ad ad

समाज


जीबी राईका ‘चेला’ देवकुमार, जो गरिबीबाट उठेर गरिबमारा बने

सूर्यदर्शनमा जीबीले अध्यक्ष बन्न नदिएपछि खोलेका थिए इमेज सहकारी
जीबी राईका ‘चेला’ देवकुमार, जो गरिबीबाट उठेर गरिबमारा बने

वाशुदेव मिश्र
असोज १४, २०८१ सोमबार २०:३१, पोखरा

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट बागलुङको दुर्गम ढोरपाटन नगरपालिकाको मेयर जितेका देवकुमार नेपाली त्यसपछि सधैँ चर्चामा रहे। 

मेयर भएसँगै उनले तलब–भत्ता नलिने उद्घोष मात्र गरेनन्, गाउँगाउँ पुगेर लाखौँ रूपैयाँ ‘आर्थिक सहयोग’ गर्न थाले।  कोभिडकालमा कोही मजदुर भोकै भए ६ महिना आफ्नो व्यक्तिगत खर्चले नै ‘पाल्ने’ घोषणा गर्ने पनि उनी नै थिए। बागलुङको बुर्तिबाङमा आलिसान दरबार होटल ठड्याएका उनले ढोरपाटन, पोखरा र काठमाडौँमा आफ्नो स्वामित्वमा रहेका घरको भाडा छुटको घोषणा पनि गरे।

२०७९ को चुनावमा भने उनले माओवादी केन्द्र छाडे। मनोनयन गर्न एक दिन मात्र बाँकी हुँदा उनलाई नेकपा एमालेले आफ्नोतर्फबा मेयरको उम्मेवदार बनायो। लोकप्रिय देवकुमारले कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाए। दोस्रोपटक चुनाव जित्ने केहीमध्येका मेयरमा आफ्नो नाम दर्ज गराए। 

लोकप्रियताको शिखरमा पुगेका देवकुमारको जीवनशैली लोभलाग्दो थियो। उनी हेलिकोप्टरमा गाउँ पुग्थे। बुर्तिबाङमा रहेको दरबार होटलमा होटलको छतमा हेलिकोप्टर ओराल्थे। राजनीतिक नेतृत्वलाई आवश्यक पर्दा दिल खोलेर खर्च गर्ने उनको सम्पत्तिको स्रोत भने रहस्यमयी नै थियो। 

मान्छेहरू  खासखुस गर्थे तर उनकै अगाडि सम्पत्तिको स्रोत के हो भन्ने प्रश्न तेर्स्याउन सक्दैनथे। मिहिनेत, तिकडम र भाग्यको खेलकै कारण देवकुमारको आर्थिक हैसियत उरालिएको भन्दै चित्त बुझाउँथे। 

हुन पनि देवकुमारको बाल्यकाल सुखद थिएन। बुर्तिबाङ नजिकैको वडार निवासी उनका पिता लालबहादुर दमाई बुर्तिबाङमा सिलाइको काम गर्थे। देवकुमार त्यहीँको उत्तरगंगा माविमा पढ्थे। गाउँमा भलिबल खेल लोकप्रिय थियो। देवकुमार भलिबलका उम्दा खेलाडी बनेर निस्के। भलिबल खेल्न गाउँगाउँ पुगे। ढोरपाटन नै जन्मथलो भएका पत्रकार उजिर मगरका अनुसार त्यो बेला ‘देवकुमारले हानेको स्पाइक कसैले उठाउन सक्दैन’ भन्ने गरिन्थ्यो। 

भलिबल खेल्दै गर्दा उनले रणसिंह किटेनीकी एक मगर युवतीसँग मायाप्रीति गाँसे। बिहे गरे। अन्तर्जातीय बिहेले पनि उनलाई चर्चित गरायो। बिहेपछि उनले बुर्तिबाङमै फेन्सी पसल खोले। बुर्तिबाङ नेकपा मसालको पकड क्षेत्र थियो। देवकुमारको साइनो राजनीतिसँग पनि जोडियो। २०५४ सालमा मसालका लीलबहादुर थापा जिल्ला विकास समितिको सभापति बनेपछि देवकुमारले प्रहरीको रासनको ठेक्का पाए। २०५५ सालतिर फेन्सी पसल छाडे। पहिलो ‘प्रेम विवाह’ लाई बिर्सँदै ढोरपाटन क्षेत्रकी तिब्बती शरणार्थी छेलोसँग घरजम जोडे। मान्छेहरू भन्छन्– ‘छेलोका परिवारले तिब्बतबाट भागेर आउँदा ल्याएको सुनचाँदी एकाएक देवकुमारको हातमा आइपुग्यो। देवकुमारको भाग्य बदलियो।’

आर्थिक हैसियत एकाएक उचालिएपछि उनी पोखरा झरे। सुरुमा साइकल पसल गरे। त्यसपछि उनले के–के गरे? प्रश्न अनुत्तरित छ। तर, गरिबीबाट उठेका देवकुमार पछिल्लो समय चाहिँ गरीबकै उठीबास लगाउने व्यक्तिको रूपमा चर्चित छन्। 

इमेज बचत तथा ऋण सहकारी संस्थामार्फत् बागलुङका करिब ३ हजार बचतकर्ताको २ अर्ब र पोखराबाट ६० करोडभन्दा बढी रकम अपचलन गरिएको आरोपमा उनी पक्राउ परेका छन्। नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पाँच सय २५ र बागलुङमा एक हजार पाँच सय ४३ जना गरी दुई हजार ६८ जना बचतकर्ताले जाहेरी दिएका छन्। 

सहकारी डुबेपछि २०८० सालको जेठ ५ गतेबाट फरार रहेका उनलाई नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरी बागलुङ जिल्ला अदालतमा पेस गरेको छ। अहिले अदालतमा बयान चलिरहेको छ। उनीमाथि कास्की प्रहरीमा पनि उजुरी छ। बागलुङ प्रहरीका सूचना अधिकारी सुनिल शर्मा चिलुवालका अनुसार कास्कीमा परेको उजुरीउपर कारबाहीको लागि देवकुमारलाई कास्की पनि पठाइने छ।  

जीबीको संगतले सूर्यदर्शनमा जोडिए, महत्त्वाकांक्षाले इमेज खोले 
राजनीतिक सामीप्य बढाउन खप्पिस गितेन्द्रबाबु (जीबी) राई कुनै समय हर्बो इन्टरनेसनल नेटवर्किङ कम्पनीमा आबद्ध थिए। अवैध नेटवर्किङ व्यवसाय विस्तारको उपक्रममा उनी पोखरा आइरहन्थे। त्यो बेला नाम चलेको पृथ्वीचोकस्थित ‘होटल आनन्द’ मा बस्थे। दाइ अनन्तबाबु राई हर्बोका निर्देशक थिए भने भाइ जीबी त्यसका मार्केटिङ म्यानेजर। चलाख जीबीले गोल्डक्वेष्ट र युनिटीजस्ता अवैैध नेटवर्किङ धन्दामा आबद्धहरूलाई सजिलै हर्बोतिर ताने। 

नेटवर्किङ धन्दामा सरकारले हस्तक्षेप थालेकै बेला उनले गोर्खा ग्रूप अफ कम्पनी खोलिसकेका थिए। पछि उनले हर्बोमै रहेका व्यक्तिहरूलाई समेटेर सहकारी सञ्चालनमा ल्याएको ‘सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ को प्रतिवेदनले औँल्याएको छ।  

जीबीले २०६५ सालमै पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था स्थापना गरे। त्यसको अध्यक्ष बने– ज्ञानबहादुर बम्जन। उपाध्यक्षमा मीना गुरूङ, सचिवमा सूर्यध्वज न्यौपाने र कोषाध्यक्षमा आरती गुरूङ रहेको सो समितिलाई जीबीले नै खटन–पटन गर्थे। २०६७ सालतिर सहकारीमा देवकुमार नेपाली पनि जोडिन आइपुगे। २०६८ सालमा जीबी आफै सहकारीको अध्यक्ष भए भने देवकुमार नेपालीलाई उपाध्यक्ष बनाए। सचिवमा सुरेशचन्द पहारी आए भने कोषाध्यक्षमा आरती गुरुङलाई नै दोहोर्‍याइयो। 

जीबीले आफू अनुकूल सहकारीको पैसा प्रयोग गरेको देखेकै थिए। जीबीजस्तै महत्त्वाकांक्षी देवकुमार सहकारीको अध्यक्ष बन्न चाहन्थे। तर, उनलाई अध्यक्ष बनाउन जीबी तयार थिएनन्। देवकुमारलाई चिन्नेहरू भन्छन्, ‘देवकुमारलाई यस्तो सहकारी त म पनि खोल्न सक्छु भन्ने भयो र उनले त्यहीँका कर्मचारी (तत्कालीन प्रबन्धक दीपक पौडेल) लाई लिएर २०६८ सालमा इमेज सहकारी खोले। चित्रबहादुर भण्डारी अध्यक्ष बने। 

संसदीय समितिको प्रतिवेदनअनुसार सुरुका तीनवटा बैठककै क्रममा जीबी र देवकुमारबीच विवाद उत्पन्न भएको थियो। देवकुमारले त्यो बेला सहकारी डिभिजन कार्यालय पोखरामा ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रूपैयाँ हिनामिना गरेर काठमाडौँ पठाइएको उजुरी दिएका थिए। पोखरापछि २०६९ सालमा बागलुङमा पनि इमेज सहकारी खुल्यो। संस्थापक अध्यक्ष आफै बने भने छोरा सुनिललाई सचिव बनाइयो। बढी ब्याजको लोभले तानिनेदेखि दैनिक ज्यालादारी गर्ने मजदुरसम्मले इमेजमा बचत गर्न थाले। तिब्बती मूलकी श्रीमतीमार्फत् पोखरामा रहेका सयौँ तिब्बती शरणार्थीले पनि इमेजमै पैसा जम्मा गरे। 

यता, देवकुमारले चाहिँ सहकारीको रकम आफूखुसी फर्जी कागज बनाउँदै प्रयोग गरिरहे। जब सहकारीमा समस्या आयो। उनी फरार बने। उनलाई भगाउन माओवादी केन्द्र र एमालेकै नेताहरूको हात रहेको गाइँगुइँ चले पनि आधिकारिक कुरा बाहिर आएन। १६ जेठ २०८० मा उनीहरूविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गर्‍यो। १२ माघ ०८० मा रेडकर्नर नोटिससमेत जारी भयो। तर, उनी पक्राउ परेनन्। यता, एमाले गण्डकीले उनलाई पार्टीको प्रदेश सदस्यबाट निलम्बन गर्‍यो। फरार हुनुअघि नै उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिएका उनको पद चाहिँ अहिलेसम्मै कायम छ। 

बचत फिर्ताको ललिपप 
५ मंसिर २०८० मा उनी एकाएक सामाजिक सञ्जाल फेसबुकमा झुल्किए। आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको र त्यसमा सहजीकरणको लागि आग्रह पनि गरे। सहकारीको समस्या समाधानका निम्ति आफू प्रतिबद्ध रहे पनि ज्यानकै असुरक्षा भएकाले भाग्नु परेको जिकिर पनि गरे। 

‘सहकारीमा समस्या परेपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखी ६ महिनाभित्र समस्या समाधान गर्ने भनिएको थियो। तर, केही बचतकर्ता ६ महिनासम्म पनि पर्खन सकेनन्। घरमा हतियारसहित आइ डरधम्कीसँगै ज्यान मार्ने धम्की दिने काम भयो,’ उनले भनेका थिए, ‘६ लाख बचत भएकाले पाँच करोडको घरजग्गा पास गर्न भनेर दबाब दिने कामसमेत भयो। डरधम्की र मुद्दा दर्ताका कारण बाहिर निस्केर काम गर्ने अवस्था भएन। केही समयका लागि घरबाहिर बस्न बाध्य भएँ।’ 

उनले त्यो बेला बागलुङ, कास्कीको पोखरा र काठमाडौँमा १८ घर र ४४ स्थानमा जग्गा रहेको र त्यसको मूल्यले बचतकर्ताको पैसा फिर्ता गर्न सकिने बताएका थिए। बागलुङमा नौ, पोखरामा तीन र काठमाडौँ ६ वटा घर तथा बागलुङमा ३३, पोखरामा ६ र काठमाडौंमा पाँच कित्ता गरी ४४ स्थानमा ४४ कित्ता जग्गा आफ्नो र परिवारको नाममा रहेको उनको भनाइ थियो। 

बचतकर्ताको पहल 
नेपालीको सार्वजनिक आह्वानपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उनको घरजग्गा लिलामीको सूचना निकाले। १२ माघ २०८० मा पत्रकार सम्मेलनमार्फत् गरिएको आह्वानमा ‘नेपालीको स्वामित्वमा रहेको ४५ कित्ता घरजग्गामध्ये काठमाडौँ, पोखरा र बागलुङ बजार तथा बुर्तिवाङमा रहेको घरजग्गालाई बिक्री गर्न चाहेको भन्दै किन्नेले १५ दिनभित्र सम्पर्कमा आउन आग्रह’ गरिएको थियो। 

संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले काठमाडौँ महानगरपालिका ४ को घरलाई ७५ करोड, पोखराको घरलाई ४५ करोड, बागलुङ बजारको घरलाई २५ करोड र बुर्तिवाङको ८० करोड मूल्य तोकेर खरिद गर्न चाहनेको खोजी गरेको र त्यसका लागि अग्रिम २५ प्रतिशत रकम बुझाउनुपर्ने सर्तसमेत अगाडि सारेका थिए। यसरी उठ्ने अग्रिम रकमबाट बैंकमा रहेको घर–जग्गाको ऋण तिर्ने र त्यसको स्वामित्व संघर्ष समितिमा ल्याउने उनीहरूको योजना थियो। 

हौसिएको समितिले सहकारी रजिस्ट्रारको कार्यालय, स्थानीय प्रशासन र सहकारी बैंकको सल्लाहमा विशेष साधारण सभा पनि गर्‍यो। साधारण सभामा गण्डकी प्रदेशका सदस्यहरू जीत शेरचन, कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, सहकारी बैंकका संचालक रामबहादुर जिसी, सहकारी महासंघकी सदस्य हुमाकुमारी जिसीलगायत सहभागी थिए। 

नेताहरूले बचतकर्ताको रकम फिर्तामा सघाउने प्रतिवद्धता पनि जनाएका थिए। देवकुमार साधारण सभा गरी नयाँ समिति गठन र सहकारीलाई पुनर्जीवित गर्न चाहन्थे। बचतकर्ता नबिच्किँदा बिस्तारै रकम फिर्ता गर्न सकिने र आफू पनि कानुनी कारबाहीबाट जोखिने मध्यमार्गी बाटो रोज्न उनलाई एमाले–माओवादीकै नेताले सुझाएका थिए। तर, देवकुमारले यो प्रक्रियाबाट उन्मुक्ति पाउने ठानेनन्। संघर्ष समितिसँग जग्गा बेच्ने अधिकार थिएन। कुरा अगाडि बढेन। 

रकम फिर्तापछि मुद्दा नचल्ने निर्णयसँगै पत्र अनि फक्राउ 
संसदीय छानबिन विशेष समितिले बचतकर्ताको रकम सुरक्षणका निम्ति मिलापत्र गराउन सकिने सुझाव दियो। त्यही सुझावमा टेकेर यही ८ असोजमा महान्यायाधिवक्ताको कार्यालयले परिपत्र जारी गर्‍यो। महान्यायाधिवक्ता केशव बडालले नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० अनुसार सहकारीको हकमा पनि मिलापत्रको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै सहकारी पीडकहरूले आफू कानूनी कारबाहीबाट बच्न सकिने संकेत पाए। र, सबैभन्दा अगाडि देवकुमार नै अगाडि सरे। संसदीय छानबिन विशेष समितिलाई हुलाकबाट पत्र पठाउँदै उनले बचत रकम फिर्ता गर्न तयार रहेको घोषणा गरे। 

पत्रमा आफू आबद्ध भएको सहकारी बचतकर्ताको १ अर्ब ८० करोड रूपैयाँ हाराहारी फिर्ता गर्न बाँकी रहेको र बैंकमा धितो राखी लिएको रकम ३१ करोड रूपैयाँ रहेको स्वीकारिएको छ तर संघर्ष समितिमाथि पनि आरोप लगाइएको छ। उनले संघर्ष समितिको भरपर्दा एकातिर घरजग्गा सम्पत्ति हडप्न दलालहरू लगाउने र अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको गम्भीर आरोप पनि लगाएका छन्। 

सहकारी संघर्ष समितिसँग पटकपटक ६ महिनाभित्र बचतकर्ताको बचत रकम फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिवद्धता जनाए पनि बचतकर्तालाई गुमराहमा राख्दै संघर्ष समितिले बदमासी गरेको उनको आरोप छ। घर भाडा, होटलको आम्दानीबाट आउने रकम बुझ्ने सम्पूर्ण जिम्मेवारी समितिका सदस्यलाई दिएको पनि उनले जिकिर गरेका छन्। 

१३ महिनाको यो बीचमा घरहरूको भाडा ८५ लाख ४ महिनादेखि ढोरपाटन बुर्तिबाङ दरबार होटलको सञ्चालनबाट आउने मासिक आम्दानी ४५ लाख गरी जम्मा १ करोड ३० लाख रूपैयाँ संघर्ष समितिका पदाधिकारीले चलाएको उनले पत्रमा उल्लेख गरेका छन्। 

‘काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सिर्जनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रूपैयाँ बढीको मूल्याङ्कन  हुन आउँछ। कुन–कुन कित्ता बैंकमा धितोका रूपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ। बैंकमा धितोका रूपमा राखिएका कित्ताहरू पनि बैंकबाट लिएको ऋणभन्दा दसौँ गुणा बढी मूल्यका छन्। जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत् समितिसमक्ष आह्वान गर्न चाहन्छु,’ पत्रमा उल्लेख छ।  

पछिल्लो समय संघर्ष समितिका प्रतिनिधिले नै आफू र श्रीमतीको नाममा रहेको घरजग्गा बेच्न ग्राहक खोज्ने दलाली काम गरेको संगीन आरोप लगाएका उनलाई प्रहरीले त्यसलगत्तै दिल्लीबाट पक्राउ गरेको जनाएको छ। उनलाई साँच्चै प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो या उन्मुक्ति पाइने बाटो खुलेकाले स्वयंले आत्मसमर्पण गरेका हुन्, समयक्रममा खुल्दै जाला तर संघर्ष समितिमा रहेका सबै पदाधिकारी सदस्यहरूलाई समेत छानबिनको दायरामा ल्याउन माग गर्दै उनले आफू अरुभन्दा ‘इमानी’ भएको जिकिर गर्न भने छाडेका छैनन्। 

देवकुमार संस्थापक रहेको सहकारीको आर्थिक वर्ष २०७८/०७९ वित्तीय विवरणमा कुल सम्पत्ति एक अर्ब १४ करोड ५८ लाख थियो भने ८२० सेयर सदस्य  र तीन करोड ३३ लाख सेयर पूँजी एवं ९५ करोड २४ लाख बचत संकलन थियो। जसमा ७१ करोड ऋण लगानी भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .