ad ad

राजनीति


एमबीबीएस र जनस्वास्थ्य प्रवेश परीक्षाको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन

एमबीबीएस र जनस्वास्थ्य प्रवेश परीक्षाको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन

नेपालखबर
भदौ १९, २०८१ बुधबार १६:५२, काठमाडौँ

संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो।

सो परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। 

समितिले सो सम्बन्धमा तत्काल छानविन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ।

‘आम नागरिकहरुको स्वास्थ्यसँग जोडिएको चिकित्सा शिक्षा जस्तो गम्भिर विषयमा तथा विद्यार्थीको भविष्यसँग समेत जोडिएको चिकित्सा शिक्षा सम्बन्धि एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा यस पटक देखिएको कमजोरी के कारणले भएको हो?,’ सभापति थापाले भने, ‘सो सम्बन्धमा १० दिन भित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन र त्यसको आधारमा आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरुको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न तथा छानविन सम्बन्धि प्रतिवेदन समिति समक्ष पेस गर्न यो समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ।’

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटि गरेको औंल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिवद्धता समिति समक्ष गरेका थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .