ग्राबियल मार्टिनेलीको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ।
आइतबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा उसले सिटीविरुद्ध १–० को संर्घषपूर्ण जित हासिल गरेको हो।
आर्सनलले सन् २०१५ को डिसेम्बरपछि सिटीविरुद्ध पहिलो लिग जित हात पारेको हो।
आर्सनलका लागि मार्टेनेलीले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
खेलको ८६औं मिनेटमा आर्सनलका हाभर्टको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण ३ अंक दिलाए।
जितसँगै ८ खेलबाट २० अंक बनाएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लकेो छ। समान खेलबाट २० अंक भए पनि टोटनह्याम गोलअन्तरमा शीर्ष स्थानमा छ।
पछिल्ला दुई खेलमा पराजित सिटीले ८ खेलबाट १८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।
१७ अंकमा लिभरपुल चौथो स्थानमा छ। आइतबार राति नै भएको खेलमा लिभरपुल र ब्राईटनले रोमाञ्चक बराबरी गर्दै अंक बाँडे।
अर्को खेलमा वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र वल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares
प्रतिक्रिया