ad ad

समाज


बाढीपहिरोको केन्द्र बन्यो बागमती, काभ्रे र ललितपुरमा धेरै मानवीय क्षति

बाढीपहिरोको केन्द्र बन्यो बागमती, काभ्रे र ललितपुरमा धेरै मानवीय क्षति

नेपालखबर
असोज १४, २०८१ सोमबार २१:४४, काठमाडौँ

असोज ११ र १२ गतेको अति भारी वर्षाले बागमती प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। रेकर्ड ब्रेक भएको वर्षाले बागमती प्रदेशमा व्यापक मानवीय र भौतिक क्षति  गराएको छ। 

गृहमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुुसार दुईदिनको वर्षाले २ सय ९ जनाको ज्यान जाँदा बागमती प्रदेशका ८ जिल्लामा मात्रै १ सय ८५ जना छन्। 

काभ्रे जिल्लामा हालसम्मकै धेरै जनधनको क्षति भएको छ। 

यो समाचार तयार काभ्रेमा ६२ जनाको ज्यान गएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले नेपालखबरलाई जानकारी दिए।

सूचना अधिकारी समेत रहेका पौडेलका अनुसार जिल्लामा  ४ जना वेपत्ता छन्। ५२ जना घाइते छन्। 

काठमाडौँ, ललितपुर र भक्तपुरमा ५६ जनाको ज्यान गएको छ। सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा ६३ जनाको मृत्यु भएको छ। धादिङमा मात्रै ३९ जनाको निधन र ७ जना घाइते भएको प्रहरीको डाटामा समावेश छ।

उपत्यकाका ललितपुर, काठमाडौँमा र भक्तपुरमा रेकर्ड ब्रेक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वर्षापछिको बाढी र पहिरोमा परेर ललितपुरमा मात्रै ३५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। ८ जना अझै वेपत्ता छन्। उद्धारका लागि प्रहरी पुग्न कठिनाई भएको छ। 

सडक, विद्युत र सञ्चार सम्पर्क विच्छेद हुँदा जिल्लाका महांकाल गाउँपालिकामा बाढी र पहिरोले विध्वंस मच्चाएपनि अहिलेसम्म क्षतिको यथार्थ विवरण संकलन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ। 

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनालले गाउँपालिकामा प्रहरी टोली पुगेपनि सञ्चार हुन नपाएको बताए। 

‘हिजै सो क्षेत्रमा प्रहरी टोली पुगेको हो तर, हाम्रो सेट र अन्य कुनै उपायबाट पनि सम्पर्क हुन नसकेर क्षतिको विवरण आउन सकेको छैन,’ खनालले भने। 

यस्तै, बाढीपछिको बाढी र पहिरोमा परेर कोशी प्रदेशमा १७ जनाको मारिएका छन्।

मधेसमा पाँच जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ। 

मध्य असोजमा परेको वर्षाले बागमती प्रदेशका ८ जिल्लामा बढी क्षति पुर्‍याएको भन्दै मन्त्रालयले अति प्रभावितमा राखेर उद्धार राहतको लागि विशेष पहल गर्ने भएको छ। 

गृहमन्त्रालयले प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न सोमबार ८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित कार्यदल बनाएको छ। 

काठमाडौँमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदल संयोजक बनाइएको छ। 

उनीहट्टलाई पुस २० भित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

काभ्रेको पनौतीमा आएको बाढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .