ad ad

विचार


प्रिगोजिनको मृत्युको सबक : विश्वासघातीलाई माफ गर्दैनन् पुटिन

धुलिसात भयो प्रिगोजिनले पुटिनको सर्वशक्तिमान छवि भत्काउलान् भन्ने आश
प्रिगोजिनको मृत्युको सबक : विश्वासघातीलाई माफ गर्दैनन् पुटिन

अलेक्जेन्डर गाबुएब
भदौ ७, २०८० बिहिबार २२:१,

भाडाको सैन्य समूह वाग्नरका कुख्यात नाइके यव्गेनी प्रिगोजिनको विश्वव्यापी प्रभाव जसरी तीव्र गतिमा विस्तार भएको थियो, उनको अन्त्य पनि सोही गतिमा भयो। अगस्ट २३ मा प्रिगोजिन चढेको निजी जेट रुसी राजधानी मस्कोको उत्तरपश्चिमी इलाकामा दुर्घटनाग्रस्त भयो। वाग्नरका सैन्य कमान्डर दिमित्री उत्किनसहित सो समूहका अन्य नाइकेहरु सो विमानमा सवार थिए।

वाग्नर समूहका सबै गतिविधि र कारबाही रहस्यको पर्दामा ढाकिएको हुन्थ्यो। जसले वाग्नर बनायो, उसैले जानाजान यसलाई मिथकको पत्रभिर छोपेको थियो। रहस्यमयी विमान दुर्घटनाले यो समग्र मामिलालाई नै बाक्लो पर्दाले छोपिदिएको छ।

तर, धुवाँ छाँटिँदै गर्दा एउटा कुरा भने स्पष्ट भइसकेको छ– भ्लादिमिर पुटिनको क्रुर व्यवस्थाका अघि कुनै अवरोध छैन। यसबेला त्यो व्यवस्था क्रेमलिनका लागि अलंघ्य छ। फलस्वरुप युक्रेनविरुद्ध रुसको क्रुर युद्ध निरन्तर जारी रहनेछ।

जुन २३ का दिन प्रिगोजिनले एउटा संक्षिप्त सैन्य द्रोह गरे। त्यसअघि उनले महिनौँसम्म रुसी सैन्य नेतृत्व अक्षम भएको भन्दै चर्को आलोचना गरेका थिए। कतिसम्म भने उनले अप्रत्यक्ष रुपमा राष्ट्रपति पुटिनको समेत आलोचना गरिरहेका थिए। विद्रोह सुरु भएपछि धेरैको मनमा प्रश्न उब्जियो, के अन्ततः पुटिनसँग समस्या समाधान गर्न कोही उभिएको हो? वाग्नर समूहका सैनिकहरु बख्तरबन्द सवारीमा राजधनी मस्कोतर्फ अघि बढ्न थाले। तर, अन्तिम क्षणमा एउटा संदिग्ध सम्झौता भयो र उनीहरु रोकिए।

त्यसअघि वाग्नर समूहले महिनौँसम्म रुसी सैन्य नेतृत्वको अनियन्त्रित अवज्ञा गरिरहेको थियो। तिनलाई अपमानित गरिरहेको थियो। त्यसैको एकमुष्ठ परिणाम थियो त्यो विद्रोह। र, यत्रो काण्ड मच्चाइसकेपछि पनि त्यसका मुख्य दोषी प्रिगोजिन बेदाग उम्किन सफल भएका थिए। निकै होसियारीपूर्वक रचिएको पुटिनको सर्वशक्तिमान नेताको छवि ध्वस्त भएको ठान्न थालियो। प्रिगोजिन र उनका मानिसहरु स्वतन्त्र हिँडिरहेका थिए। जति दिन बित्दै गयो, त्यति पुटिनको शासन विनाशको निकट पुग्न थाल्यो भन्ने सोचिन्थ्यो।

तर, वास्तवमा विद्रोहपछिका दुई महिना पुटिनको सत्ताले प्रिगोजिनको कामकारबाहीलाई नियन्त्रण गर्नमा बितायो। प्रिगोजिनको मिडिया साम्राज्य र उनको छविलाई ध्वस्त पारिदियो।

वाग्नरका अधिकांश लडाकुहरुले रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनीहरुलाई नियमित सैन्य इकाइहरुमा मिसाइएको छ। र, अफ्रिका र मध्यपूर्वका मुलुकहरु, जहाँ वाग्नर सक्रिय थियो, का नेताहरुसँग आफ्नो सम्बन्ध कायम राख्ने काम पनि क्रेमलिनले गरिसकेको छ।

प्रिगोजिनको विमान दुर्घटना हुनुभन्दा एक दिनअघि मात्र रुसका उपरक्षामन्त्री युनुस बेक यव्कुरोवले लिबिया भ्रमण गरे र विद्रोही जर्नेल खलिफा हफ्तारसँग भेट गरे। अचानक प्रिगोजिन मारिए सो मुलुकसँगको सम्बन्ध र रुसको हितमा कुनै नोक्सान नहोस् भन्ने सुनिश्चित गर्न क्रेमलिनले आकस्मिक योजना बनाइरहेको थियो। त्यो योजना सफल हुने सम्भावना छ। किनभने प्रिगोजिनले स्वतन्त्र शक्ति होइन, पुटिनको छाया दूतको रुपमा काम गरेका थिए।

आन्तरिक सत्तामा पुटिनको पकडमा प्रिगोजिनको मृत्युको प्रभाव अझ प्रत्यक्ष पर्नेछ। युद्धका विषयमा केही कट्टरपन्थीहरुको विचार सर्वोच्च नेता पुटिनसँग बाझिएला भन्ने कुनै आशा थियो भने पनि त्यो चकनाचुर भएको छ। रुसले दक्षिणपन्थीहरुको सटीक दमन गरेको छ। उदाहरणका लागि, २०१४ मा दोनबासमा द्वन्द्व भड्काउन संलग्न भएका एफएसबीका कर्मचारी इगोर स्त्रेलकोवलाई हालै जेल हालिएको छ। 

प्रिगोजिनको उदय र अन्त्यको कथाले रुसी सम्भ्रान्तहरुलाई पुटिनबारे केही सबक सिकाएको छ। आफ्नो गल्ती सुधार्ने सवालमा पुटिन ढिलासुस्ती गर्छन्। आफ्नो गलत निर्णयको खराब नतिजा सामना गर्नुपर्दा उनी भावनात्मक रुपमा अस्थिर हुन पुग्छन्। र, यसले शत्रु तथा विश्वासघातीहरुको सवालमा उनी निर्मम बन्छन् भन्ने पनि तिनलाई याद दिलाएको छ।

त्यसकारणले प्रिगोजिनको मृत्युले विनाशकारी युक्रेन युद्धको ढर्रामा कुनै असर पार्ने छैन। यो युद्ध पुटिनका लागि आसक्ति बनिसकेको छ। आखिर, पुटिनले यो युद्धलाई १८ महिनासम्म तन्काइसकेकै छन्। आफ्नो भूमि फिर्ता गर्ने युक्रेनको प्रयासलाई रोक्न पनि सफल भएकै छन्। वाग्नरको बहुप्रशंसित युद्धकौशलका कारण होइन, सरकारले परिचालन गर्न सक्ने विशाल स्रोतसाधन, संकटग्रस्त रुसी अर्थतन्त्रलाई टिकाइराख्ने मानिसहरुको कौशल र मुलुकमा पुटिनको चुनौतीहीन सत्ताका कारण।

(फाइनान्सियल टाइम्सबाट। अलेक्जेन्डर गाबुएब बर्लिनस्थित कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .