लेखकका रुपमा आफूलाई स्थापित गराएका युग पाठक (दीपक कुमार पाठक) ले यो निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध लड्न झापा पुगेका थिए।
ओलीलाई प्रतिगामीको संज्ञा दिँदै आएका उनी चर्को आलोचकमध्ये एकजना हुन्। उनै पाठकले ओलीलाई हराउने योजनासहित आफू झापा पुगेको बताएका थिए।
झापा पुगेर ओलीको गृहनगर दमक क्षेत्रमा माइकिङसहित पाठकले घर दैलो पनि गरे।
मतदाताको घर घर पुगेर भोट पनि मागे। तर ओलीलाई टक्कर दिन पुगेका उनले मंगलबारसम्म आएको मतपरिणाममा दोहोरो अंक कटाउन सकेका छैनन्।
ताजा अवस्थामा एमाले अध्यक्ष ओलीले ११ हजार २८ मत ल्याउँदा पुतली चुनाव चिह्न लिएर उठेका पाठकको पक्षमा ५६ मत मात्रै परेको छ।
यहाँ सत्ता गठबन्धनले सघाएर उठेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले अहिलेसम्म ६ हजार ५१६ मत ल्याएका छन्।
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले हालसम्म १९ सय ४ मत ल्याएका छन्। उनीसँगै अहिलेसम्म १५ जनाले झापा ५ मा दोहोरो अंक ल्याएका छन्। अरु सात जनाले दोहोरो अंक पनि छुन सकेका छैनन्।
Shares
प्रतिक्रिया