ad ad

समाज


प्रधानसेनापति शर्मा किन जाँदैछन् १५ दिन लामो अष्ट्रेलिया भ्रमणमा?

इन्डो–प्यासफिक क्षेत्रका सेना प्रमुखको सम्मेलनमा भाग लिने, परिवारजन भेट्ने
प्रधानसेनापति शर्मा किन जाँदैछन् १५ दिन लामो अष्ट्रेलिया भ्रमणमा?

फाइल तस्बिर


सन्तोष घिमिरे
साउन १, २०७९ आइतबार २१:४७, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन आगामी साता अष्ट्रेलिया जाने भएका छन्।

अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने 'एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स'मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुनेछन्।

त्यही सम्मेलनमा प्रधानसेनापति शर्मा पनि जान लागेका हुन्। शर्मा साउन ७ गते अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन्।

मन्त्रिपरिषद् बैठकले उनको अष्ट्रेलिया भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

सैनिक मुख्यालय जग्गीअड्डाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै अघिल्लो साता मन्त्रिपरिषद् पुगेको थियो। मन्त्रिपरिषद् स्रोतका अनुसार सेनाले साउन ७ देखि २२ सम्मका लागि १५ दिनको बिदा शर्माको स्वीकृतिका लागि पठाएको थियो।

‘सेनाको अनुरोध बमोजिम प्रधानसेनापतिको बिदा स्वीकृत गरिएको हो,’ स्रोतले भन्यो।

सैनिक प्रवक्ता नारायण सिलवालले उक्त कन्फ्रेन्स हरेक बर्ष फरक—फरक देशमा हुने नियमअनुसार यसपाली अष्ट्रेलियाले आयोजना गर्न लागेको बताए।

‘कहिले सिंगापुर, कहिले हवाई, कहिले अष्ट्रेलियामा यो सम्मेलन हुन्छ। प्रायजसो सम्मेलन वार्षिक रुपमा आयोजना हुन्छ', सिलवालले भने, 'नेपालबाट सेना प्रमुखको सहभागिता रहने गरेको छ।’                                                      

प्रधानसेनापति साउन ११ गतेसम्म कन्फ्रेन्समा सहभागी भएपछि थप ११ दिन अष्ट्रेलियामै रहनेछन्।

‘साउन १२ पछि अष्ट्रेलियामै उहाँको पारिवारिक भेटघाट छ। त्यहीअनुसार बिदा स्वीकृत भएको छ,’ सिलवालले अगाडि  भने।

प्रधानसेनापति शर्मा साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।

उनले दुई साताअघि मात्रै अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। अमेरिकामा रहँदा शर्माले अमेरिकी उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

प्रधानसेनापति जाने सम्मेलन कस्तो हो?
अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डको पहलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो।

अमेरिकाले इन्डो–प्यासफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ। 

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड र अस्ट्रेलियाले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्।

सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ।

इन्डो–प्यासिफिक सैन्य रणनीति (आईपीएस) कार्यान्वयनका लागि अमेरिकाले अस्ट्रेलियाको भूमिका प्रधान मान्दै आएको छ।                                                                               
चीनलाई नियन्त्रण र सन्तुलनमा राख्न अमेरिका र अस्ट्रेलियाले रणनीतिक साझेदारी दह्रो पार्दै लगेको देखिन्छ।

अमेरिका र अस्ट्रेलियाले इन्डो–प्यासिफिक कमाण्डका बैठक पनि समय समयमा गर्दै आएका छन्।

नेपाली सेनासँग सम्बन्ध बढाउँदै इन्डो–प्यासिफिक कमाण्ड
अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि विभिन्न प्रस्ताव अघि सार्दै आएको छ।

एक महिना अघि नेपाल आएका युएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल जनरल चार्ल्स ए फ्लिनले इन्डो प्यासिफिक रणनीतिको एक प्रमुख अंग रहेको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) सम्बन्धी सैन्य सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मालाई आग्रह गरेका थिए।

सम्झौतामा हस्ताक्षरका लागि प्रधानमन्त्री देउवा शुरुमा सकारात्मक भए पनि विवाद बढ्न जाँदा पछि हटेका थिए।

तर प्रधानसेनापति शर्माले नेपालको भूराजनीतिक संवेदनशीलताका कारण नेपाली सेना एसपीपीमा सहभागी हुन नसक्ने जवाफ अमेरिकी सैन्य कमान्डर फ्लिनलाई दिएका थिए।

त्यहीबीच अमेरिकी सेनाले नेपाल सरकार र सेनालाई बुझाएको एसपीपीसम्बन्धी १० बुँदे सैन्य सम्झौताको मस्यौदा सञ्चारमाध्यममा चुहिएको थियो।

अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाको सात वर्षयता रहिआएको संलग्नता विवादमा परेपछि सरकारले त्यसमा अघि नबढ्ने निर्णय गरिसकेको छ।

नेपाली सेनाको लामो समयदेखि अमेरिकी सेनासँग विविध क्षेत्रमा सहकार्य रहँदै आएको छ। एसपीपी सन् २०१९ मै अमेरिकी सैन्य रणनीति इन्डो–प्यासिफिक स्ट्राटेजीमा समेटिएको थियो।

अमेरिकाले उक्त सैन्य रणनीतिमा नेपाल र श्रीलंकालाई नयाँ साझेदार मुलुकमा सूचीकृत गरेको थियो।




प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .