ad ad

विचार


ईश्वर पोखरेलले नेपालखबरमाथि लगाएका आरोप पुष्टि गरून्

ईश्वर पोखरेलले नेपालखबरमाथि लगाएका आरोप पुष्टि गरून्

ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन्


नेपालखबर
भदौ १, २०८० शुक्रबार १७:४४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी, अमेरिका लैजाने नाममा नक्कली भुटानी शरणार्थी खडा गरेर नेपालीहरूबाट करोडौँ रुपैयाँ ठगी गरिएको घटना, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर राज्यलाई गरिएको ठगीजस्ता घटनामा राज्यका निकायहरूले छानबिन जारी राखेका छन्। यी कतिपय विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ।

हालसम्मको छानबिन र अनुसन्धानबाट के देखिएको छ भने यी कतिपय काण्डमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका केही नेता, प्रमुख प्रतिपक्षी दल एमालेका कतिपय नेता, तिनका परिवारका सदस्य, कर्मचारीतन्त्रका तल्लोदेखि उपल्लो तहसम्मका अधिकारीहरू संलग्न छन्।

पछिल्लो समय सर्वाधिक चर्चामा रहेको र लगातार संसद् अवरोधको कारणसमेत बनिरहेको हङकङबाट ल्याइएको तस्करीको सुन सम्बन्धमा भइरहेको अनुसन्धानबारे नेपालखबरले सुरुदेखि नै गहिराइमा पुगेर रिपोर्टिङ गरिरहेको छ। यो सुन तस्करी एवं अनुसन्धानबारे हामीले दर्जनौँ समाचार सामग्री प्रकाशन गरिसकेका छौँ, गरिरहने छौँ।

तर सुन तस्करी, नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण हुन् वा अन्य भ्रष्टाचार र अपराधका विषय, निर्दोष व्यक्ति वा संस्थालाई मुछ्ने नियत एउटा व्यावसायिक मिडियाले राख्दैन। नेपालखबरले अहिलेसम्म त्यस्तो दुराशय राखेर समाचार सामग्री प्रकाशन गरेको छैन, र भविष्यमा पनि गर्दैन। 

सुन तस्करी अनुसन्धानकै क्रममा राजस्व अनुसन्धान विभागले तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई १० साउन २०८० मा पक्राउ गरेको थियो। उनीसँग विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक बयान लिए। तिनै दावा छिरिङले दिएको बयानमा आधारित रहेर नेपालखबरले बिहीबार (३२ साउन २०८०) ६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो शीर्षकको रिपोर्ट प्रकाशन गरेको थियो। 

सो रिपोर्टमा ‘बयानका क्रममा दावा छिरिङले आफ्ना तीन व्यापारिक साझेदारको नाम खुलाएका र केही वर्षअघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरूसँग मिलेर काम गरिरहेको बताएको’ उल्लेख छ।

दावाले प्रारम्भिक बयानमा ‘एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको र आफूलाई अप्ठेरो पर्दा उनीहरूले नै सहयोग गर्ने गरेको’ बताएका छन्। 

अनुसन्धानमा संलग्न एक अधिकारीले नेपालखबरलाई दिएको सूचना अनुसार बयानमा दावाले भनेका छन्, ‘काठमाडौँको र्‍याडिसन होटलको साइडमा रहेको एक रेस्टुरेन्टमा म, मिस ली र स्वराजबीच हाम्रो बिजनेसका बारेमा छलफल हुन्थ्यो। उहाँहरूसँग मिलेरै कोभिडका बेला पनि स्वास्थ्य सामग्री खरिद गर्यौँ। प्रतीक थापा काम गर्न धेरै सहज हुनुहुन्छ।’ 

दावाले नाम उल्लेख गरेकामध्ये प्रतीक थापा नक्कली भुटानी शरणार्थी खडा गरेर करौडौँ रुपैयाँ ठगी गर्ने प्रकरणका एक आरोपित व्यक्ति हुन्। यस सम्बन्धमा अनुसन्धान सुरु भएपछि उनी फरार छन्। अर्की पात्र मिस ली को हुन्, हामीले पनि अनुसन्धान जारी राखेका छौँ। तेस्रो पात्र स्वराज पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा हुन्।

दावाले नाम उल्लेख गरेका पात्रमध्ये स्वराज पोखरेलले नेपालखबरमा प्रकाशित रिपोर्टमाथि आपत्ति जनाउँदै शुक्रबार बिहान प्रेस काउन्सिलमा निवेदन दिएको जानकारी नेपालखबरले प्राप्त गरेको छ। यसबारे हामी प्रेस काउन्सिललाई छुट्टै जवाफ दिने नै छौँ। 

राजस्व अनुसन्धान विभागसँगको प्रारम्भिक बयानमा दावाले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकको नाम उल्लेख गरे पनि हामीले त्यो रिपोर्टमा प्रस्टसँग के उल्लेख गरेका छौँ भने ‘अरू व्यवसायमा साझेदारी रहेको दावाको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन। राजस्वको अनुसन्धानमा उनीहरू समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरूमाथि अनुसन्धान गरेको छैन।’  

त्यो रिपोर्टको यो बेहोराबाट प्रस्ट हुन्छ– हामीले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल सुन तस्करीमा संलग्न थिए भनेर कहीँ कतै ठोकुवा गरेका छैनौँ। हामीले त दावाले स्वराज पोखरेलसँग व्यावसायिक साझेदार रहेको बयान दिएको कुरा मात्र उल्लेख गरेका छौँ।

तर, शुक्रबार (१ भदौ २०८०) बिहानै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फेसबुकमार्फत सुन तस्करी प्रकरणमा आफ्नो छोरा स्वराज पोखरेलको संलग्नता नै पुष्टि भएझैँ गरी नेपालखबरमाथि दोषारोपण गर्ने दुष्प्रयास गरेका छन्।

उनले लेखेका छन्, ‘माओवादी नेताको लगानी रहेको नेपालखबर नामक अनलाइनले पत्रकारिता पेसाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु। माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रस्टै छ। यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो।’

मिडियामा आएका कुनै पनि खबर वा रिपोर्टको निन्दा, भर्त्सना र खण्डन गर्न पाउनु सम्बन्धित व्यक्तिको अधिकारको कुरा हो। तर, प्रमुख प्रतिपक्षी दलका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका पोखरेलले नेपालखबरमाथि गम्भीर झुटा आरोप लगाएका छन्। र, केही आरोप त ‘साइबर क्राइम’ आकर्षित हुने खालका समेत छन्।

पोखरेलले नेपालखबरको लगानीबारे गम्भीर र आपत्तिजनक प्रश्न उठाएकाले पहिले हामी यसबारे स्पष्ट गर्न चाहन्छौँ– नेपालखबरमा भएको सम्पूर्ण लगानी व्यावसायिक लगानी हो। यो विशुद्ध नेपाली व्यवसायीहरूको लगानी हो र यसमा कुनै विवाद पनि छैन। यसमा आजका मितिसम्म कुनै पनि राजनीतिक समूह वा नेताको एक पैसा पनि लगानी छैन। आवश्यक परे यसबारे हामी सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्न वचनबद्ध छौँ।

अब पोखरेलले लगाएका आरोपहरूको चर्चा गर्नुअघि हामी के कुरामा जोड दिन चाहन्छौँ भने कानुनी न्यायको सिद्धान्तअनुसार जसले (पहिलो पक्ष) जो (दोस्रो पक्ष) माथि आरोप लगाएको हो, त्यो आरोपको प्रमाणसहित पुष्टि पहिलो पक्षले गर्नुपर्छ। यस आधारमा हामी ईश्वर पोखरेललाई उनले लगाएका निम्न आरोपहरू सप्रमाण पुष्टि गर्न चुनौती दिन्छौँ।

एक, उनले पहिलो वाक्यमा नेपालखबरमा माओवादी नेताको लगानी रहेको उल्लेख गरेका छन्। हाम्रो चुनौती छ– नेपालखबरमा कुन माओवादी नेताको लगानी छ, पोखरेलले त्यो प्रमाणित गरून्। 

दुई, उनले ‘पत्रकारिता पेसाको सामान्य मर्यादा नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर शतप्रतिशत झुटो समाचार लेखिएको’ उल्लेख गरेका छन्। हाम्रो प्रश्न छ– विगतमा पटकपटक सत्तामा रहेका र अहिले प्रमुख प्रतिपक्षीजस्तो सशक्त दलको नेताका छोरा भएकै कारण सुन तस्करी प्रकरणका अभियुक्त दावा छिरिङले बयानमा उल्लेख गरेको अंश सञ्चारमाध्यमले प्रकाशन गर्नै नहुने हो?

दोस्रो वाक्यांशमा उनले नेपालखबरमाथि तीनवटा आरोप लगाएका छन्।

एक, पहिलो वाक्यमा ‘माओवादी नेता’ को नेपालखबरमा लगानी रहेको उल्लेख गरेका उनले दोस्रो वाक्यमा ‘माओवादीका उपमहासचिवको लगानी रहेको’ दाबी गरेका छन्। ‘उपमहासचिव’ उल्लेख गरेकाले उनको संकेत सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव भन्न खोजेका हुन् भन्ने देखिन्छ। सबैलाई जानकारी भएको विषय हो, माओवादी केन्द्रमा ६ जना उपमहासचिव छन्। हामी पोखरेललाई चुनौती दिन चाहन्छौँ– कुनचाहिँ उपमहासचिवको नेपालखबरमा लगानी छ, उनले यसको सप्रमाण पुष्टि गरून्। 

दुई, पोखरेलले ‘कतिपय लगानीकर्ताको लगानीसमेत ठगी गरेको भनेर यसअघि नै विवादित’ रहेको गम्भीर र आपत्तिजनक आरोप लगाएका छन्। नेपालखबरले कुनचाहिँ लगानीकर्ताको लगानी ठगी गरेको हो र यो विषय विवादित बनेको थियो, यसबारे पनि प्रमाण पेस गर्न सार्वजनिक चुनौती दिन चाहन्छौँ। उनले लगाएको यो आरोप ‘साइबर क्राइम’ आकर्षित हुने खालको भएको स्मरण पनि गराउन चाहन्छौँ।

तीन, हाम्रो समाचार सामाग्रीलाई पोखरेलले ‘सरकारी कारखानामा तयार पारिएको समाचार’ भएको दाबी गरेका छन्। सबैलाई जानकारी छ– पोखरेल आफैँ पटकपटक मन्त्री र उपप्रधानमन्त्रीका रुपमा सरकारमा सहभागी भएका व्यक्ति हुन्। ‘समाचार तयार पार्ने सरकारी कारखाना’ हुन्छ भने विगतमा मन्त्री र उपप्रधानमन्त्री हुँदा उनले पनि त्यसको उपयोग गरे होलान्। यस आधारमा ‘सरकारी कारखानामा तयार पारिएको समाचार’ कस्तो हुन्छ, त्यो उनलाई पक्कै थाहा होला।

यस सन्दर्भमा हाम्रा तीन चुनौती र आग्रह छन्। एक, ‘समाचार तयार पार्ने सरकारी कारखाना’ कस्तो हुन्छ, पूर्वउपप्रधानमन्त्रीका हैसियतमा सर्वसाधारण नेपालीलाई पोखरेलले जानकारी गराऊन्। दुई, हामीले तयार पारेको रिपोर्ट सरकारी कारखानामा कसरी तयार भयो, त्यसको समेत पुष्टि गरून्। र, उनले उल्लेख गरेका मालिक को हुन्, त्यसबारेपनि प्रस्टसँग बताइदिऊन्।

अन्त्यमा, हामी ईश्वर पोखरेललाई स्मरण गराउन चाहन्छौँ, उनले नेपालखबरमाथि लगाएका आरोपलाई यसअघि एउटा दल वा नेताले अर्को दल वा नेतामाथि लगाएजस्तो ‘पुष्टि गर्नु नपर्ने’ आरोप नठानून्। आफूले लगाएका आरोपहरू प्रमाणित गरून्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .