राजनीतिमा लाग्नु, माथिल्लो तहमा पुग्नु, अनि सबैको साझा हुनु। सामान्यतः यो सम्भव हुन्न। हामीले आज ठूल्ठूला नेता भनेर सम्मान गरेका थुप्रै नेताहरु जीवित हुँदा आलोचित थिए, सर्वसम्मत थिएनन्। तर, सुवास नेम्वाङ अपवाद भएर मंगलबार विहान विदा हुनुभएको छ।
देशमा धेरै नेताहरु छन्। सबैका आआफ्ना विशेषता छन्। पार्टी र देशको नेतृत्व गर्न सफल पनि हुनुहुन्छ। महत्वपूर्ण ओहोदामा हुनुहुन्छ। तर, सबैले सबैलाई मान्ने अवस्था रहँदैन। सुवास नेम्वाङ चाहिँ एकजना यस्तो नेताका रुपमा बाँच्नुभयो, जसलाई फरक पार्टी र विचारधाराका मानिसले पनि आलोचना गरेनन्। उहाँको विनयशीलता, तर्कशीलता र धैर्यताले सबैको मन जितेको थियो।
पार्टीमा लागेपछि आफ्नो पार्टीको पैरवी गर्नुपर्छ, निर्णयको रक्षा–प्रतिरक्षा गर्नुपर्छ। त्यसो गरिरहँदा त्यस पार्टीमा नलागेका मानिसहरुलाई सबै कुरा मन पर्दैन, जुन स्वाभाविक पनि हुन्छ। तर, सुवास नेम्वाङका हकमा चाहिँ आफ्नो कुरा अरुलाई पनि नबिझाउने गरी भन्ने सक्ने अद्भूत कला थियो। गलत कुरालाई जमेर प्रतिवाद गर्दा पनि प्रकट हुँदा चाहिँ अरुले सुन्दा असहज नहुने गरी भन्न सक्ने कला उच्च तहका नेताहरुमध्ये सम्भवतः सुवास नेम्वाङसँग मात्र थियो। आफ्नो त्यही विशेषताका कारण सुवास नेम्वाङ पार्टीको दायराभन्दा माथि उठेको साझा नेताका रुपमा समाजमा स्थापित हुनुभएको थियो।
कानुन पृष्ठभूमि भएका कारण पनि होला, सुवास नेम्वाङले आजीवन विधि र मान्यताको कुरामा कठोर प्रतिरक्षा गरिरहनुभयो। कुनै बेला आफ्ना बारेमा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेका टिप्पणी नेम्वाङले सार्वजनिक गर्नुभएको थियो— सुवास नेम्वाङलाई बारी जोत्ने काम दिइएको रहेछ। गोरु नारेर उहाँले हलो समातिरहनुएको छ तर मेलो अघि बढेनछ। के भएको रहेछ भने एक हातले अनौ समातेर अर्को हातले सुवास नेम्वाङले संविधान समातिरहनुभएको रहेछ अनि भन्नुहुँदोरहेछ– संविधानको धारा १०३ बमोजिम गोरुले हिँड्नैपर्छ, तपाईं हिँड्नूस्। तर, गोरु हिँडेनन्, गोरुले त्यो भाषा बुझ्ने कुरा भएन। गोरुलाई हिँडाउनका लागि त लठ्ठी चाहिनेमा सुवासले संविधान देखाइरहनुभयो।
प्रसँग जेसुकै भए पनि विधिका पक्षमा सुवास नेम्वाङको प्रतिबद्धता पार्टी भित्र र बाहिर समान थियो। कतिले सार्वजनिक खपतका लागि धाररणा राख्छन्, सुवास चाहिँ निर्णय गर्नका लागि अडान राख्नुहुन्थ्यो। यदि आफूले भनेको पक्षमा निर्णय भएन भने पनि त्यसलाई सार्वजनिक रुपमा विषय बनाउन नसक्नु उहाँको विशेषता थियो।
देशमा संकट पर्दा, दलहरुका बीचमा अत्यन्त तिक्तता हुँदा, नेताहरुबीच बोलचाल नहुँदा सबैको चिया पिउने ठाउँ सुवास नेम्वाङकै च्याम्बर अब रहेन। सबैसँग आफ्ना कुरा राख्ने मात्र होइन, सहमत गराउन सक्ने क्षमता राख्ने नेता पाउन सायद देशलाई त्यति सहज छैन।
हामी जस्ता युवाहरुका लागि सुवास नेम्वाङले सधैँ प्रेरणा दिइरहेको पाइन्थ्यो। लेखेको कुरा राम्रो लागेमा फोन गरेर खुसी प्रकट गर्ने र चित्त बुझेनछ भने पनि ‘अनि नि’ भन्दै यसको अर्को पाटो पनि छ है भनेर सम्झाएको सम्झना धेरैलाई होला। पार्टीभित्रका कतिपय विवादहरुमा उहाँको नरम रुपलाई लिएर आलोचना हुँदा पनि त्यसलाई उहाँले आफ्नो सदाबहार विशेषताका रुपमा स्थापित गराउनुभएको थियो। कहिलेकाहीँ ठट्टा गरेर यससम्बन्धी कुरा उठाउँदा सुवास नेम्वाङ आफ्नो परिचित मुस्कानसहित भन्नुहुन्थ्यो, ‘कमरेड युवा नै हुनुहुन्छ, पहिले मलाई पनि त्यस्तै लाग्थ्यो।’
जब माओवादीका उदण्ड सांसदहरुले संसद्मा अर्थमन्त्रीको ब्रिफकेस लुटेर तोडफोड गरे, उहाँमाथि नै हातपातको प्रयास गरे, त्यसमा पनि सुवास नेम्वाङले कुनै एक्सन नलिएको देख्दा मैले एकपटक उहाँलाई भेटेरै आलोचना गरेको थिएँ। त्यसमा लामो पृष्ठभूमिसहित उहाँले निष्कर्ष सुनाउनुभएको थियो, उनीहरु उदण्ड छन्, गलत बाटोमा छन्। कांग्रेस–एमाले मिलेर संविधान बनाउन थाले भनेर आक्रोशित छन्। मैले दुई–चार दिन निलम्बन गर्नुभन्दा पनि संविधान बनाएर देखाउनुपर्छ र जनताले यिनलाई आफैँ निलम्बन गर्नेछन्।’
हुन पनि ठूलो संख्यामा संसद्भित्र भएका बेला यी र यस्तै उद्दण्ड व्यवहार गरेका कारणले समेत होला, हरेक चुनावमा माओवादी क्रमशः निलम्बित हुँदै आइरहेको छ।
एउटा वजनदार आवाज सधैँका लागि बन्द भएको छ। एउटा तर्कशील नेताको अवसान भएको छ। साथै, राष्ट्रले साझा नेता गुमाएको छ।
अलबिदा सुवास कमरेड।
(विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)
Shares
प्रतिक्रिया