राजनीति


त्रिपाठीलाई हराएर अधिकारीलाई जिताउने ढुंगेलको खेलले एमाले धादिङको अधिवेशनमा झमेला

त्रिपाठीलाई हराएर अधिकारीलाई जिताउने ढुंगेलको खेलले एमाले धादिङको अधिवेशनमा झमेला

एमाले धादिङको अध्यक्षका उम्मेदवारद्वय रामकुमार अधिकारी र भूमि त्रिपाठी


सुनिता विष्ट
माघ २१, २०८० आइतबार १३:२७, हेटौँडा

गत शुक्रबार देखि सुरु भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन गुटका कारण प्रभावित बनेको छ। नेतृत्वले गत असोज ११ गते सम्पन्न भएको बागमती प्रदेश अधिवेशनको रिस साँध्दा अधिवेशन प्रभावित बनेको हो। 

धादिङको जिल्ला अधिवेशनबाट हालका अध्यक्ष भूमि त्रिपाठी दोस्रो कार्यकालका लागि दोहोरिने तयारीमा छन्। तर, सर्वसम्मत अध्यक्ष बन्ने त्रिपाठीको आकांक्षामा ब्रेक लाग्ने अवस्था सिर्जना भएको छ।

यसको कारण हो, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आफ्नो गुटका अर्का उम्मेदवार खडा गर्नु। त्रिपाठीलाई हराउनैका लागि उनले डा. रामकुमार अधिकारीलाई जिल्ला अध्यक्षको उम्मेदवारी दर्ता गराउन लगाएको चर्चा छ।

गत असोजमा काठमाण्डौँमा सम्पन्न भएको प्रदेश निर्वाचनमा ढुंगेल र मकवानपुरका कृष्ण प्रसाद दाहालबीच चुनावी प्रतिस्पर्धा हुँदा त्रिपाठीले दाहाललाई साथ दिएको भन्दै ढुंगेल रुष्ट थिए। जसको रिस उनले जिल्ला अधिवेशनमा साँधेको नेताहरु बताउँछन्।
 
‘प्रदेश अधिवेशनमा भूमिजी ले कृष्ण दाहाललाई समर्थन गर्नुभयो। जित त ढुंगेलकै भयो। तर त्यहिबेलाको रिसिवीका कारण जिल्ला अधिवेशनमा झमेला भएको हो,’ उक्त नेताले नेपालखबरसँग भने।

दाहाल गुटका त्रिपाठीलाई दोहोरिन नदिने जाल बुनेका ढुंगेल आफ्ना गुटका अधिकारीलाई अध्यक्ष निर्वाचित गराउन चाहन्छन। यद्यपी, जनमत त्रिपाठीको पक्षमा देखिएपछि प्रदेश अध्यक्ष ढुंगेलले संगठनको लेटरहेट बिना विज्ञप्ती निकालेर अधिवेशन स्थलबाट बाहिरिएका छन्।

दुईजना चुनावी मैदानमा होमिँदै गर्दा अधिकारीको जित्ने सम्भावना कम देखिएपछि प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ती जारी गर्दै प्रपञ्च रचेको एमाले धादिङका एक नेताले नेपालखबरलाई बताए। उनका अनुसार ढुंगेल कुनै पनि हालतमा त्रिपाठीलाई हराएर आफ्ना गुटका अधिकारीलाई अध्यक्षमा निर्वाचित गराउने दाउमा छन्।   
 
यता, अधिवेशत प्रभावित बनाउनका लागि प्रदेश अध्यक्षले अधिवेशन स्थगित भएको विज्ञप्ती जारी गरेका छन् भने वर्तमान अध्यक्षसमेत रहेका त्रिपाठीले केही बेरमा मतदान सुरु गरिने जानकारी दिँदै भ्रममा नपर्न आग्रह गर्दै अर्को विज्ञप्ती जारी गरेका छन्। 

सादा पानामा विज्ञप्ती जारी गरेर ढुंगेल धादिङबाट बाहिरिएका छन् भने उनको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका डा.अधिकारी अधिवेशन स्थलमै छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .