ad ad

राजनीति


खोटाङका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

खोटाङका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ७:२३, काठमाडौँ

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ। मसिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिए। 

निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पु¥याएका छन्।

दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए।

मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ। आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मत गणनास्थल तयारीको काम सुरु गरिने जनाइएको छ।

आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार चार सय ७४ मतदाता थिए। जिल्लामा एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाको लागि निर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .