमि सेवक संघलाई पनि आरएसएसको नेपाल शाखाको रुपमा सँगै मिलेर जाऔँ भन्ने प्रस्ताव राख्नु भयो। 

बम्बई भेलाले आरएसएसलाई विश्वभर फैलाउने काम फ्रेन्ड्स अफ इन्डिया सोसाइटी इन्टरनेसनलबाट ‘हिन्दू स्वंयसेवक संघ’ लाई दिने निर्णय गरेको थियो। गर्गजीको प्रस्ताव बिहारीलालले मान्नु भएन। वहाँ आरएसएसको छाताभित्र आउन चाहनुभएन। यसो भएपछि गर्ग र बिहारीलालबीच कुरा मिलेन। राष्ट्रिय हितको सवालमा आरएसएससँग मेरो कुरा नमिलेझैँ वहाँको पनि मिलेन होला। किनकि बिहारीलाल पनि नेपाली हो। स्वाभाविक रुपमै तपाईंले आफ्नो देशलाई प्राथमिकतामा राख्नुहुन्छ। हामीले त्यतिबेलाको वहाँको असहमतिलाई त्यसरी बुझ्नुपर्ने हुन्छ। त्यसैले बिहारीलालको निर्णयलाई हामीले सम्मान गर्नुपर्दछ। 

वहाँले नमानेपछि गर्ग देशभर घुमेर आरएसएसको संगठन बिस्तार र सम्बन्ध सुदृढ बनाउनतिर लाग्नु भो, खासगरी तराई भेगमा। आरएसएस हेडक्वार्टरको निर्देशन बमोजिम नेपाल च्याप्टरको रुपमा हिन्दू स्वंयसेवक संघ दर्ता गर्नुपर्ने भयो। मैले इन्डियाबाट आरएसएसको प्रशिक्षण (ओटीसी) लिएको हुनाले गर्गले मलाई विश्वास गर्नुभयो। हामीले २०४८ सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा यो संस्था दर्ता गर्यौं। संस्था दर्ता गर्दा विधानमा हस्ताक्षर गर्नेमा उमाकान्त दास, तुलाराम पन्त, म रमेश घिमिरे, विजयकुमार दास, गणेश केसी र मनवीरसिंह पन्थी थियौं। पन्थी पत्रकार वन्दना राणाको बुबा हुन्। हामीले धेरै वर्ष संघको कार्यालय पन्थीको कुपण्डोलस्थित घरमा राख्यौं। दर्ता गरेपछि संघको काम अगाडि बढ्यो। आरएसएसको शाखा (प्रशिक्षण) लाग्न थाल्यो। काठमाडौँमा सिफल र डिल्लीबजारमा लाग्थ्यो शाखा। एक घण्टाको हुन्थ्यो। शारीरिक र बौद्धिक दुवै हुन्थ्यो। दसपन्ध्र जना भेला हुन्थ्यौं। मैले सुनेको छु, अहिले काठमाडौँमा धेरै ठाउँमा लाग्छन्, यस्ता शाखा। 

त्यसैबीचमा आरएसएसको शाखाको रुपमा डिल्लीबजारमा पशुपति शिक्षा मन्दिर खुल्यो। त्यसको पनि म संस्थापक हुँ। विश्व हिन्दू परिषद् नेपाल पनि आरएसएसकै सहयोगी संस्था हो। एकल विद्यालय र वनवासी कल्याण आश्रम पनि त्यस्तै संस्था हुन्। भारतमा आरएसएसको विद्यार्थी भातृसंस्था अखिल भारतीय विद्यार्थी परिषदझैँ यहाँ पनि प्राज्ञिक विद्यार्थी परिषद् खोलियो। भारतमा भारतीय जनता पार्टी (भाजपा) आरएसएसको राजनीतिक हाँगा हो। विश्व हिन्दू परिषद धार्मिक हाँगा हो। त्यहाँ आरएसएसको विभिन्न हाँगाबिँगा भएझैँ यहाँ पनि उनीहरुले विभिन्न नेटवर्क खोलेका छन्। 

प्रचारक र स्वंयसेवक
जसले आफ्नो जीवन नै संघलाई अर्पण गरेको हुन्छ, त्यसलाई प्रचारक भनिन्छ। प्रचारकले विवाह गर्दैनन्। त्यस्ता प्रचारकहरुले नै संघको संचालन गर्दछन्। तिनको पनि पदीय दायित्वका आधारमा वर्गीकरण गरिएको हुन्छ। संघका प्रमुखलाई संरसंघचालक भनिन्छ। कोही प्रदेश प्रमुख हुन्छन्। कोही दुइटा प्रदेशको प्रमुख हुन्छन्। मलाई लाग्छ, उनीहरुको हिसाबले आरएसएसले नेपाललाई पनि एउटा प्रदेश मानेको होला। अहिलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रचारक नै हुन्। त्यसअघिका भाजपा प्रधानमन्त्री अटलबिहारी बाजपेयी र गृहमन्त्री लालकृष्ण आडवाणी पनि प्रचारक नै हुनुहुन्थ्यो। आरएससमा प्रचारक नै आफैँमा महत्वपूर्ण पद मानिन्छ। 

तुलाराम पन्त आरएसएसको तीन वर्षे प्रशिक्षण लिई प्रचारक भई निस्कनुभएको थियो। वहाँ भारतमै प्रचारकको रुपमा खटिनुभएको थियो। नेपालबाट वहाँ नै पहिलो प्रचारक हुनुपर्दछ। त्यसपछि एक वर्षे प्रशिक्षण लिनेमा डा. योगेन्द्र झा र पूर्वप्रधानमन्त्री तुलसी गिरि हुनुभयो। त्यसपछि म पर्छु होला। तर म प्रचारक नभई स्वंयसेवकको रुपमा सक्रिय रहेँ। मेरो जानकारीमा नेपालमा अहिले दुई सय जति प्रचारकहरु तयार भैसकेका छन्। नेपालमा आरएसएस चलाउने प्रचारकमा सबै भारतीय नागरिक नियुक्त गरिन्छ। आरएसएस नेतृत्वमा अहिले पनि नेपाली नागरिकलाई विश्वास गरिँदैन। अहिले आरएसएस नेपालको शाखा हिन्दू स्वंयसेवक संघ, नेपालको राष्ट्रिय प्रचारक प्रमुख भारतीय नागरिक वेदप्रकाश हुन्। उनी नेपाली मूलका आसामबासी हुन्। त्यसैगरी सह–राष्ट्रिय प्रचारक रेवती कुमार हुन् भने दीपक अधिकारी प्राज्ञिक विद्यार्थी परिषदको संगठनमन्त्री हुन। ती दुवै भारतीय नागरिक हुन्।

प्रचारकपछि महत्वपूर्ण रोल स्वंयसेवकको हुन्छ। आरएसएसको सिद्धान्त र दर्शनमा विश्वास गरी निश्चित प्रक्रिया पूरा गरेपछि स्वंयसेवक हुन पाइन्छ। सन् १९२५ मा केशवराव बलिरामले नागपुरमा स्थापना गरेको र विश्वभर ५० हजारभन्दा बढी शाखा विस्तार गरिसकेको आरएसएसलाई विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठन मानिन्छ। 

भारतका विभिन्न ठाउँमा हरेक वर्ष आरएसएसको उच्चतहका नेतृत्वको राष्ट्रिय सम्मेलन हुन्छ। लामो समयसम्म त्यो सभामा नेपालको प्रतिनीधित्व गदै डा. झाको सहभागिता रह्यो। यो बाहेक विश्वभरका स्वंयसेवकहरुको भेला पनि लाग्छ, विश्व संघ शिविर। त्यसमा एकपालि म पनि सहभागी भएको छु डा. झासँग। साथमा पन्त र कृष्णगोपाल टन्डन पनि गएकोझैँ लाग्छ। डा. झा नेपाल–भारत मैत्री संघको पनि अध्यक्ष हुनुहुन्थ्यो। वहाँले सन् २००१ मा मलाई सचिव बनाउनुभयो। वहाँ लामो समयसम्म त्यस संस्थाको अध्यक्ष रहनु भयो।

आरएसएससँग मेरो असहमति
अब म आरएसएसँग मेरो कहाँबाट असहमति हुन थाल्यो भन्ने बताउँछु। माथि नै मैले भनेँ ‘भारत माता की जय’ नारामा भारतभूमिमै आपत्ति जनाएँ। नेपाल फर्किएपछि आरएसएसकै कार्यक्रममा भनिदिएँ, ‘नेपाल माता की जय भनौँ न, नेपालभूमिमा भारतमाता की जय किन भन्नुहुन्छ?’

मलाई चित्त नबुझ्ने अन्य कुराहरु पनि थिए। आरएसएसको कार्यक्रममा हाम्रा हैन भारत महाराष्ट्रका महाराज छत्रपति शिवाजीको जयजयकार गर्न लगाइन्छ। प्रशिक्षणहरुमा तिनकै फोटो राखिन्छ। तिनकै जीवनगाथा पढाइन्छ। हाम्रा महापुरुषका गौरवगाथा र इतिहासबारे केही पढाइँदैन। 

मैले सार्वजनिक कार्यक्रममै यसमाथि कुरा उठाएँ। ए बाबा यो नेपालभूमि हो। यहाँ पृथ्वीनारायण शाह छन्। यहाँ आदिकवि भानुभक्त छन्। हाम्रा अरु पनि महापुरुषहरु हुनुहुन्छ। तिनको जयन्ती मनाऔँ न भन्दै आएँ। जब मैले संगठनभित्र यसरी कुरा उठाउन थालेँ, उनीहरु मबाट टाढाटाढा हुँदै गए। मलाई पनि संगठनप्रति अरुचि बढ्दै गयो। म पनि किनारा लागेँ। किनभने मेरो दृष्टिकोणमा यो सब नेपालको हितमा भैरहेको छैन। यो विसं २०५२–५३ सालतिरको कुरा हो। 

त्यतिबेला आरएसएसको जनाधार काठमाडौँका मारवाडी समुदायमा थियो भने अहिले आरएसएसको शक्ति तराईमा बढेको छ। त्यतिबेला उनीहरुले मधेसी र पहाडेबीच गरेको भेदभाव पनि प्रष्ट देखिन थालेको थियो। तराईका कार्यक्रम र पहाडका कार्यक्रममा दिने खानाको स्तर पनि छुट्याइन्थ्यो। पहाडमा हेय दृष्टिले दिइन्थ्यो। अझै पनि त्यो व्यवहार बदलिएको छैन। यस्तो विभेद देखेर पनि आरएसएसप्रति वितृष्णा जागेर आयो। अहिले पनि भारतको उत्तरप्रदेश या बिहारबाट कुनै क्षेत्रीय प्रचारक आए भने यहाँ ठूलो तयारी चल्छ। यहाँका सारा स्वयंसेवकहरु लाग्छन्। तर नेपालको कुनै प्रचारक भारत गए भने त्यो अनुसार उसले इज्जत पाउँदैन। भारतमा त्यो अनुसार आफ्नो कुरा राख्न तिनलाई मञ्च प्रदान गरिँदैन।

पछिल्लो चोटि आरएसएसको गौरीघाटमा रहेको नेपाली हेडक्वार्टरमा मलाई पनि बोलाइएको थियो। त्यहाँ भारतबाट विश्व हिन्दू परिषदको ठूलो पदाधिकारी आएका रहेछन्। उनकै सम्मानमा निकै तामझाम गरिँदै थियो। मेरो नजिकै नेपालका एकजना प्रचारक हुनुहुन्थ्यो। मैले वहाँलाई सोधेँ– ‘के तपाईं भारत जाँदा यतिको सम्मान पाउनुहुन्छ? सम्बन्ध त बराबरीको पो हुनुपर्दछ। यो त दासप्रथा हो।’

मैले त्यस्तो भनेपछि त्यसयता मलाई बोलाउन छाडियो। नेपालको आरएसएसको म संस्थापक हुँ। म दर्शक मात्र भएर आउँदिनँ। यदि मेरो बौद्धिक स्थान हुन्छ भने मात्र म आउँछु भनेको छु। मेरो राष्ट्रवादी अडान उनीहरुलाई मन परेको छैन। त्यसयता बोलाएका छैनन्। 

म लामो कालखण्डसम्म आरएसएसको मुखपत्र ‘पाञ्चजन्य’ को नेपाल संवाददाता रहेँ। १८ पुस २०५७ मा मैले आरएसएसको नीतिमाथि टिप्पणी सहितको एउटा लेख कान्तिपुरमा लेखेँ– ‘मल्कानीले नेपाल र नेपाली समक्ष माफी माग्नुपर्छ।’ त्यो लेख मैले आरएसएसको आधिकारिक प्रकाशनबाट निकालेको तथ्यलाई आधार बनाइ लेखेको थिएँ। त्यसको केही समयपछि उनीहरुले मलाई ‘पाञ्चजन्य’ बाट मुक्त गरिदिए, तत्कालीन आरएसएस नेपालका इन्चार्ज प्रचारक सुवेदार सिंहको सिफारिसमा। सम्पादक तरुण विजय (राज्यसभाको सदस्य पनि भए) ले मलाई स्पष्ट रुपमा भन्नुभयो– ‘यो संगठनको पत्रिका हो। संगठनले भनेपछि मैले पनि तपाईंलाई संरक्षण गर्न असमर्थ छु।’

वहाँले नै मलाई ‘पाञ्चजन्य’ मा संवाददातामा नियुक्त गर्नुभएको थियो। मैले आफ्नो मुलुकका निम्ति केही बोल्दा उनीहरुका लागि त्यो सुपाच्य भएन। 

मैले ‘भारत माता की जय’ भन्दिनँ भन्नाको तात्पर्य के थियो भने तपाईंले शपथ लिइसकेपछि त्यसलाई पूरा गर्नुपर्छ। त्यो कसरी सम्भव हुन्थ्यो? किनकि राष्ट्र सर्वोपरी हुन्छ। राष्ट्रभन्दा ठूलो केही पनि हुँदैन। आरएसएसको दृष्टिकोणमा म विद्रोही हुँला। तर जहाँ राष्ट्र आउँछ, त्यहाँ प्राथमिकतामा राष्ट्र पर्छ। सुन्छु, मैले राखेको ‘नेपाल माता की जय’ राख्ने अडान अहिले लागू गरेर ‘नेपाल माता की जय’ भनिन्छ रे।

घृणा र सहिष्णुता
भारतमा पहिल्यैदेखि आरएसएसले निरन्तर एउटा के भाव पैदा गराइदिएको छ भने यदि तिमीहरु सुरक्षित रहन चाहन्छौ भने मेरो छत्रछायामा आऊ। भारतमा दंगा भैरहन्छ। धर्मको आधारमा पाकिस्तान बन्यो। घृणाको आधारमा राम जन्मभूमि बन्दैछ, बाबरी मस्जिद ध्वस्त पारेर। बनारसमा त्यस्तै भैरहेको छ। सयौँ वर्ष मिलेर बसेको समाजमा विग्रह ल्याइदिएको छ। घृणाको आगोमा भारतमा आरएसएस जस्ता संस्थाहरु बलिया भए। त्यसैले त्यहाँका मान्छेमा असुरक्षाको भावना प्रबल छ। पाकिस्तानमा पनि त्यस्तै छ। तर हाम्रो समाज त्यस्तो होइन। हाम्रोमा सह–अस्तित्व र सहिष्णुता हुन्छ। हाम्रो समाज सबै जातजाति र धर्मावलम्बी मिलेर बसेको समाज हो।

मेरो बुझाईमा राजा महेन्द्रको पालामा रौतहटमा भएजस्तो घटना अझैसम्म भएको छैन। गाई मारेको भन्दै उठेको विवादले धार्मिक दंगाको स्वरुप लिन खोजे पनि त्यो घटना नचर्कंदै नियन्त्रण गरिएको थियो। हाम्रो समाजको विशेषता हेर्नो्स्, हाम्रो देश हिन्दू राष्ट्र हुँदा पनि दुइटा मस्जिद त राजदरबारकै अगाडि छन्। अहिले पनि मुसलमानहरुसँग कुरा गर्नोस्, तिनले हिन्दू राष्ट्रमै बढी सुरक्षित महसुस गर्दथे। हिन्दू राष्ट्र भएकै बेला यूनाइटेड मिसन नेपालले निर्धक्क काम गरिरहेकै थियो। नामको मात्र हिन्दू राष्ट्र थियो। राजा एउटा धार्मिक मान्यता पनि हो। हाम्रो हिन्दू राष्ट्र अद्वितीय छ। आफ्नोपन छ। हाम्रोमा राजा बन्न हिन्दू नै हुनुपर्ने मान्यता छ। 

आरएसएको सिद्धान्त भनेको उनीहरुको आफ्नो खालको हिन्दू राष्ट्र हो। हामीले अभ्यास गरेजस्तो हिन्दू राष्ट्र होइन। हाम्रो हिन्दू राष्ट्रमा राजा हुन्छ, उनीहरुकोमा हुँदैन। राजाबिनाको पनि हिन्दू राष्ट्र हुन्छ? हिन्दू र सनातनी भन्ने बित्तिकै एकरुपता हुँदैन। हाम्रो तिहार हो, दीपावली होइन। हाम्रो भाइटीका हो, भैया दूज होइन।हाम्रो छुट्टै भाइटीका छ। हाम्रो फागु हो, होली होइन। जनै पूर्णे हो, रक्षाबन्धन होइन।

हाम्रो समाजमा रहेको यस्तो अद्वितीय धार्मिक सहिष्णुता र सद्भावना नखल्बलाइकन नेपालमा हिन्दू स्वयंसेवक संघजस्ता संस्थाको रोटी गल्दैन। त्यो गलाउनका लागि समाजमा अतिवादी सोच फैलाइँदैछ। अतिवादी सोच नफैलाइ तिनको रोटी पाक्दैन। जनकपुरमा के भैरहेको छ, देख्नुभएकै छ। मुस्लिमहरुले पहिला आफ्ना सांस्कृतिक र धार्मिक चाडपर्व मज्जाले मनाइरहेका थिए। अहिले तिनको चाडपर्वमाथि हस्तक्षेप गर्ने प्रयत्न हुँदैछ। यो गर्न पाइन्छ, यो गर्न पाइँदैन भन्न थालिँदैछ। यहाँ अराजकता फैलिए उनीहरुले मजाले खेल्न पाउनेभए। त्यसैले त्यसमा बल गरिरहेका छन्। यत्रो भैरहेको छ, देशको चिन्ता कसैलाई छैन। हाम्रा नेतालाई तत्काल प्रधानमन्त्री हुन पाए हुन्छ। जे भैरहेका छन्, ती दीर्घकालीन रुपमा हाम्रो देशका निम्ति खतरा हो भन्ने चिन्तन गरेकै देखिँदैन। 

कुनै मुलुकलाई कब्जामा लिनुछ भने त्यो मुलुकले गर्व गर्ने परम्परा, धर्म र संस्कृतिलाई नामेट पारेर आफ्नो धर्म संस्कृति थोपरिदियो भने त्यो देश स्वतः उनीहरुको गुलाम हुन्छ। अहिले हाम्रो मुलुकमा त्यही नै भैरहेको छ। लडाइँ लड्नै पर्दैनन। हाम्रो धर्म, संस्कृति मास्न लागिपरेको राष्ट्रिय अन्तर्राष्ट्रिय जुन जालो छ, हामी त्यसैमा फसिरहेका छौँ। यस्तो स्वार्थ बोकेर जसरी अन्य अन्तर्राष्ट्रिय संस्थाहरु आएका छन्, त्यसमा आरएसएस पनि थपिएको छ। जबर्जस्ती धर्म परिवर्तन गराउने क्रिस्चियन र आरएसएसमा मैले चाहिँ तात्विक भिन्नता देखेको छुइनँ। उनीहरुको ‘फिलोसफी’ बिखण्डन नै हो। 

भूगोलको कुरा गर्ने हो भने आरएसएसको नजरमा नेपाल छुट्टै देश हुँदै होइन। उसले नेपाललाई भारतकै एउटा अंग मान्दछ। म आरएसएसमा सबै खराब मान्छे छन् भन्दिनँ। त्यहाँ नेपाललाई माया गर्ने र नेपाल बुझेका धेरै अधिकारीहरु पनि छन्। तर त्यहाँभित्र उनीहरुको बोली सुनिँदैन। यो हामीले बुझेनौँ। हामी सबै विदेशीका दलाल भयौँ। नेपालका दलाल कोही भएनौँ। हाम्रो राष्ट्र जोगाउने हामीले हो, अरु कसैले होइन। त्यसैले हामी यी सबै कुराबाट बेलैमा सतर्क हुनुपर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .