ad ad

खेल


धनगढीसँग बराबर खेल्दै पोखरा थन्डर्स एनएसएल क्वालिफायरमा

धनगढीसँग बराबर खेल्दै पोखरा थन्डर्स एनएसएल क्वालिफायरमा

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ६, २०८० शुक्रबार १५:३३, काठमाडौँ

पोखरा थन्डर्स, नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारको पहिलो खेलमा धनगढी एफसीसँग १–१ को बराबरी गर्दै पोखराले क्वालिफायरमा स्थान पक्का गरेको हो।

पोखराले लिगका ८ खेलमा चार खेलमा जित, तीन खेलमा बराबरी र १ खेलमा हार भोग्दै १५ अंकमा शीर्ष स्थानमा रह्यो।

यता पोखरासँग अंक बाँडेको धनगढी एफसीले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्न अन्य खेलको नतिजा पर्खनुपर्ने भएको छ।

आठ खेलबाट तिनखेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार भोग्दै धनगढी १३ अंकमा दोस्रो स्थानमा छ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको पोखराले अन्तिम ९० मिनेटमा गोल फर्काएको थियो।

खेलको ९० औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोसेसको गोलमा पोखराले धनगढीको अंक खोसेको हो।

त्यसअघि पहिलो हाफमो ४२ औं मिनेटमा  मिलन राईको गोलमा धनगढीले सुरुआती अग्रता बनाएको थियो।

डिबक्स भित्रबाट अफिज ओलावालेको क्रसमा पोखराका गोलरक्षक प्रिसो विट भएको मौकामा मिलनले बललाई फिनिसिङ टच दिएका थिए।

४५ औं मिनेटमा पोखराका स्टेफन पापाको प्रहार क्रसबारमा लाग्दै फर्कियो। सोही बललाई मिडफिल्डर कमल बहादुर थापाको प्रहार धनगढीका गोलरक्षक ताहाले गोललाईनबाट बचाउँदा डिफेन्डर कमल श्रेष्ठले क्लीयर गर्दा पोखराले बराबरीको सुन्दर मौका गुमायो।

त्यसअघि चौथो मिनेटमा धनगढीका डियाग्ने फल्लुको लामो प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाए।  

१० औं मिनेटमा पदम कुमार तामाङको लामो प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा पोखराले अग्रता बनाउने मौका गुमायो।

१६ औं मिनेटमा सन्जिव विष्टको वन भर्सेज वन प्रहार धनगढीका गोलरक्षक मोहमद ताहाले उत्कृष्ट बचाउ गरे।

२९ औं मिनेटमा डिबक्स भित्रबाट अविशेक गुरुङको प्रहार गोलरक्षक प्रिसोले सहजै जोगाए। ३३ औं मिनेटमा धनगढीका मिलन राईको पासमा अहमद हिजाजीको हेडर पोखराका गोलरक्षक प्रिसोले गोललाईनबाट क्लीयर गरे।

३५ औं मिनेटमा डिबक्स एरिया नजिकबाट पोखराका पदक कुमार तामाङको प्रहार आकाशियो।

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन्। प्लेअफबाट बाहिरिसकेको चितवन आजको खेलमा प्रतिष्ठाका लागि खेल्नेछ। यता झापा भने चितवनलाई हराउँदै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने योजनामा छ। खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .