ad ad

राजनीति


लेखनाथ भन्छन् : पशुपतिको जलहरीको सुन ओलीले खाए भनेको छैन, जिम्मा त लिनु पर्छ (भिडिओ)

लेखनाथ भन्छन् : पशुपतिको जलहरीको सुन ओलीले खाए भनेको छैन, जिम्मा त लिनु पर्छ (भिडिओ)

संसद् भवनबाहिर पत्रकारहरुसँग लेखनाथ दाहाल। तस्बिर : नेपालखबर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १४:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका अनेक काण्ड भएको बताएका छन्।

यही बधुबार संसदमा बोलेको भनाइका कारण शुक्रबारको संसद् बैठक अवरोध भएको अवस्थामा उनले ‌ओलीले यो सरकारलाई लगाएका केही आरोपको जवाफ मात्रै दिएको उनलले बताएका छन्। 

‘मैले बोलेका कारण अहिले संसद नै स्थगित गरेको छ। मैले अस्ति बोल्ने क्रममा ओलीजीलाई जवाफ मात्रै दिएको हो।  केपी शर्मा ओलीजीले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्टाचारीहरुको गठबन्धन हो भनेपछि जवाफ दिएको थिएँ’, उनले संसद् भवनबाहिर पत्रकारहरुसँग भने, ‘विगतका तीन वर्ष ओलीले शासन गर्दा यती, ओम्नी, गोकर्ण बालुवाटार जग्गा प्रकरण र स्वास्थ्य सामाग्रीमा २ अर्ब भ्रष्टचारकाण्ड आएका थिए। त्यससँगै पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको कुरा मैले उठाएको हो।’

उनले जलहरी लगाउँदा १०७ केजी सुन चाँदी खपत भएको भनिएकोमा १० केजी सुन कम लगाइएको दाबी पनि गरे। 

‘पशुपतिको जलहरीमा १० केजी सुन कम भएको प्रतिवेदन महालेखा परीक्षकले पनि दिएको छ। ज्यालाको पनि लेखांकन नभएको महालेखाको प्रतिवदेन उल्लेख छ’, उनले भने, ‘आफ्नो सरकारका बेलामा भएको भ्रष्टाचारको किन नैतिक जिम्मेवारी लिँदैनन् भनेर मैले उठाएको हो। तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्रीले त्यसको जिम्मा लिनुपर्छ भन्ने आशयले मैले बोलेको थिएँ।’

व्यक्तिगत रुपमा आफूले ओलीले त्यो सुन खाएको नभनी सरकारको नेतृत्व उनकै भएकाले जिम्मेवारी लिनुपर्ने कुरा उठाएको उनले बताए। 

‘त्यतिका परिणाममा सुनचाँदी प्राप्त नभएको भनिएको छ। प्रयोग नभएको भनिएको छ। अहिले अख्तियारमा छानबिन भइरहेको छ’, उनले भने, ‘आफ्नो सरकारको पालामा भएकाले स्वाभवैले ओलीले जिम्मा लिनुपर्छ भनेको हो। केपी ओलीले खाएको भनिएको छैन।’

नीति तथा कार्यक्रममाथि टिप्पणीका क्रममा केपी ओलीले हेपेको पनि उनले बताए। ओलीले हरेक पटक होच्याउने गरी बोलेको पनि उनले बताए।

‘मैले त भ्रष्टाचारको फेरहिस्त बताएको हो। संसदीय मर्यादा मिचेको छैन। उठेका विषयहरु प्रष्ट हुनुपर्छ’, उनले भने, ‘सरकारकै निकायमा उठेका विषयमा किन संसदमा राख्न नपाउने, बोल्न नपाउने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .