ad ad

विचार


के बुद्ध महिलाद्वेषी थिए?


जेवी पुन मगर
भदौ १९, २०८० मंगलबार ९:५१, काठमाडौँ

भर्खर जन्मिएको छोरा राहुललाई श्रीमती यशोधराको काखमा छाडेर गृहत्याग गर्ने २९ वर्षीय सिद्धार्थ गौतमलाई साहित्यमा कतिपयले गैरजिम्मेवार श्रीमान् र बुबाका रुपमा चित्रित गर्ने गर्छन्। तर त्यसभन्दा पनि गम्भीर आरोप सिद्धार्थ गौतममाथि उनले बुद्धत्व प्राप्त गरेपछि लागेको छ। उनलाई महिलाद्वेषीसम्म भनिएको छ। बुद्धले बुद्धत्व प्राप्त गर्न चाहने महिलाहरुलाई भिक्षुणी बन्न अनुमति नदिएको हुनाले उनीमाथि यस्तो आरोप लगाइन्छ। बौद्ध अध्येताहरुमाझ यो विषयमा लामो कालखण्डदेखि विमर्श हुँदै आएको छ। यो विमर्शलाई हालसालै बजारमा आएको तर धेरै चर्चा नपाएको उमाकान्त पौड्याल लिखित पुस्तक ‘बुद्धकालीन समाज’ ले पनि अगाडि बढाउन सहयोग गरेको छ। 

बुद्धलाई महिलाद्वेषी बनाउने त्यसबेलाको घटना के थियो त? पुस्तकमा यसरी वर्णन गरिएको छ – 

‘पति शुद्धोधनको मृत्युपछि सिद्धार्थ गौतमकी सानीआमा प्रजापति गौतमलाई गृहस्थी जीवनबाट वैराग्य उत्पन्न भयो। आफ्नै औरसपुत्र नन्द, सिद्धार्थका छोरा राहुल, सिद्धार्थका भाइ आनन्द, अनिरुद्ध आदि शाक्य खलकका युवकहरु भिक्षु भई भिक्षुसंघमा सामेल भएपछि उनलाई गृहस्थी जीवन काँडाझैँ बिझाउन थालेको थियो। बुद्ध कपिलवस्तु आएको मौका छोपेर गौतमीले आफू भिक्षु संघमा सामेल हुने इच्छा जाहेर गरिन्। यसबेलासम्म बुद्धको धर्ममा पुरुष मात्रै भिक्षु हुन पाउँथे। बुद्धले गौतमीको अनुरोध स्विकारेनन्।‘

भिक्षु बन्ने अनुमति नपाएपछि गौतमी पाँच सयको संख्यामा स्त्रीहरु भेलागरी कपाल मुडुलो पारेर गेरुवस्त्र धारण गरी बुद्धको पछिपछि वैशाली पुगिन्। केहीले यसलाई बुद्धको महिलाद्वेषी विचार हटाउन गौतमीले गरेको विद्रोहको रुपमा पनि अर्थ्याउने गरेका छन्। लेखकले पुस्तकमा गौतमीसँग भिक्षुणी हुन आउने यी पाँच सय महिलाहरुबारे उल्लेख गरेका छैनन्। तर यी महिलाबारे राणाकालमा ‘गाथगादी ताकेको’ आरोपमा देशनिकालामा समेत परेका त्रिपिटकका ज्ञाता विद्वान भिक्षु अमृतानन्दले त्रिपिटकलाई नै आधार मानी लिपिबद्ध गरेको ‘बुद्धकालीन नेपाली विश्वकोश’ को अध्याय–२१ मा त्यसबारे स–बिस्तार बताएका छन्। कथा यस्तो छ –

‘रोहिणी नदीको पानी बाँडफाँटलाई लिएर शाक्य (कपिलवस्तु) र कोलिय (देवदह) नगरबासीबीच झगडा हुन्छ। त्यसले उग्ररुप लिन्छ। दुवै तर्फबाट युद्धको तयारी चल्छ। त्यो झगडालाई बुद्धले मध्यस्थता गरी दुवै पक्षलाई शान्त पार्छन्। बुद्धका कारण ठूलो जनधनको क्षति हुनबाट बचेको भन्दै कोलिय र शाक्यका तर्फबाट अढाई सय–अढाई सय राजकुमारलाई बुद्धको शरणमा पठाइन्छ। बुद्धले तिनलाई भिक्षु बनाउँछन्। त्यो थाहा पाएपछि भिक्षु भइसकेका राजकुमारका स्त्रीहरुले कसैले उनीहरुलाई घर पर्कन अनुनय गरी पत्र लेख्छन् त कसैले फर्काउन दूत पठाउँछन्। बुद्धको देशनाबाट दीक्षित भइसकेका ती घर फर्कन मान्दैनन्। त्यसपछि ती पाँचसय स्त्रीहरु भेला भई सबै महाप्रजापति गौतमीकहाँ गई बुद्धको धर्ममा प्रव्रजित हौँ भन्ने सल्लाह गर्छन् र उनीकहाँ पुग्छन्। उनीहरुबीच भएको सल्लाहपछि गौतमी सहित पाँच सय महिलाहरुले बुद्धसमक्ष भिक्षुणी बन्ने अनुरोध चढाउँछन्।’ (बुद्धकालीन श्राविका–चरित, भाग १, पेज २६) 

भीमराव अम्बेडकरको भगवान बुद्ध र वहाँको धर्म नामक पुस्तकका अनुसार, यो भीडमा सिद्धार्थ गौतमका पत्नि यशोधरा पनि सामेल थिइन्।

गौतमीको प्रव्रजित हुने तीव्र अभिलाषा देखेर बुद्धका दायाँ हात मानिएका भिक्षु आनन्दले बुद्ध समक्ष पुनः अनुरोध बिसाउँछन्। उनले बुद्ध स्वंयले देशना दिएको ‘लोग्नेमान्छेले जस्तै महिलाले पनि मोक्ष प्राप्त गर्नसक्छन्’ भन्ने उपदेश स्मरण गराउँछन्। बुद्धले गौतमीले भिक्षु हुन गरेको अनुरोधलाई तीन चोटिसम्म अस्वीकार गरेका थिए। यसपालि बुद्ध स–सर्त महिलालाई भिक्षुसंघमा सामेल गर्न राजी हुन्छन्। ती आठमध्ये महिला भेदभाव बढी देखिने तीनवटा सर्त यहाँ उधृत गरिएको छ– 

१– भिक्षुणी उमेरले जति पाको भए पनि उसले आफूभन्दा कम उमेरका भिक्षुलाई अभिवादन र मानसत्कार गर्नुपर्ने।

२– कुनैपनि कारणले भिक्षुणीले भिक्षुलाई आक्षेप लगाउन नपाउने। 

३– प्रज्ञामा श्रेष्ठ भए पनि भिक्षुणीले भिक्षुलाई उपदेश दिन वा अनुशासन गर्न नपाउने। तर भिक्षुले भिक्षुणीलाई उपदेश दिन वा अनुशासन गर्ने स्वतन्त्रता हुने। 

बुद्धले गौतमीको नेतृत्वमा आएका महिला र आनन्द लगायतका भिक्षुहरुको दबाबमा महिलालाई स–सर्त भिक्षुणी बन्न अनुमति दिए पनि उनी त्यसबाट खुसी थिएनन् भनी त्रिपिटकमा लेखिएको छ। बुद्धले आनन्दसँग भनेको र त्रिपिटकमा लिपिबद्ध गरिएको भन्दै एउटा संवाद पुस्तकमा उधृत गरिएको छ। 

त्यहाँ भनिएको छ– ‘तथागतको धर्ममा महिला प्रव्रजित नभएको भए यो धर्म एक हजार वर्षसम्म शुद्ध रुपमा कायम रहन्थ्यो। महिला प्रव्रजित भएपछि यो अवधि पाँच सय वर्षमा सीमित हुनेछ।’ (पेज ११८)

पुस्तकमा (पेज ११७) अठ्ठकथालाई उधृत गरिएको छ, जसमा महिलालाई बुद्धले किन भिक्षुणी बन्न अनुमति दिएनन् भनि व्याख्या गरिएको छ। भनिएको छ, ‘स्त्रीहरु सीमित बुद्धि भएका हुनाले उनीहरुको माग सहजै पूरा गर्दा आफ्नो उपदेश राम्ररी पालन गर्देनन् भन्ने ठानेर बुद्धले सुरुमा अस्वीकार गरेका हुन्।‘ लेखकले यो भनाइलाई बुद्धको नभई अठ्ठकथाकारको मनको उपज हो भनी नकारेका छन्। 

के साँच्चिकै वर्गीय असमानता, जातीय भेदभाव र व्यक्तिको मुक्तिका निम्ति जिन्दगीभर लडेका बुद्धले महिलाद्वेषी यस्ता विचार प्रकट गरे होलान् त? 

बुद्ध दर्शनमा सबैभन्दा आधिकारिक मानिएको ग्रन्थ त्रिपिटक अध्ययन गरेर पुस्तक लेखेका उमाकान्त पौड्यालले यसमाथि केही अन्य लेखकका विचार र केही आफ्ना भनाइ पनि अगाडि सारेका छन्। माथि उल्लेख गरिएझैं बुद्धलाई मनाउन भिक्षु आनन्दले स्वयं बुद्धले उपदेशको क्रममा बोलेको ‘लोग्नेमान्छेले जस्तै महिलाले पनि मोक्ष प्राप्त गर्नसक्छन्’ भन्नुले यो विषयमा यत्तिको पिश्वस्त बुद्धले महिलालाई भिक्षुणी बनाउन रोक्नुको पछाडि तर्कपूर्ण कारण देखिँदैन।

लेखक धर्मानन्द कोसम्बीको पुस्तक ‘भगवान बुद्धः जीवन और दर्शन’ लाई उधृत गर्दै लेखक तर्क गर्छन्, ‘कोसम्बी महोदय यी आठ सर्त बुद्धकालपछिका भिक्षुले भिक्षुणीसंघको सत्ता आफ्नो नियन्त्रणमा राख्न त्रिपिटकमा जोडेको तर्क गर्छन्।’ हुन पनि बुद्धको देहावसानपछि भिक्षुणी संघ लथालिङ्ग भई त्यसको अस्तित्व नै हराउनुले कोसम्बीको तर्क गलत लाग्दैनन्। 

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि सुरुमा आफूलाई छाडेर हिँडेका पाँच जना ब्राम्हणलाई पहिलो धर्मदेशना दिई साथमा हिँडाएका हुन्। बुद्धको जीवनमा घटित दुई वटा घटना महत्वपूर्ण मानिन्छ, पहिलो सुजाताले दिएको खिर खाएपछि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नु र दोश्रो, चुन्द चमारले दिएको सुँगुरको मासु सहितको भोजनपछि उनको महापरिनिर्वाण (मृत्यु) हुनु। (बुद्धकालीन महिलाहरु भाग–१, भिक्षु अमृतानन्द) 

त्यतिबेलाको समाजमा विभेद, असमानता र अशिक्षाविरुद्ध जेहाद नै छेडेका बुद्धले महिलालाई भिक्षु बन्नबाट रोकेको अतिरञ्जना ब्याख्या कोसम्बी र भीमराव अम्बेडकर (भगवान बुद्ध र वहाँको धर्म) ले भनेझैँ पुरुष भिक्षुहरुको दिमागी उपज हुनसक्दछ, जसलाई त्रिपिटकभित्र छिराइयो। 

यी दुई बौद्ध अध्येताको तर्कमा सहमतजस्ता देखिने उनै लेखकले चाहिँ एक ठाउँमा विरोधाभासपूर्ण तर्क पस्कका छन्। यो विमर्शलाई अगाडि बढाउँदै लेखक आफ्नो विचार पोख्छन्, ‘स्त्री–पुरुष दुवै प्रव्रजित हँुदा उनीहरुबीच हुने स्वाभाविक आकर्षण, प्रव्रजित तरुणीप्रति समाजका कामुक पुरुषको गिद्धेदृष्टि, महिलाको मासिक धर्मका कारण हुने असुविधा, गर्भधारणको सम्भावना र महिला प्रव्रजित भएका कारण परिवार र समाजमा पर्ने असर एवम् आईपर्ने सम्भावित अवगालबारे सम्भवतः बुद्ध सचेत थिए। यी विषयमा गम्भीर रुपले चिन्तन–मनन गरेर नै स्त्रीलाई प्रव्रजित गर्ने विषयमा उनले अनिच्छा व्यक्त गरेका हुन्।‘ (पेज ११६) 

गुरुकुल विरासतबाट निस्किएका र बुद्ध शिक्षामा उच्चशिक्षा लिएका लेखकले बुद्धलाई महिलाद्वेषी थिएनन् भनी प्रमाणित गर्न अनेकन दृष्टान्त अगाडि सारे पनि माथिका उनका तर्क चाहिँ सतही लाग्छन्। किनभने बुद्धचरित बुझेका लेखकलाई राम्ररी थाहा छ, बुद्ध बोधिज्ञान बाँड्न र त्यसलाई अभ्यास गर्न अवगालको भयले कहिल्यै पछाडि हटेका छैनन्। 

मिथ्या आरोप 
बुद्धकालीन समय कृषि, पशुपालन हुँदै वाणिज्य युगमा प्रविष्ट भैसकेको थियो। त्यसले सम्पत्ति आर्जनको नयाँ चक्र सुरु गराइसकेको थियो। समाजमा वर्णाश्रम व्यवस्थाको कुरुप अभ्यास सुरु भइसकेको थियो। शुद्रहरु सम्पत्तिबाट बञ्चित हुन थालिसकेका थिए। उनीहरु शारीरिक सम्पत्ति अर्थात पाखुराको बलमा मात्र जीवनयापन गर्नुपर्ने बाध्यतामा पुर्याइएका थिए। फलतः उनीहरुको आर्जन पेट भर्नलाई पनि अपर्याप्त हुन थाल्यो। र उनीहरुमा आर्थिक रुपले अरु वर्णमाथि निर्भरता बढ्दै गयो। सम्पत्तिमा तथाकथित उच्च जातिको नियन्त्रण बढ्दै गयो। यो धर्मसँग जोडिएको थियो। 

त्यसैले बुद्धको युग यस क्षेत्रमा जागरणको युग बन्न पुग्यो। वर्णाश्रम व्यवस्थाले जातिविभाजन गरिरहेको थियो भने पुरुषसत्ता बलियो हुँदै गइरहेकोले महिलालाई दमन गर्ने अनेकन नीति ल्याइँदै थिए। महिला क्रमशः चौघेराभित्र थन्किँदै थिए। ब्राम्हणहरुले पहिलेदेखि चलिआएको जातिप्रथा, कर्मकाण्ड र हिंसक यज्ञयागको पक्षपोषण गरिरहेका थिए। उनीहरु आफूलाई अरुभन्दा श्रेष्ठ साबित गर्न अनेक प्रयत्न गर्थे। यी सबै अभ्यासका विरोधी थिए, बुद्ध। 

त्यसैले परम्परावादी ब्राम्हणहरु कहिले उनीमाथि बलात्कारको नियोजित आरोप लगाउँथे भने त्यसमा असफल भएपछि उनको हत्या प्रयत्न समेत गरिन्थ्यो।

‘धार्मिक क्षेत्रमा बुद्धको आगमन परम्परावादी ब्राम्हणका लागि ठूलो टाउको दुखाइको कारण बनेको थियो। बुद्धको धर्मयुक्त, यथार्थमा आधारित, तर्कसङ्गत र व्यावहारिक उपदेशले ब्राम्हणको जातिगत उच्चता, निस्सार कर्मकाण्ड र यस्तै अन्य निरर्थक रुढीहरुबाट जनता क्रमशः मुक्त हुन थालेका थिए। केही पढेलेखेका ब्राम्हणको रोजीरोटी समाजबाट प्राप्त हुने दानदातव्य र कर्मकाण्डबाट चल्थ्यो। ब्राम्हणहरु बुद्धका कारणले आफ्नो मुखमा आइसकेको गाँस खोसिएको अनुभव गर्थे।’ (पेज १५२) 

जातीय सत्ताको मनोमानी र धार्मिक उन्मादको डरलाग्दो परिणति भारतीय उपमहाद्वीपमा जसरी चलिरहेको छ, त्यसको साक्षी २१औं शताब्दीका हामी ‘जान्नेबुझ्ने’ स्वंय नै छौँ। कल्पना गर्नाेस्, आजभन्दा २५ सय वर्षअगाडिको बुद्धकालीन समाजको मनोविज्ञान कस्तो थियो होला? यस्तोबेला जन्मिएका र परम्परागत शक्तिहरुसँग बौद्धिक रुपमा भिडिरहेका बुद्धलाई शास्त्रर्थमा हराउन नसकेपछि विष्णुको नवौँ अवतारको रुपमा अपव्याख्या गरेझैं उनको वैज्ञानिक शिक्षालाई पनि अन्धधार्मिक शिक्षातर्फ मोडिदिएको पनि हुनसक्दछ। 

अग्रज, समाजका अगुवा र बुद्ध स्वंयले भनेको भए पनि त्यसको तथ्यजाँच नगरिकन कुनै कुरा विश्वास गरिहाल्नु हुँदैन भनी हरेक प्रश्नलाई पस्तुसम्मत र वैज्ञानिक कसीमा दाँजेर हेर्न सिकाउने बुद्धको महिलालाई हेर्ने दृष्टिकोण खोटपूर्ण थियो भन्न सकिने ठाउँ निकै साँघुरो देखिन्छ। बुद्धकै शिक्षा कार्य–कारणको मिहिन संश्लेषणले पनि त्यस्तो खोट लगाउने ठाउँ दिँदैन। तत्कालीन समयमा ‘शुद्र र महिलाले मोक्ष प्राप्त गर्न सक्दैैनन् किनभने ती नीच र अशुद्ध हुन्छन्’ भन्ने धर्मप्रचार बुद्धको नभई बुद्धकालीन समयमा समाजमा निकै प्रभाव जमाएका ब्राम्हणहरुको थियो। गौतमी सहित पाँच सय महिला भिक्षु हुन आउँदा बुद्धले अस्विकार गरेपछि भिक्षु आनन्दले बुद्धसँग यही प्रश्न उठाएका छन्। 

उनले बुद्धसँग प्रश्न गरेका छन्, ‘के तथागतको धर्म र विनयमा लागेर स्त्रीहरुले ब्राम्हण धर्ममा झैँ निर्वाण प्राप्त गर्न सक्दैनन्?‘ त्यसको जवाफमा बुद्ध भन्छन्, ‘आनन्द मलाई गलत नसम्झ। पुरुषजत्तिकै स्त्रीहरुले पनि निर्वाण प्राप्त गर्न सक्छन् भन्ने मेरो मत छ। म लिङ्गभेदको पक्षपाती होइन। महाप्रजापति गौतमीको प्रार्थना मैले स्वीकार गरिनँ, त्यसको अर्थ स्त्रीहरुलाई पुरुषको तुलनामा हेय सम्झेको होइन। केवल व्यावहारिक कारण मात्र हो।’ (भगवान बुद्ध र वहाँको धर्म– अम्बेडकर, पेज १९९)

यो भयो किताबभित्र रहेको एउटा विषयमाथि उठान गरिएको ऐतिहासिक पक्ष र त्यसले बौद्ध अध्येताहरुबीच विमर्श चल्दै आएको तथ्य र तर्कका कुरा। यस्ता ऐतिहासिकतामाथि शोधखोज गरिएका विषयहरु ‘बुद्धकालीन समाज’ भित्र यथेष्ट छन्, जसलाई सरल भाषामा वर्णन गरिएको छ। 

हाम्रोमा लेखकले कल्पनालोकमा विचरण गरेको र मपाइत्व छाँटेका पुस्तकहरुको ज्यादा चर्चा गर्ने चलन छ। एक खालको सिन्डिकेटको नियन्त्रणमा रहेकोले होला तथ्यगत विषयमाथि मेहनत गरी लेखिएका ‘बुद्धकालीन समाज’ जस्ता पुस्तक बिनाचर्चा नै विलुप्त हुने गर्छन्। बौद्ध अध्येता उमाकान्त पौड्यालले त्रिपिटक जस्तो महाग्रन्थबाट उधिनेर हामीलाई जसरी बुद्धकालिन समाजको बहुआयामिक पाटो देखाइदिएका छन्, त्यो हाम्रा इतिहासकारहरुले समेत गर्न सकेका थिएनन्।
 
सामान्यतः धर्म र त्यसभित्रका आराध्यदेवहरुका कथावाचन पढ्न तपाईंलाई आफ्नो आस्था र विश्वासले कुत्कुत्याएको हुनुपर्छ या त इतिहास जान्ने लालसाले उत्प्रेरित गरेको हुनुपर्दछ। समाजविज्ञानमा रुचि राख्नेहरुका निम्ति धर्म–साहित्य अध्ययन आफैँमा बोझिलो कर्म मानिन्छ। किनभने यस्ता साहित्यिक पानाभित्र गौरवनृत्य गर्ने पात्रहरुले तपाईंलाई तत्कालीन समयको वस्तुसम्मत चित्रण गर्नुको साटो आफ्नो गौरवगान मात्र सुनाइरहेका हुन्छन्। तर केही साताअघि हातमा परेको ‘बुद्धकालीन समाज’ ले चाहिँ मेरो परम्परागत सोचाइलाई अर्काे दिशा प्रदान गर्न मद्दत गरेको छ। 

३०० पृष्ठको किताबमा गौतम बुद्धको प्रदीप्त व्यक्तित्वको महिमागान मात्र गरिएको छैन, अपितु तत्कालीन समाजको सांगोपांगो चित्रण पनि प्रष्ट रुपमा व्याख्या गर्ने प्रयत्न गरिएको छ। किताब सलल बगेको छ। लेखकको पक्षधरता मलाई अत्यन्त घातक लाग्दछन्। त्यसमाथि धार्मिक पक्षधरताको दुष्परिणाम झन् बढी खतरनाक हुन्छन। किनकि त्यो आस्थासँग जोडिएको हुन्छ। आस्था भावनासँग गाँसिएको हुन्छ। त्यसमाथि त्यस्तो पक्षधरताले तत्कालीन समयको गलत बर्णन गरिदिने हुनाले हामीलाई इतिहासको गलत प्याख्या पनि गरिदिएको हुन्छ। चरित्रचित्रणमा डरलाग्दो बेइमानी हुने डर रहन्छ। तर यस पुस्तकका लेखक इमान्दारी कायम राख्न हरसम्भव प्रयत्नशील देखिन्छन्। त्यसैले इमान्दारी यस पुस्तकको सबैभन्दा बलियो पाटो मान्न सकिन्छ। धार्मिक विषयमा लेखिए पनि यो पुस्तक सही अर्थमा इतिहासगाथा हुन पुगेको छ। 

पुस्तक– बुद्धकालीन समाज (पाली त्रिपिटकको साक्ष्यमा)
लेखक– उमाकान्त पौड्याल
प्रकाशक – फाइनप्रिन्ट
प्रकाशन मिति – वैशाख, २०८०
मूल्य– ६४० रुपैयाँ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .