स्पेनिस ला लिगामा यो सिजन उत्कृष्ट लय समात्न नसकेको बार्सिलोनाले बिहीबार राति भएको खेलमा कठिन जित निकालेको छ।
खेल बराबरीमा सकिन लागेको अवस्थामा खेलको इन्जुरी समयको तेस्रो मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले लास पालमासलाई २-१ गोलले हराएको हो।
तर खेलको पहिलो हाफमा घरेलु टोली पालमासले अग्रता बनाएको थियो। उसका लागि १२ औँ मिनेमा एल हदादीले अग्रता दिलाएका थिए।
तर खेलको दोस्रो हाफमा बार्सिलोनाका फेरान टोरेसले खेललाई बराबरी ल्याए। उनले रोबर्ट लेवान्डोस्कीको पास गोल गरेका थिए।
तर खेल बराबरीमा सकिन लागेका बेला इन्जुरी समयमा गुन्डोगानले पेनाल्टीमार्फत गोल गरेर बार्सिलोनालाई जिताए।
डेली सिन्कग्रेवेनले गुन्डोगानलाई डिबक्सभित्र धकेलेर लडाइदिएका थिए। त्यसपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे।
यो जितपछि बार्सिलोनाल १९ खेलबाट ४१ अंक बनाएको छ। डिफेन्डिङ च्याम्पियन ऊ अहिले लिगको तेस्रो स्थानमा छ। उता पराजित पालमास २५ अंकसहित १० औँ स्थानमा रहेको छ।
Shares
प्रतिक्रिया