भोकमरी र पछ्यौटेपनसँग जोडिँदै आएको कर्णाली प्रदेशमा खाद्य अभाव हुनुमा खाद्यान्नभन्दा पनि संस्कारले मुख्य भूमिका खेलेको विज्ञहरुले बताएका छन्। कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रगरमा जारी कर्णाली उत्सको दोस्रो दिन शनिबार भोक र भोजन सत्रमा बोल्ने वक्ताहरुले भोकसँग जोडेर कर्णालीमाथि बनाइएको भाष्य नै परिवर्तन गर्नुपर्ने बताए।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले खाद्य संस्कार नै परिवर्तन गर्नुपर्ने बताए।
‘भोक मार्न भोजन खाएर मात्रै हुँदैन। भोजनले मान्छेलाई पार्ने प्रभावको बारेमा सोच्नुपर्ने हुन्छ,’ मन्त्री शर्माले भने, ‘कुनै पनि स्थानको खाद्यान्नले त्यो ठाउँलाई पुग्छ भन्ने हिसाबले हामी गयौँ भने पुग्दैन। धानको बाला नफल्ने ठाउँ पनि उन्नत देश छ भने हामी कर्णालीका मान्छे कसरी गरिब भयौं त?’
उनले खाद्य सुरक्षासम्बन्धी नियमावली बनिरहेको र नियमावली बनेपछि कर्णालीमा अझ सजिलो हुने बताए। मन्त्री शर्माले राजनीति, संस्कार, संस्कृति र खाने तरिका अन्तरसम्बन्धित रहेको धारणा राखे।
खाद्य सुरक्षाविद् डाक्टर यमुना घलेले संविधानले नै खाद्य अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने लागू हुन नसकेको बताइन्। कर्णालीका विकट जिल्लाहरुमा पैसा भएर पनि किनेर खान नपाउने अवस्था रहेको बताउँदै घलेले भोजनमा कसैले विभेद गर्छ भने त्यो पनि मानवीयता र सामाजिक न्यायका विरुद्ध रहेको बताइन्।
‘कर्णालीमा भोकका कारण विकासको राजनीतिकरण गरिएको छ,’ घलेले भनिन्, ‘हाम्रो घरभित्रको बच्चा ख्याउटे हुनु, किशोरी गर्भवती हुनु र महिला रक्तअल्पता हुनु भनेको के कर्णालीमा खाद्य सुरक्षा भएको हो? खाने संस्कृतिमा पनि अभाव छ। कोदो समस्या हैन सोच समस्या हो।’
परिकारयात्री केदार शर्माले मानवजातिको विकास भएपछि मान्छेलाई भोकले नै संसार घुमाएको बताउँदै भोकलाई आदि सत्ताका रुपमा व्याख्या गरे।
‘मानवजातिको विकास भएपछि संसार घुमाएको भोकले हो। मेरो पुर्खालाई जुम्लाबाट इलाम पुर्याएको पनि भोकले हो,’ शर्माले भने, ‘खाने कुरालाई भोकका रुपमा मात्रै सिमित गर्यौं भने आधारभूत हुन्छ। खाने कुरालाई उत्सवका रुपमा लिनुपर्छ।’
उनले आफूले हालसालै कर्णाली घुमेको बताउँदै भने, ‘कर्नाली घुमेपछि के लाग्यो भने यो हिम्मतबहादुर र सहनसिलाहरुको भूमि हो यो बाली र वनबालीहरुको भूमि हो। यो परिकारहरुको भूमि हो।’
Shares
प्रतिक्रिया