ad ad

समाज


वकिललाई टोपबहादुरले भने : न्यायाधीशलाई इरिटेसन भइसक्यो, छाड्दिनुस्

वकिललाई टोपबहादुरले भने : न्यायाधीशलाई इरिटेसन भइसक्यो, छाड्दिनुस्

उजिर कार्की
जेठ २६, २०८० शुक्रबार १९:१३, काठमाडौँ

थुनछेक बहस सुरु हुने दिन नै टोपबहादुर रायमाझीका वकिलले आफ्नो पक्षका लागि बहस गर्न एक दिन समय चाहिने बताएका थिए। नक्कली शरणार्थी प्रकरणको मुद्दामा थुनछेकका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रमेश बडालले सुरुमै एक दिन समय माग गरे। 

न्यायाधीशले हुन्छ वा हुन्न भनेनन्। प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिन समय तोकिदिए र समय व्यवस्थापन गर्न भने। 

शुक्रबार टोपबहादुरको तर्फबाट बहस गर्ने पालो आयो। यसअघि ६ प्रतिवादीका तर्फबाट बहस सकिएको थियो। केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई, सन्देश शर्मा र इन्द्रजित राईको तर्फबाट बिहीबार बहस सकिएको थियो। 

शुक्रबार ११ बजे पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमेश बडालले बहस सुरु गरे। साँझ ५ बजेसम्म ७ जना वकिलले बहस गरिसकेका थिए। 

सधैँ ५ बजे आसपास इजलास उठ्थ्यो। तर शुक्रबार बहस गर्ने लाइनमा त्यसपछि पनि वकिलको लाम थियो। 

न्यायाधीशले सोधे, ‘अब कति जना हुनुहुन्छ?’

‘तीन जना श्रीमान्, म त आज थोरै कुरा राख्छु, अर्कोमा पनि छु,’ वरिष्ठ अधिवक्ता ज्ञानेश्वर पराजुलीले भने। 

न्यायाधीशले फेरि भने, ‘समयभन्दा बलवान् कोही पनि छैन, समय म्यानेज गर्नुस्।’ 

त्यसपछि इजलासमा बहस गर्न पुगिन् अधिवक्ता शोभा पराजुली। 

उनी टोपबहादुरका तर्फबाट बहस गर्दै थिइन्। धेरै कुरा पहिल्यै आइसकेका दोहो¥याउन थालिन्। तिनै कुरा दोहो¥याएर बहस गरेको टोपबहादुर रायमाझीलाई पनि चित्त बुझिरहेको देखिएन। 

अधिवक्ता धर्मराज रेग्मीले पनि सोही कुरा दोहोर्याएपछि टोपबहादुरले पछाडिबाट हात र मुखले इसारा गर्दै बहस टुंग्याउन भने। तर वकिल बहस गर्न तम्सिरहेका थिए। म एउटा मात्रै कुरा राख्छु भन्दै इजलासमा उभिने वकिलले पुरानै कुरा दोहो¥याएर समय घर्काएपछि टोपबहादुर रायमाझी आफ्ना वकिललाई बोलाउन बाध्य भए। 

अधिवक्ता रेग्मीलाई पछाडि बोलाएर रायमाझीले भने, ‘न्यायाधीशलाई इरिटेसन भइसक्यो छाड्दिनुस्, भयो बहस टुंग्याउनुस्, धेरै भयो भने पनि राम्रो हुँदैन।’ 

नजिकै अर्को कुर्सीमा रहेका बालकृष्ण खाँणले पनि टुंग्याउन इसारा दिए। 

बहसका क्रममा न्यायाधीश न्यौपानेले पनि सबै कुरा आइसकेको र तिनै कुरा नदोहो¥याउन पटकपटक आग्रह गरे। तर वकिल ‘म एउटा नआएको कुरा भन्छु श्रीमान्’ भन्दै बहस गरिरहे। शोभा पराजुलीको बहस सकिएपछि फेरि पुष्पराज पौडेल पुगे। 

टोपबहादुर रायमाझी भने पछाडिबाट भयो भयो भनिरहेका थिए। तर उनका वकिलले वास्ता गरेनन्। पौडेलले इजलासमा दफा ६७ को कुरा गरिरहेका थिए। 

न्यायाधीशले भने, ‘६७ मात्रै होइन, ६८, ६९ सबै आइसक्यो।’ 

६ बजेर २० मिनेटसम्म बहस गरेपछि भने वकिलले बहस टुंग्याउन खोजेका थिए। तर बाँकी रहेका वरिष्ठ अधिवक्ता ज्ञानेश्वर पराजुलीले रायमाझीले नै टुंग्याउन भनेपछि टोपबहादुरका छोराकोमा मात्रै बहस गर्ने तयारी गरे। तर उनी मात्रै बहस गर्न छुट्ने भएपछि न्यायाधीशले नै उनलाई बहस गर्न भने। 

पौडेलको बहस पछि ज्ञानेश्वरले भने, ‘सकियो श्रीमान्, म आज बहस गर्दिनँ। अर्कोमा पनि छु, पर्सि नै गर्छु।’

न्यायाधीशले भने, ‘होइन आउनुस् न। तपाईं जस्तो अनुभवी मान्छेले बहस गर्नुपर्छ। तपाईंजस्ता अनुभवीको बहसले मलाई आदेश लेख्न सजिलो हुन्छ। तर नयाँ कुरा भन्नुस्। त्यही ठगीका कुरा, त्यही दफाका कुरा त कहाँकहाँ के छ मलाई कन्ठ भइसक्यो। अब त इरिटेसन नै हुन्छ।’

शुक्रबार अरु इजलासमा ३ बजेपछि बहस भएको थिएन। तर यो इजलासमा भने साढे ५ बजेपछि पनि बहस भइरहेको थियो। 

यसअघि नआएका कुरा राख्छु भन्दै बहस थालेका पराजुलीले पनि सुरुमा न्यायाधीशको प्रशंसामा समय खर्चिए, ‘म भए पनि यति धेरै धेर्य गर्न सक्दिनथेँ। जुन श्रीमानले गरिरहनु भएको छ।’

न्यायाधीशको प्रशंसापछि उनले आफ्नो बारेमा बताए। त्यसपछि टोपबहादुर रायमाझीलाई थुनामा नराख्न र साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आग्रह गर्दा ६ बज्न ५ मिनेट बाँकी रहँदा इजलास उठ्यो। 

रायमाझीको तर्फबाट १० जना अधिवक्ताले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता पर्शुराम कोइराला, अधिवक्ता धर्मराज रेग्मी, आकृति रायमाझी लगायतले टोपबहादुर निर्दोष रहेको दाबी गर्दै थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .