एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट उम्मेदवारी दिएका निर्देशक मनोज पण्डितले पराजय मात्रै बेहोरेनन्, उनको जमानतसमेत जोगिएन। ‘दासढुंगा’, वधशाला’, ‘द ग्रेटर नेपाल’लगायत फिल्म निर्देशन गरेका पण्डितले १ सय ७३ मत ल्याए। सोही क्षेत्रबाट गोकुल बाँस्कोटा ४५ हजार ३ सय ४५ मत ल्याएर विजयी भए। पण्डितको मुख्य एजेन्डा नै गोकलको पराजय थियो। उनले मतगणना सकिएसँगै आफ्नो पराजयले भन्दा गोकुलको विजयले हारको महसुस गरेको बताए।
सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका गायक मुरली मिझार (मुरलीधर) ले पनि जमातन जोगाउन सकेनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका मुरलीधरले ७ सय ८२ मत प्राप्त गरे। आफ्नै गृहक्षेत्रबाट उम्मेदवारी दिएका मुरलीधरले गाएको गीत ‘उडायो सपना सबै हुरीले’ जस्तै गरि संसद छिर्ने सपना मतदाताले उडाइदिए।
काठमाडौं ५ मा कांग्रेस नेता प्रदीप पौडेल र एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउन कम्मर कसेर लागेका कलाकार मधुसूदन पाठकले ५ सय मत कटाउन सकेनन्। १५ हजार २ सय ६९ मतसहित प्रदीप पौडेलले जित हासिल गरेको यस क्षेत्रमा पनि पाठकको जमानत जोगिएन। हास्य सिरियल ‘सक्किगो नि’मा ‘सीतेबा’को चरित्रले लोकप्रिय पाठकको संसद् छिर्ने सपना पनि सकियो। पाठकले लौरो अभियान चलाएको हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए।
यस्तै गायक सञ्जय श्रेष्ठको पनि जमानत जफत भएको छ। काठमाडौं ६ बाट उम्मेदवारी दिएका उनले ५ सय ७७ मत ल्याए। श्रेष्ठ राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित निर्वाचित भए।
काठमाडौं १ (२) बाट उम्मेदवारी दिएका वितरक तथा कलाकार करण श्रेष्ठ (क्रेजी)ले सय मत बटाउन सकेनन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए। यस क्षेत्रबाट क्षेत्रमा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित भए। क्रेजीको क्रेज राजनीतिमा देखिएन। उनको पनि जमानत जोगिएन । उनले जम्मा ६७ मत प्राप्त गरे।
Shares
प्रतिक्रिया