ad ad

विचार


के गाजाको सुरुङमा हमासलाई हराउने तागत इजरायली सेनासँग छ?

के गाजाको सुरुङमा हमासलाई हराउने तागत इजरायली सेनासँग छ?

हालैको आक्रमणमा हमास लडाकुले प्रयोग गरेको भनिएको एक सुरुङमा इजरायली सैनिक। तस्बिर : एएफपी


डाफ्ने रिचमन्ड–बराक
कात्तिक १, २०८० बुधबार ११:५७,

गत सप्ताहन्तमा इजरायलले एउटा नयाँ र भयानक यथार्थको सामना गर्नुपर्‍यो। जुन सम्भव छ भन्ने कसैलाई लागेको थिएन। हमासले क्रुरतापूर्वक इजरायलको सबैभन्दा कमजोर ठाउँमा आक्रमण गर्‍यो।

अहिले इजरायलले गाजापट्टीमा हवाई हमला गरिरहेको छ र सर्वसाधारणलाई गाजाको दक्षिणी भागमा सर्न चेतावनी दिएको छ। हमास लडाकुविरुद्ध जमिनी आक्रमणको तयारी पनि गरिरहेको छ। तर, त्यसका लागि इजरायलसामु भयानक चुनौती छ। त्यो चुनौती हो– हमासजस्तो मजबुत, पूर्ण तयार र स्रोतसाधन सम्पन्न दुश्मनलाई कसरी हराउने? त्यसमाथि हमास मूलतः भूमिगत रुपमा सञ्चालन हुन्छ।

हमास यस्तो सेना हो, जो सहरी युद्ध लड्नका लागि बनाइएको हो। उनीहरु गाजा र एक हदसम्म कब्जा गरिएको वेस्ट ब्यांकसम्मका जनतासँग घुलमिल भएका छन्। हमासले इजरायलभित्र रकेट आक्रमण गर्छ र इजरायललाई जवाफी हमलाका लागि उक्साउँछ। तर, त्यसो गर्दा स्कुल, मस्जिद र आवादी क्षेत्रजस्ता गैरसैनिक स्थान निसानामा पर्छन्। 

हमासको एउटा प्रमुख कमान्ड एन्ड कन्ट्रोल सेन्टर गाजाको अल–सिफा अस्पतालभन्दा मुनि रहेको विश्वास गरिन्छ। हमासका लागि सडक भनेको ४० किलोमिटर लामो गाजापट्टीमा रहेका सयौँ किलोमिटर लामो सुरुङ सञ्जाल हो। हमासका अधिकांश सञ्चार लाइन गैरविद्युतीय छन्। त्यसैले यीमध्ये कुनै पनि पूर्वाधारमा आक्रमण गर्दा अनिवार्य रुपमा ठूलो मात्रामा सर्वसाधारणको जिउधनको क्षति हुन्छ।

हमाससँग लडाइँ गर्दाको यस्तो चुनौती अभूतपूर्व होइन। फलुजामा इराकी लडाकुहरुसँग लडिरहँदा अमेरिकाले पनि यस्तै द्विविधा सामना गर्नुपरेको थियो। इजरायल आफैँले पनि २००५ मा गाजाबाट पछि हटेपछि कम्तीमा पाँच पटक हमाससँग लडाइँ लडिसकेको छ। तर, गाजाको घना जनसंख्या र शरणार्थी शिविर भएको स्थानमा सहरी युद्ध र जमिनमुनि लामालामा सुरुङ हुनाले यो एकदमै अलग र जटिल युद्धमैदान बन्न पुग्छ।

उसोभए इजरायली सेनाको नयाँ सैन्य कारबाही कसरी फरक होला त? इजरायलको रणनीति बदलिएको छ। यसअघिका लडाइँहरुमा केही दिन वा साताको हवाई आक्रमण र सीमित जमिनी कारबाहीपछि युद्धविराम हुने गरेको थियो। ती युद्धविरामका सर्तले प्रायः इजरायलको जित र हमासको हार निश्चित गर्थ्यो। ती प्रत्येक लडाइँमा इजरालयले महत्वपूर्ण प्रहार गर्थ्यो तर हमाससँग आफ्नो सैन्य तथा भूमिगत सुरुङ सञ्जाल कायम रहन्थ्यो, जहाँ उसका नेताहरु र लडाकुहरु शरण लिने गर्थे।

यसपटक अचानक भएको आक्रमणमा १९७३ को योम किप्पुर युद्धमाभन्दा ठूलो क्षति बेहोरिसकेपछि इजरायल पूर्ण विजयको खोजी गरिरहेको छ। हमासले युद्धविरामको सर्त स्वीकार गर्दा मात्रै इजरायली सेना सन्तुष्ट हुने छैन। उसको लक्ष्य हमासलाई सैन्य संगठनका रुपमा विनाश गर्नु हो।

तर, हमासले वर्षौंदेखि, नभए पनि महिनौँदेखि इजरायली सेनाको आक्रमणको सामना कसरी गर्ने भनेर तयारी गरिरहेकै होला। आफ्नै विगतका लडाइँको अनुभव र सिरिया तथा इराकमा आईएसआईएससहितका आतंकवादी समूहको लडाइँ हेरेर पनि उसले सिकेको होला। यो इलाकामा दीर्घकालीन युद्ध कसरी सञ्चालन गर्ने, उसलाई थाहा छ। जमिनमुनि त उसको हात माथिबाट पर्छ नै, किनभने सायद विश्वकै सबैभन्दा विस्तृत भूमिगत युद्ध क्षमता हमाससँग छ।

सुरुङमा र त्यसको वरिपरि लडाइँ गर्दा आइपर्ने बाधालाई बढाइचढाइ गरिराख्नु पर्दैन। हमासको इलाका, बाटोघाटो र तिनको गतिविधिबारे इजरायली सेनासँग सीमित मात्रै जानकारी छ। जमिनमुनि परम्परागत जीपीएस, सर्विलेन्स र नाइनभिजन सिस्टमले काम गर्दैन। 

सुरुङले अचानक आक्रमण, अपहरण र विद्युतीय धरापको जोखिम बढाउँछ नै, आमनेसामने लडाइँको खतरा पनि पैदा गर्छ। यस्तो डरलाग्दो, अन्धकार र अस्थिर वातावरणमा लडाइँ सञ्चालन गर्न सीमित सैनिक मात्र सक्षम हुन्छन्। 

छोटकरीमा भन्नुपर्दा, सुरुङले हमासको क्षमतालाई इजरायली सेनाको क्षमतासँग बराबरी गरिदिने काम गर्छ। यसले हतियार, रणनीति, प्रविधि र संगठनमा रहेको इजरायली सेनाको अग्रतालाई बेकार बनाइदिन्छ। यो कुरा इजरायली सेनाले २०१४ को अपरेसन प्रोटेक्टिभ एजमा निकै दर्दनाक तरिकाले सिकेको थियो।

यी यथार्थहरुलाई हेर्दा इजरायलले गाजाको भूमिगत सुरुङ संरचना भत्काउन दीर्घकालीन र व्यापक हवाई र जमिनी आक्रमण गर्नुपर्ने हुन्छ। गाजाको ३६५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेका सुरुङ र बंकरहरुलाई भत्काउन, बाढी लगाउन, विस्फोट गर्न र बन्द गर्न थुप्रै महिना लाग्नेछ। त्यसका लागि विशाल स्रोत र दिगो कारबाही क्षमता आवश्यक पर्छ। र, यो सबै काम हमास लडाकुको गोलीको सामना गर्दै गर्नुपर्ने हुन्छ। तिनले जमुनिमुनि रहेको आफ्नो रणनीतिक अग्रताको फाइदा पनि लिनेछन्। सोच्नै नसकिने मानवीय क्षतिमा यस्तो परिदृश्य उत्पन्न भएछ भने पनि गाजाका सबै सुरुङ ध्वस्त हुने सम्भावना छैन।

त्यसैले इजरायलले आफ्नो उदेश्यलाई बदलेर भेट्टाउन सकिने लक्ष्यमा ध्यान केन्द्रित गर्नु ज्यादा यथार्थपरक हुनेछ। साथै, घरेलु र अन्तर्राष्ट्रिय समर्थनलाई पनि उसले कायम राख्नुपर्छ। इजरायलले हमासको सैन्य र राजनीतिक नेतृत्वलाई यसरी कमजोर पार्न सक्छ, जसरी यसअघिका लडाइँमा सम्भव थिएन। सबैभन्दा महत्वपूर्ण, इजरायलले आफ्नो रक्षा क्षमतालाई तिखार्नैपर्छ, ताकि अहिलेको जस्तो भयानक आक्रमण फेरि कहिल्यै नहोस्।

(फाइनान्सियल टाइम्सबाट। डाफ्ने रिचमन्ड–बराक इजरायलको राइखमन युनिभर्सिटीकी सहप्राध्यापक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .