भारतीय महिला टोलीले तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलियालाई ९ विकेटले हराएको छ।
डीवाई पाटिल स्टेडियम, नवी मुम्बईमा भएको खेलमा फास्ट बलर तितास साधु र दुवै ओपनर ब्याट्सम्यान स्मृति मन्धाना र शेफाली बर्माले १७ ओभरमा भारतको शानदार जितमा महत्त्वपूर्ण भूमिका खेले।
साधुले पहिलो चार विकेट लिए, त्यसपछि शेफाली बर्मा (नटआउट ६४ रन) र मन्धना (५४ रन) दुवैले अर्धशतक बनाए।
भारतको यो ओपनिङ जोडीले पहिलो विकेटका लागि १३७ रन जोडे।
१२औं ओभरमा दुवैले एक छक्का र तीन चौकाको मद्दतले २४ रन बनाएका थिए। जसमध्ये शेफाली बर्माले १३ रन र स्मृति मन्धानाले चार रन थपेका थिए भने ७ रन अतिरिक्त थिए।
टस जितेर पहिले फिल्डिङ रोजेको भारतीय टोलीले निर्धारित २० ओभरको चार बल अगावै अस्ट्रेलियाको सम्पूर्ण टोलीलाई १४१ रनमा अलआउट गरेको थियो।
फोबे लिचफिल्डले सर्वाधिक ४९ रन बनाइन्। एलिस पेरीले ३७ रनको योगदान दिइन्।
भारतका लागि १९ वर्षीया तेज बलर तितास साधुले चार ओभरमा १७ रन दिएर चार विकेट लिइन्। श्रेयंका पाटिल र दिप्ती शर्माले २–२ विकेट लिए।
यस सिरिजको अर्को खेल आइतबार यही मैदानमा हुनेछ। फाइनल खेल पनि जनवरी ९ मा सोही मैदानमा हुनेछ।
Shares
प्रतिक्रिया