गैरआवासीय नेपाली संघ (एनआरएनए) ले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ।
सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि किनिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले किनेका फर्निचर तथा सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द्रको वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनर्स्थापनाका लागि प्रयोग गरिनेछ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नतिमा दिएको योगदानको प्रशंसा गरिन्।
एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गरे।
संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए।
Shares
प्रतिक्रिया