ad ad

खेल


मेस्सीका ‘डाइहार्ड’ फ्यान सुवास : जो मध्यराति उठेर पनि फुटबल हेर्थे

कुनै बेला आफैं थिए क्लबका कप्तान
मेस्सीका ‘डाइहार्ड’ फ्यान सुवास : जो मध्यराति उठेर पनि फुटबल हेर्थे

सुवास नेम्वाङ र अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी


ज्ञानेन्द्र खड्का
भदौ २६, २०८० मंगलबार १५:२७, काठमाडौँ

कुरा वि.सं. २०२६-२७ सालतिरको हो। त्यसबेला सुवास नेम्वाङ आफ्नो कप्तानीमा इलाम क्याम्पस टिमबाट फुटबल खेल्थे।

त्यसबेलादेखि नै इलाममा फुटबलको क्रेज थियो। युवा उमेरमा खिरिला देखिने उनी दर्शकहरुको हुटिङ र साथले हौसिएर फुटबल खेल्थे। 

त्यसबेला नेम्वाङले मैदानमा कौशल देखाउँदै बल दौडाएको हेर्न इलामका स्थानीय गुन्द्री र पिरासहित आउँथे। इलाममा गतिलो स्टेडियम थिएन, कामचलाउ मैदानमै नेम्वाङसहितले गाउँ विकास समिति र जिल्लास्तरका कयौँ प्रतियोगिता खेले।

उनले त्यसबेला इलाम क्याम्पस र स्थानीय मालापथ टोलको तर्फबाट फुटबल खेले। खिरिलो ज्यानका उनलाई फुटबल खेल्दा कति छिटो दौडिन सकेको भन्दै समर्थकहरुले जिस्क्याउँथे।

त्यसबेला उनले देवकुमार राई, धिरेन्द्र प्रधान, ध्रुव भक्तराज, कमल सापकोटा, मोहन भट्टराई र गणेश थुलुङसहितका साथीहरुसँग फुटबल खेले। तर उनीहरुको यो फुटबल यात्रा लामो समय टिकेन। फुटबल खेल अहिले नेम्वाङको नाति पुस्तासम्म आइपुग्दा विश्वमा सबैभन्दा प्रिय छ। खेल र संगीत विश्वलाई जोड्ने माध्यम बनेका छन्। नेम्वाङको गृहजिल्ला इलाम अहिले पूर्वमा फुटबलको केन्द्र जस्तै बनेको छ।

युवा उमेरमा फुटबलका कप्तान बनेका नेम्वाङ राजनीतिमा लागेपछि दुई पटक संविधनासभाको अध्यक्ष र पाँच पटक सांसद नै भए। २०५१ मा एक पटक कानुन मन्त्री बने।

इलामबाट लगातार चार पटक चुनाव जितेका उनै नेम्वाङ मंगलबार बिहान भौतिक रुपमा हामीबाट बिदा भइसकेका छन्।

नेम्वाङको परिचय राजनीतिक मात्रै थिएन। उनी कुशल प्राध्यापक, वकिलदेखि सफल सभामुख र संविधानसभाका अध्यक्षसमेत थिए। 

उनको अर्को पाटो थियो फुटबलसँगको लगाव। उनी थिए अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीका ‘डाइहार्ट’ फ्यान। युवा उमेरमा फुटबल खेलेर चर्चित भएका उनले राजनीतिमा लागेपछि पनि फुटबललाई पछ्याउन छाडेनन्। 

उनलाई पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि मन पर्थ्यो। त्यसपछि देशतर्फ स्पेन र क्लबतर्फ बार्सिलोनाको खेलका उनी फ्यान थिए। बार्सिलोनाको टिकिटाका फुटबलबारे उनलाई राम्रो ज्ञान थियो। 

उनका प्रिय खेलाडी लियोनेल मेस्सीले खेल्ने अर्जेन्टिनाले सन् २०१४ मा फाइनलमा पुगेर जर्मनीसँग पराजित भएयता लगातार हार भोग्यो। सन् २०१४ यता अर्जेन्टिनाले विश्वकप गुमायो, कोपा अमेरिकाको फाइनलमा पनि चिलीसँग हार्‍यो।

लगातारको हारले अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले त फुटबलबाट सन्यास नै घोषणा गरे। २०१५ को कोपा अमेरिकासमेत गुमाएका मेस्सीले त्यसबेलै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे।

उक्त अप्रत्यासित सन्यासले विश्वभरका फ्यानहरु स्तब्ध भए। खेल मैदानमा जादु देखाउने मेस्सीले त्यसरी सन्यास लिँदा स्तब्ध हुनेमध्ये एकजना थिए नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ।

जो नेपालका राजनीतिज्ञहरुमध्ये खेललाई बुझ्ने विरलै नेताहरुमा पर्छन्। नेम्वाङसहितका फ्यानलाई खुसी बनाउँदै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा त फर्किए तर निराशाजनक यात्रा रोकिएन।

सन् २०१८ मा रसियामा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४-३ ले पराजित हुँदै अर्जेन्टिना घर फर्कियो। अर्थात् सन् २०१४ को फाइनलको हारको चोट अन्तिम १६ बाटै बाहिरिँदा झन् गहिरियो।

अर्जेन्टिना क्वार्टर फाइनलबाट बाहिरिएको उक्त विश्वकपको पहिलो खेलबाटै नेम्वाङ निराश भएका थिए। उक्त विश्वकपको पहिलो खेलमै उपाधि दाबेदार मानिएको अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिँदा नेम्वाङलाई गहिरो चोट पुगेको थियो। 

अझ पहिलो खेलमा उनका प्रिय खेलाडी मेस्सीले पेनाल्टी पनि चुकाएका थिए। त्यस्तै दोस्रो खेलमा क्रोएसियासँग ३-० को हार भोगेपछि विश्वभर  मेस्सीका फ्यानहरु तनावग्रस्त  भए। 

मेस्सीका ‘डाइहार्ट फ्यान’ नेम्वाङ दोस्रो कार्यकालको संविधान सभाको बेला बैठक नै स्थगित गरेर अर्जेन्टिनाको खेल हेर्न गोकर्ण रिसोर्ट पुगेका थिए। उक्त ब्राजिल विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग चुकेको थियो।

सन् २०१८ मा २०१४ को पीडामा पुरिने आश गरेका नेम्वाङ लगातार निराश हुनुपर्‍यो। मेस्सीले विश्वकप जित्ने दाबी गरिरहेका नेम्वाङलाई आइसल्यान्डविरुद्धको पहिलो खेलले बेचैन बनाएको थियो। 

आइसल्याण्डविरुद्धको पहिलो खेलमा मेस्सीले पेनाल्टी मिस गरेको भोलिपल्ट नेम्वाङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। 

जहाँ अर्जेन्टिनाको खेललाई लिएर प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमालले नेम्वाङसँग छेडछाड गरे। रिमालले जिस्काउँदै भने,‘मेस्सीले त यसपटक हार्ने भए नि?’

नेम्वाङले रिमाललाई तत्कालै जवाफ दिँदै अझै समय बाँकी रहेको उत्तर दिए। केहीबेर मौन बसेपछि उनले भनेका थिए,  ‘यो त हुनै सक्दैन, असम्भव, खेल अभि भी बाँकी है।’

तर त्यसबेला पनि आइसल्यान्डसँग पहिलो खेल बराबरी खेलेको अर्जेन्टिना अन्तिम १६ को भिडन्तमा फ्रान्ससँग ४-३ हार्दै घर फर्कियो। 
....

२०७९ असार १७ गते नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रम सहभागी हुन पुगेका थिए नेम्वाङ। आफैँ वरिष्ठ कानुन व्यवसायी रहेका उनलाई त्यहाँ फुटबलको पुरस्कार वितरण गर्ने जिम्मा दिइएको थियो। 

मंसिर ४ गते नेपालमा भएको निर्वाचनकै दिन कतारमा भएको विश्वकप फुटबलको चार महिना अघि नै नेम्वाङले यस पटक मेस्सीले विश्वकप जित्ने अनुमान सुनाए। सन् २०१४ र २०१८ मा मेस्सीसँगै निराश भएका नेम्वाङले यस पटक अर्जेन्टिनाले कतारबाट विश्वकप लैजाने निचोड दिए। 

विश्वभर विश्वकप उपाधिबारे अड्कलबाजी चलिरहँदा संविधानसभा अध्यक्ष नेम्वाङले पनि अर्जेन्टिनाले जित्ने बताए। युवा उमेरमा आफैँ फुटबल खेलाडी रहेका नेम्वाङले कतार विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका थिए। 

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितिसकेको थियो। इलाम बहुमुखी क्याम्पसमा पढ्दादेखि विभिन्न स्थानीय टिमबाट फुटबल खेलेका उनी युवा उमेरमै कप्तानसमेत भएका थिए। 

नेम्वाङले बाँचुन्जेल फुटबल हेर्न छाडेनन्। मेस्सी बार्सिलोनामा हुँदा होस् या पीएसजी या इन्टरमियामी नेम्वाङले पछ्याइरहे। उनी विभिन्न चर्चित फुटबल लिगहरू पनि हेरिरहन्थे। 

‘अहिले पनि राति १२/१ बजेतिर उठेर फुटबल हेर्छु। इङ्लिस प्रिमियर लिग, ला लिगा, सिरि ए... आदि सकेसम्म छुटाउँदिनँ’, उनले त्यसबेला भनेका थिए, ‘अचेल मलाई साह्रै मन पर्ने खेलाडी (मेस्सी) पीएसजी पुगेकाले बार्सिलोनाको खेल हेर्न छाडेँ। अहिले अर्जेन्टिना र पीएसजीको हेर्छु। कतिबेला खेल सुरु हुन्छ यहाँहरूलाई थाहा छ नि।’

त्यसबेला उनले मंसिरमा हुने विश्वकपमा अर्जेन्टिनाले उपाधि जित्ने दाबी गरेका थिए।  ‘यो पटक अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ’, उनले कार्यक्रममा उपस्थित विद्यार्थी प्राध्यापकहरुलाई सुनाए, ‘त्यसैले कतारमा ४ महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ-आफ्नो घरमा बसेर होस् वा सकिए कतार पुगेर हेरौँला।’

...

कतार जान पाएनन्
आफ्ना प्रिय खेलाडी मेस्सीको फुटबल प्रत्यक्ष हेर्ने र भेट्ने गरी कतार जाने योजनामा थिए नेम्वाङ। तर मंसिर ४ गतेको चुनावमा उनी इलामबाट चुनावी प्रतिस्पर्धामा थिए। त्यहीकारण उनी एसियामै भएको विश्वकप फुटबल उनले प्रत्यक्ष हेर्न पाएनन्।

अर्जेन्टिना र मेस्सीकै कारण आफूलाई फुटबलले तानेको बताउने उनले इलाम २ मा मंसिर ४ को चुनावमा जित निकालेपछि कतार जान नपाएकोमा थकथकी सुनाए। 

उनको चुनावी परिणाम मंसिर ११ गते सार्वजनिक भयो। चुनावी परिणाम सार्वजनिक भइसकेपछि पनि उनी मंसिर १३ गते मेस्सीको खेल हेर्न कतार जाने तयारी थिए।

विश्वकपमा समूह 'सी' अन्तर्गत पोल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेर्ने गरी उनी कतार जाने तयारी थियो। नेम्वाङले मेस्सीलाई प्रत्यक्ष भेट्ने योजनाअनुसार स्टेडियममा सिट पनि बुक गरेको त्यसबेला सुनाएका थि। मेस्सी पनि आउने ठाउँमा आफ्ना लागि ठाउँ मिलाए पनि जान नपाएपछि त्यो कुरा तुहिएको उनले बताएका थिए।

मंसिर १३ गते कतार जने गरी उनले टिकट पनि काट्न लगाएका थिए। तर चुनाव जितेपछि मतदातालाई धन्यवाद दिनुपर्ने तथा देशको तत्कालीन राजनीतिक अवस्थाका कारण उनले मेस्सीलाई प्रत्यक्ष हेर्न पाएनन्। 

मेस्सीले विश्वकप जितेको देख्ने लामो समयदेखिको उनको सपना अन्तत: कतारमा पूरा भयो। मेस्सीले विश्वकप चुमेको दृश्य उनले टेलिभिजनमै हेरेर खुसीयाली मनाए। 
...

चुनाव जितेर मध्यराति हेरे विश्वकप
प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम मंसिर ११ गते सार्वजनिक भयो।

लामो विवादबीच सार्वजनिक भएको मतपरिणामअनुसार नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतले पराजित गरेका थिए।

मध्यराति अबेर सार्वजनिक भएको अन्तिम मतपरिणाम आफ्नो पक्षमा देखिएपछि एमाले नेम्वाङले ढुक्कको श्वास फेरे। 

२०७९ मंसिर ४ को परिणाम एक साताको रस्साकस्सीपछि मध्यरातमा आफ्नो पक्षमा आइसक्दा नेम्वाङ मानसिक थकाईले लखतरान भइसकेका थिए।

तर आफूले चुनाव जितेकै राति कतारमा विश्वकप फुटबल चलिरहेको थियो। त्यही राति उनका सर्वप्रिय खेलाडी लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध खेल्ने तालिका थियो।

चुनावी दौडधूपबीच थाकेर लखतरान भएका नेम्वाङले नेपाली समयअनुसार शनिबार मध्यराति १२ बजेर ४५ मिनेटमा कतार भएको अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न छुटाएनन्। 

चुनाव जितेको थकानबीच पनि उक्त शनिबार राति करिब २ घण्टासम्म फुटबल हेरेका उनले आइतबार इलाम बजारमा एमालेको विजय जुलुसलाई सम्बोधन गरे।

आफ्नो करिब आधा घण्टाको भाषणमा उनले प्रतिस्पर्धी दलका नेतालाई धन्यवाद दिए। कसैलाई गालीगलौज नगरी बोलेका उनले भाषणका क्रममा आफ्ना प्रिय फुटबलर लियोनेल मेसीको प्रशंसा गर्न भुलेनन्। 

विश्वकप र मेसीबारे करि २ मिनेट चर्चा गरेका उनले मध्यराति फुटबल हेरेर राम्ररी सुत्न नसकेको पनि सुनाए।

‘१२ बजेर ४५ मिनेटमा अर्जेन्टिनाको फुटबल हेरेँ। हिजो त मलाई थामिनसक्नु भयो’, उनले भने, ‘तपाईंहरुले हामीलाई आशीर्वाद दिनु भयो, एकातिर त्यो खुसी छँदैथियो। अर्कातिर मेस्सीको जितका लागि कुरेर बसेका थियौँ।’

उनले पहिलो हाफ कष्टपूर्ण भए पनि दोस्रो हाफमा आफूले चाहेको नतिजा निस्किएको पनि सुनाए। 

मेस्सी र अर्जेन्टिनाको जितको साक्षी बसेका उनले आफूलाई मेस्सीको गोलभन्दा असिस्ट राम्रो लागेको सुनाए।

‘मेस्सीले स्वाट्टै गोल हानेपछि कम्ता खुसी लागेन। पहिलो गोल हानेपछि फेरि अर्को गोल हान्छन् भनेर कुरेको थिएँ’, उनले त्यसबेला भनेका थिए,‘तर उनले गोल हानेभन्दा राम्रो एसिस्ट गरे। इन्जो फर्नान्डेजको पनि गोल कम्ता राम्रो थिएन।’

त्यसबेला उनले अर्जेन्टिनाको खेलका कारण आफू राम्रोसँग सुत्न नपाएको सुनाए। ‘हिजो राति म राम्रोसँग सुत्न सकेको छैन’, आफ्नो जितसँगै मेस्सीले जित्दा औधी रमाएका उनले अर्जेन्टिना र मेस्सीको प्रशंसा गर्दै भनेका थिए, ‘हिजोको फुटबलमा भएको जितका लागि पनि बधाई!’

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरु पुग्दा उनी प्राय: मेस्सीको प्रसंशा गर्न छाड्दैन थिए। राजनीतिसँगै फुटबलको कुरामा चाख मानेर बहस गर्ने उनका छोरा सुहाङले बुवाकै प्रेरणामा क्लब नै किनेर चलाइरेका छन्। 

कलेजमा हुँदा टोलीको कप्तान बनेका सुवासले छोरालाई बेलाबेलामा आफ्नो समयको खेलकुदका किस्सा सुनाउँथे। बुबाले सुनाउने यस्तै किस्साहरुबाट खेलकुदप्रति चासो बढाएका सुहाङले अहिले फुटबल क्लब चलाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .