ad ad

राजनीति


काठमाडौँ–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्विप’

काठमाडौँ–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्विप’

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:१४, काठमाडौँ

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्विप’ गरेका छन्। 

काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ६ हजार ३ सय मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए। श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले ३ हजार ५ सय ४ मत पाए। यसैगरी, नेकपा एमालेका रामप्रसाद अम्गाईंले २ हजार २ सय ९७ मत ल्याए। 

यस्तै प्रदेशसभा–२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले ४ हजार ५ सय १० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले २ हजार ७ सय ५३ मत प्राप्त गरे।

दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थिए। 

काठमाडौँ–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन्। सिंहको यो चौथो जित हो। नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ का संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका हुन्। 

यसैगरी कांग्रेसले काठमाडौँ–३ का पनि तीनवटै सिटमा ‘क्लिन स्विप’ गरेको छ। काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएका छन्। प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै विमल ठकुरी निर्वाचित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .