ad ad

राजनीति


ई:को बहानामा केपी ओली, बाबुराम र गगन थापामाथि बालेन्द्रको निशाना

ई:को बहानामा केपी ओली, बाबुराम र गगन थापामाथि बालेन्द्रको निशाना

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १८:२६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक अभियन्ता ईःलाई जवाफ दिने बहानामा प्रमुख दलका ठूला नेताहरुमाथि आक्रोश पोखेका छन्। 

९ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर अनशनरत ई:लाई बुधबार सामाजिक सञ्जालमार्फत जवाफ दिने क्रममा उनले ठूला दलका नेताहरुलाई निशाना साँधेका हुन्। 

फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएका ईःका माग पूरा गर्न नसकिने बताउँदै उनी कतैबाट परिचालित भएको हुनसक्ने पनि बताएका छन्। 

ई: कतैबाट परिचालित भएको आफूलाई नलागे पनि भनेका उनले त्यससँगै ठूला दलका नेताहरुलाई बेइमान भन्दै आक्रमण गरेका हुन्।

बालेन्द्रले ई:का माग पूरा गर्ने अधिकार महानगरपालिकासँग नभएको पनि जिकिर गरेका छन्। ई:सँग वार्ता पहलसमेत नगरेका उनले आफूविरुद्ध ठूला नेताहरुले परिचालन गरेको आशंका गरेका हुन्। 

‘संविधान, सार्वजनिक सडक ऐन जस्ता सम्बन्धित विषयहरु हामीले परिवर्तन गर्न सक्ने कुरा भएन। त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइरहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला। तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो महानगर हेर्ने चाहना स्वयम् तपाईको पनि नहोला, विधिको पालना तपाईको पनि इच्छा होला भन्ने लाग्छ’, उनले भनेका छन्। 

बालेन्द्रले ईःको आन्दोलनमा ऐक्यवद्धता जनाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले ‘राजनीतिक बेइमानी’ गरेको आरोप पनि लगाएका छ्न्।

उनले ती नेताहरु लगायतलाई राजनीतिक बेइमान भनेका छन्। ‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरू पूरा गर्नुपर्ने भन्ने तर्क छ। त्यसमा हामी राजनीतिक बेइमानी देख्छौँ’, उनले भनेका छन्, ‘उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ। तर खोइ त्योबारे स्पष्ट नियम बनाउनुभएको? खोइ त्योबारे प्रयत्न गर्नुभएको? सस्तो लोकप्रियताका लागि जायज माग पूरा गर भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर खोइ छुट्याउनु भएको?’

ईःले उठाएका माग पूरा गर्ने अधिकार महानगरसँग नभएको बालेन्द्रले दोहोर्‍याएका छन्। 

‘यस्तो धरातलमा तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला। संविधान, सार्वजनिक सडक ऐनजस्ता सम्बन्धित विषयहरु हामीले परिवर्तन गर्न सक्ने कुरा भएन’, उनले भनेका छन्, ‘त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइरहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला। तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो महानगर हेर्ने चाहना स्वयम् तपाईंको पनि नहोला, विधिको पालना तपाईंको पनि इच्छा होला भन्ने लाग्छ।’

मेयर बालेनले ईःलाई कानुनको पालना गर्न आग्रहसमेत गरेका छन्। काठमाडौंबासीको घर भत्काएर बनेको फुटपाथ र सडक हड्पेर व्यवसाय गर्नु कानुनको बर्खिलाप हुने उनको जिकिर छ। 

‘हजारौँ काठमाडौंबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरूप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ’, उनले भनेका छन्, ‘त्यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भन्दिनुहोला। हामीले कानुनको पालना गर्दा-गराउँदा अवरोध नगरिदिनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .