ad ad

राजनीति


कोशीको सभामुखबारे पार्टीमा विवाद छ, केन्द्रीय समितिले निर्णय गर्छ : राजेन्द्र लिङ्देन

कोशीको सभामुखबारे पार्टीमा विवाद छ, केन्द्रीय समितिले निर्णय गर्छ : राजेन्द्र लिङ्देन

चियापान समारोहमा राजेन्द्र लिङ्देन। तस्बिर : रासस


नेपालखबर
पुस २७, २०८० शुक्रबार १९:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन्। 

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले कोशीमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको बताएका हुन्। 

लिङ्देनले एउटा मत सभामुख लिन नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यसबारे पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए। 

उनले आफू देशबाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको जिकिर गरे। राप्रपाभित्र पशुपतिशम्शेर राणा र उनीनिकट केही नेता सभामुख लिनुपर्ने पक्षमा देखिएका छन्। तर अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले सभामुख लिएको विषयमा गम्भीर आपत्ति जनाएका छन्। 

‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन। यसअगाडि नै बागमतीमा पनि छ। लुम्बिनी प्रदेशमा उपसभामुखको रुपमा हाम्रो सहभागिता छ। यो नौलो कुरा होइन। तर परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो’, उनले भने, ‘हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो। म देशबाहिर भएको बेलामा हाम्रो कोशी प्रदेशका साथीहररूले निर्णय गरेर सहभागी हुनुभयो। त्यस विषयमा विभिन्न मत छन्।’ 

उनले कोशीको सभामुखलाई लिएर अहिले पार्टीमा दुईथरी मत रहेको स्वीकारेका छन्। 

‘एकथरी साथीहरुको चर्को स्वरमा त्यो सहभागी हुनुहुँदैन थियो। तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ। अर्कोतर्फ हामी कोशीमा मात्रै सहभागी भएको होइन्। हामी त अगाडिदेखि नै सहभागी छदैछौँ। यो कुनै राजनीतिक दलको समर्थन लिएर, गठबन्धन गरेर कुनै सर्तमा भएको होइन’, उनले भने, ‘हामी प्रतिनिधि सभामा या प्रदेश सभा होस्। संसदमा छौँ भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग सर्त नगरी पाउँछौँ भने त्यो कसरी अन्यथा हो? त्यो कार्यकारी पद पनि होइन भन्ने साथीहरु छन्। ती सबै विषयमा म अहिले पक्ष विपक्षमा कुरा गर्नुभन्दा केन्द्रीय कार्यसमितिको बैठकपछि उचित निर्णयमा छौँ।’

अध्यक्ष लिङदेनले राप्रपाले फागुनबाट राजधानी केन्द्रीत आन्दोलन गर्ने बताए। उनले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेगरी आन्दोलन गरिने बताए। 

‘हामीले आन्दोलन देखिनेगरी सहयोग गर्छौँ फागुनबाट। अहिले पनि हामी आन्दोलनमै छौँ। अहिले हामी आन्दोलनको तयारी गरिरहेका छौँ। विभिन्न स्वरुपमा काम गरिराखेका छौँ। फागुनमा राजधानी केन्द्रीत र देखिने ढंगले ठूल्ठूला प्रदर्शनहरु हामीले आयोजना गर्छौँ’, उनले भने, ‘विल्कुल शान्तिपूर्ण र अहिंसात्मक हुँदैछ। जनदबाब सिर्जना गर्नेगरी अगाडी बढ्नेछौँ। सरकारले दबाब गर्ने भयो भने भड्किन सक्छ। हाम्रो तर्फबाट पूर्णरुपमा शान्तिपूर्ण हुनेछ। त्यो कुनै नाम मात्रको आन्दोलन हुने छैन। व्यापक हुनेछ। त्यसले देशमा परिवर्तन ल्याउने नै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .