ad ad

राजनीति


दुई वर्षपछि एमाले पार्टी कार्यालयमा पुगे झलनाथ खनाल

सुवास नेम्वाङको सम्मानमा कम्युनिष्टहरू मिल्नुपर्ने जिकिर
दुई वर्षपछि एमाले पार्टी कार्यालयमा पुगे झलनाथ खनाल

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै झलनाथ खनाल


नेपालखबर
असोज २, २०८० मंगलबार १४:५१, काठमाडौँ

एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल च्यासल पुगेका छन्।

एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल च्यासल पुगेका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाले एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदा नयाँ पार्टी खोलेका थिए।

त्यसपछि थापाथलीमा सरेको एमाले कार्यालय अहिले ललितपुरको च्यासलमा छ। 

संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा सहभागी हुँदा खनाल र केपी शर्मा ओली एकै ठाउँमा देखिए। 

विभाजनपछि एमाले र समाजवादीका नेताहरु प्राय: एकैठाउँ देखिएका थिएनन्। एमालेले पहिलो पटक समाजवादीका नेतालाई आफ्नो कार्यक्रममा बोलाएको हो। 

समाजवादीलाई एमालेले औपचारिक रुपमा दलको मान्यता पनि दिन मानेको थिएन। एमालेले पछिल्लो समय सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने कार्यक्रममा पनि भाग लिने गरेको थिएन।

तर आफ्नै जिल्लाका सहकर्मीको निधन भएपछि खनाल एमाले कार्यालय पुगेका हुन्। उनी पछिल्लो समय एमाले र समाजवादी मिल्नुपर्ने व्याख्या गरिरहेका छन्। 

सम्बोधनका क्रममा खनालले नेम्वाङको सच्चा श्रद्धाञ्जलीका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने उल्लेख गरेका छन्। 

यसअघि एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्न एमाले नेताहरु एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए। 

त्यसबेला एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेखेर मत पनि मागेका थिए। 

एमाले कार्यालयमा पुगेर खनालले स्वर्गीय नेम्वाङसँग ६० वर्षभन्दा लामो मित्रता रहेको बताउँदै उनको कदरका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने बताएका छन्।

संविधान निर्माणमा निर्णायक भूमिका खेलेका नेम्वाङको योगदानको स्मरण गर्न एमालेले ‘सुवास र संविधान’विषयमा सातवटै प्रदेशमा प्रवचन कार्यक्रम गरिरहेको छ। 

च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओली, समाजवादीका सम्मानित नेता खनाल, माओवादी नेतृ ओनसरी घर्ती र कांग्रेस नेता कृष्ण सिटौलासहितले सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .