नवौँ राष्टिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ।
पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १०.२ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो।
वर्षाले खेल प्रभावित भएपछि डीएलए मेथडका आधारमा पुलिस क्लबले ६३ रनले जित हात पारेको छ। कर्णाली प्रदेशले १०.२ ओभरमा १७ रन बनाएर ७ विकेट गुमाउँदा पानी परेपछि खेल रोकिएको छ। कर्णालीका कुुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीलाई कम स्कोरमा रोक्न पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए।
त्यसअघि पोखरा रगंशालामा रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो। ओसिलो मैदानका कारण खेल १६ ओभरमा छुट्टाईएको थियो।
पुलिस क्लबले पहिलो विकेटका लागि काजल श्रेष्ठ र कविता कुँवरले ३३ रनको साझेदारी गरे। कविताले १४ बलमा ३ चौका हान्दै १६ रन जोडिन्। उनी अन्जु गुरुङको बलमा बोल्ड आउट भइन्।
ओपनर काजल श्रेष्ठ १६ रन बनाउादा लामो सट खेल्ने धुनमा पवेलियन फर्किइन्। १६ बलको सामना गरेकी काजलले २ चौका हानिन्। पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन थपिन्।
२१ बलको सामना गरेकी उनले २ चौका हानिन्। रेवती धामी १४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। अप्सरी बेगम ४ रनमा क्याच आउट भईन्। कविता जोशी ८ रनमा रन आउट भइन्। कप्तान रुविना क्षत्री ५ र संगीता राई ४ रनमा नटआउट रहे।
कर्णाली प्रदेशका लागि अञ्जु तामाङ एक्लैले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा २४ रन खर्चिइन्। बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट झारिन्।
Shares
प्रतिक्रिया